जातीय विभेद विरोधी फिल्ममा पल देख्दा दर्शकले नाबालिग धर्धरी रोएको दृश्य सम्झिए भने!

जातीय विभेद विरोधी फिल्ममा पल देख्दा दर्शकले नाबालिग धर्धरी रोएको दृश्य सम्झिए भने!

काठमाडौँ : अनमोल केसीको सोलो अभिनय रहेको फिल्म 'फर्की फर्की'सँग भिड्ने निर्णय गरेसँगै तीन अभिनेता रहेको फिल्म पुजार सार्कीको टिम फिल्म प्रचारमा खुबै सक्रिय छ।

टेलिभिजनका कार्यक्रमदेखि युट्युबरसम्म भ्याएसम्म आर्यन सिग्देल र प्रदीप खड्का पुगिरहेकै देखिन्छन्। शुक्रवार प्रसारण भएको कमेडी च्याम्पियन सिजन थ्रीको मञ्चमा पनि आर्यन र प्रदीप देखिए।

तर यो फिल्ममा तेस्रो अभिनेता पनि छन् पल शाह। तर केही युट्युब च्यानल बाहेक फिल्म प्रमोसनमा आर्यन र प्रदीपै व्यस्त देखिन्छन्।

फिल्म प्रचारमा प्रभाव पर्न सक्ने मञ्चहरूमा पल शाह देखिएका छैनन्। कमेडी च्याम्पियनको मञ्चमा आर्यन, प्रदीपसँगै दुई नायिकाहरू समेत अटाउँदा पल अटाएनन्।

यो पहिलो पटक हैन। दर्शकमाझ अलि क्रेडिबिलिटी भएको मञ्चमा प्राय पल आर्यन र प्रदीपसँग देखिएका छैनन्। कारण के होला?

कतै पलको विवादित पृष्ठभूमि अनि सर्वोच्चको पछिल्लो आदेशको प्रभाव त हैन?

किनकि नाबालिगलाई प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा कारागार बसेका पल तल्लो अदालतबाट सफाइ पाउँदै रिहा त भए तर सर्वोच्च अदालतले तल्लो तहको अदालतबाट भएको फैसला हेर्ने कानुनी बाटो खोलिसकेको छ।

सर्वोच्च अदालतले मुद्दा हेर्न निस्सा दिएसँगै मुद्दा ब्युँतिएको छ। २०७९ मंसिर ३० मा सर्वोच्चको इजलासले उच्च अदालतको सफाइको फैसलामाथि प्रश्नै प्रश्न उठाएको छ।

पलले सफाइ पाउनुको मुख्य कारण अदालतले पीडित नाबालिग र जाहेरीकर्ताले बयान बदल्नु भनेर त्यसलाई टेक्दै नाबालिगको स्वास्थ्य परीक्षण प्रतिवेदन अनि अडियोको कुराकानीलाई नजरअन्दाज गरेको फैसलामा देखिन्छ।

सर्वोच्चको इजलासले ‘पीडित नाबालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज.११ मा गरेको स्वीकारोक्ति समेतका प्रमाणको समुचित मूल्याङ्कन नगरी भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटि र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएकाले प्रस्तुत मुद्दा दोहोर्याइ हेर्ने अनुमति प्रदान गरिएको,’ भनेर आदेश दियो।

पलले सफाइ पाएसँगै पीडितले घटना भएको हो या हैन अनि बयान बदल्नुको कारण खुलाउँदै केही टेलिभिजनमा दिएको अन्तर्वार्ताले उनलाई भावनात्मक परिबन्दमा परेर होस्टायल बनाएको देखिएको थियो।

आर्थिक होस् या स्टारडमको बलमा होस्, पल हुन् या सन्दीप लामिछाने, नाबालिग बलात्कारमा जोडिएकाहरूले समाजमा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेका छन् नै।

सन्दीपले क्रिकेटको मैदानको उपयोग गर्ने प्रयास गरेका थिए। जिल्ला अदालतको फैसलापछि त्यो मञ्च गुम्यो। अदालतबाट सफाइपछि पलले फिल्म क्षेत्रको मञ्च प्रयोग गरिरहेका छन्।

अनि जातीय विभेद जस्तो गम्भीर सामाजिक मुद्दामा पुजार सार्की निर्माण गरेको टिमले पललाई स्पेस दियो। तर पलविरुद्ध सर्वोच्चबाट आएको आदेशको प्रभाव कुनै न कुनै रूपमा पुजार सार्कीमा पर्ने जोखिम देखिन्छ नै।

टेलिभिजनहरूले पुजार सार्कीको टिमलाई स्वीकार्नु तर पललाई नस्वीकार्नुको कारण कान्तिपुर टेलिभिजनको 'ह्वाट् द फ्लप' कार्यक्रमले पललाई बोलाउँदा जे ब्योहोर्यो त्यो नदोहोरियोस् भनेर पनि हुनसक्छ।

‘ह्वाट द फ्लप’मा पललाई अतिथि बनाएर नाबालिग बलात्कारको मुद्दामा कारागारमा रहँदाको अनुभवबारे कुरा गर्दा असंवेदनशिल व्यवहार देखाउँदा कार्यक्रमै बन्द भएको थियो। संयोग त्यो कार्यक्रम पनि कान्तिपुर टेलिभिजनमै प्रसारण हुन्थ्यो अनि कमेडी च्याम्पियन पनि।

पललाई मन पराउनेहरू अहिले पनि हुन सक्छन्। तर, व्यक्तिको आधारमा भन्दा पनि ऊ कुन प्रकृतिको अपराधमा जोडिएको हो, त्यसको आधारमा तटस्थ मूल्याङ्कन गर्नेहरूको सङ्ख्या पनि कम छैन।

युट्युबरहरूलाई यस्तो दबाबको अर्थ नहोला तर राष्ट्रिय टेलिभिजनमा त यसको प्रभाव पर्छ नै। भर्खर संयोगवश गम्भीर दुर्घटनाबाट जोगिएर रिकभर फेजमा रहेका विशाल भण्डारीले ‘पुजार सार्की’को टिमसँगै पल स्वीकारेर पुन कसरी जोखिम मोलुन्?

फिल्मको सन्देश मात्र नहेरी फिल्ममा अभिनय गरेका कलाकारको पृष्ठभूमि पनि हेर्ने सचेत दर्शकको मनमा पनि भण्डारीकै भाव आयो भने? दर्शकले सर्वोच्चले मुद्दा ब्युँताउन दिएको आदेश सम्झिए भने? पीडितले रुँदै दिएको अन्तर्वार्ताको दृश्य सम्झिए भने?

२१ बैशाख, २०८१, ०१:२६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।