‘बोक्सीको घर’बाट हौसिएकी केकीलाई पनि सिक्वेलको रहर

‘बोक्सीको घर’बाट हौसिएकी केकीलाई पनि सिक्वेलको रहर

काठमाडौं : फिल्म म्युजिक भिडियो हुँदै फिल्म ‘स्वर’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी केकी अधिकारीका अधिकांश फिल्म असफल छन्। पहिलो फिल्मबाट राम्रै चर्चा बटुलेकी केकीलाई निर्माता बन्ने रहर जाग्यो। 

सोही क्रममा उनले विशाल भण्डारीलाई निर्देशक राखेर आफ्नो पहिलो लगानीमा फिल्म ‘कोहलपुर एक्प्रेस’ निर्माण गरिन्। ६ वर्षअघि निर्माण गरेको यो फिल्मको कथा चोरीको आरोप लाग्नुका साथै सुपर फ्लप भयो। 

पहिलो फिल्मबाट नै लगानी डुबेपछि उनी लामो समय अर्को फिल्म निर्माणमा जुट्नै सकिनन्। 

ठूलो लगानीमा बनेको फिल्मले लगानी डुबाएपछि उनलाई अर्को फिल्म निर्मातामा हात हाल्नै सकस परेको थियो। उनले थोरै लगानीमा मण्डलामा ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा फेरि पैसा खन्याउने निधो गरिन्। लगानी उठे पनि नउठे पनि खासै फरक नपर्ने तरिकाले विज्ञापन र डिजिटल कपिराइट बिक्रीका साथै थपथाप पारेर त्यही नाटकलाई फिल्म निर्माण गरिन्। त्यो पनि एकल लगानीमा। 

निर्माण टिमका अनुसार बिहीबारसम्म फिल्मले एक सातामा ६ करोड भन्दा बढि कलेक्सन गरेको छ। त्यसैबाट हौसिएकी केकीले फिल्मको सिक्वेलको नै घोषणा गरिन्। 

पहिलो भागले कमायो भन्दैमा दोस्रो सिक्वेल घोषणा गरेकी केकीलाई सिक्वेलमा यति विश्वास कसरी बढ्यो? सायद उनले विकासराज आचार्यको ‘नाई नभन्नु ल’को सिक्वेलदेखि दीपकराज गिरीको ‘छक्का पञ्जा’को कमाई देखेर पो होकी? या सिक्वेलबाटै कमाई हुने देखेर हो। 

जे होस् यही फिल्म फेरि नचल्न सक्छ है? नपत्याए फिल्म ‘छड्के २’हेरे हुन्छ। 

२१ बैशाख, २०८१, १६:५८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।