विपद् प्राधिकरणले भन्यो- ‘तीन दिन लुम्बिनी र सुदूरपश्चिममा तातो लहरको जोखिम, छ जिल्लामा उच्च सतर्कता अपनाउनू’

विपद् प्राधिकरणले भन्यो- ‘तीन दिन लुम्बिनी र सुदूरपश्चिममा तातो लहरको जोखिम, छ जिल्लामा उच्च सतर्कता अपनाउनू’

काठमाडौं :  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा अत्यधिक गर्मी बढ्नुका साथै तातो लहर (लू) चल्ने सम्भावना देखिएपछि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै प्राधिकरणले शनिबार एक अपिल जारी गरी आगामी तीन दिनसम्म तराईका केही भूभागमा तापक्रम तीव्र रूपमा बढ्ने जनाएको छ।

यस अवधिमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ। यी क्षेत्रमा मध्यम खालको तातो लहर चल्ने सम्भावना रहेकाले आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन विपद् सम्बद्ध सबै निकायलाई अनुरोध गरिएको छ।

प्राधिकरणका अनुसार विशेष सतर्कता अपनाउनुपर्ने जिल्लाहरूमा दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर रहेका छन्। यसैगरी मौसमको अवस्थाबारे निरन्तर अद्यावधिक रहनुपर्ने जिल्लाहरूमा कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेल्धुरा र बैतडी रहेका छन्।

अत्यधिक गर्मी र तातो हावाका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीर असर पर्न सक्ने चेतावनी दिइएको छ। यसबाट बच्न लक्षणहरूबारे सचेत रहन आग्रह गरिएको छ।

अत्यधिक गर्मीका कारण थकाई लाग्ने र कमजोरी हुने, बढी तिर्खा लाग्ने र टाउको दुख्ने, खुट्टा बाउँडिने र चक्कर आउने तथा बेहोस हुने, मांसपेशी दुख्ने र बान्ता हुने जस्ता लक्षणहरू देखिन सक्ने प्राधिकरले जनाएको छ।

तातो लहरबाट बच्न प्राधिकरणले चर्को घाम लागेको बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्ने तथा बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्न सुझाव दिएको छ।

हल्का रङको सुती कपडा लगाउन, पानी धेरै पिउन, बेलाबेला चिसो पानीले नुहाउन, धेरै चिनी नहालेको सर्वत, कागती पानी, फलफूलको रस र धेरै पसिना आएमा जीवनजल पिउन समेत सरकारले आग्रह गरेको छ।

यसको अलावा घरमै बनाएको ताजा खाना खान, खेतबारी वा बाहिरको काम गर्दा बिहान गर्मी बढ्नुअघि वा दिउँसो शीतल फर्केपछि मात्र गर्न तथा बालबालिकालाई चर्को घाममा खेल्न नदिने अनि गर्मीले ज्येष्ठ नागरिक तथा मुटु, फोक्सो र मिर्गौला सम्बन्धी रोग भएकाहरूलाई छिटो असर गर्ने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिन समेत आग्रह गरेको छ।

जेठ ९, २०८३ शनिबार ०९:५४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।