वैभव सूर्यवंशीको आक्रामक ब्याटिङले राजस्थान विजयी, ‘ए’ सेलिब्रेसनको रहस्य खुलाए
एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत मंगलबार भएको खेलमा १५ वर्षीय युवा सनसनी वैभव सूर्यवंशीको सानदार ब्याटिङको मद्दतले राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ।
जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा वैभवले ३८ बलमा ९३ रनको विष्फोटक पारी खेल्दै राजस्थानलाई जितको नजिक पुर्याएका हुन्।
आफ्नो पारीका क्रममा वैभवले मात्र २३ बलमा अर्धशतक पूरा गरेका थिए। यसै सिजनमा ५० वटा छक्का प्रहार गर्ने उनी आईपीएल इतिहासकै पहिलो भारतीय ब्याटर समेत बनेका छन्।
उनले ध्रुव जुरेलसँग मिलेर १०० रनको महत्वपूर्ण साझेदारी गरेपछि २२१ रनको विशाल लक्ष्य राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।
अर्धशतक पूरा गरेपछि वैभवले दुवै हातले टाउको माथि ‘ए’ आकार बनाएर सेलिब्रेसन गरेका थिए, जसको सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो।
खेलपछिको प्रिजेन्टेसनमा कमेन्टेटर मुरली कार्तिकले यसको अर्थ सोध्दा वैभवले ठट्टा गर्दै भनेका थिए, ‘यो त्यत्तिकै गरेको हो, यसको कुनै खास अर्थ छैन। म हरेक खेलमा नयाँ केही गर्ने प्रयास गर्छु।’
तर, पछि राजस्थान रोयल्सले सार्वजनिक गरेको एक भिडियो क्लिपमा उनले यसको वास्तविक अर्थ खुलासा गरेका छन्।
वैभवले भने, ‘यो सेलिब्रेसन मैले मेरी आमालाई समर्पित गरेको हुँ, किनकि उहाँको नाम ‘ए’बाट सुरु हुन्छ। म यो कुरा सबैलाई भन्न चाहन्नथेँ किनकि म यसलाई निरन्तरता दिन चाहन्छु।’
पहिले ब्याटिङ गरेको लखनऊका लागि मिचेल मार्शले ५७ बलमा ९६ रनको उत्कृष्ट योगदान दिएका थिए, जसका कारण टोलीले २२०/५ को स्कोर खडा गरेको थियो। राजस्थानका लागि यश राज पुनियाले २ विकेट लिए भने जोफ्रा आर्चरले अन्तिम ओभरमा कसिलो बलिङ गरेका थिए।
यो जितसँगै राजस्थान रोयल्स प्लेअफको निकै नजिक पुगेको छ। अब आइतबार मुम्बई इन्डियन्सविरुद्ध हुने अन्तिम लिग खेलमा जित हात पारे राजस्थानको प्लेअफ यात्रा सुनिश्चित हुनेछ।
जेठ ६, २०८३ बुधबार ०९:३६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।