वर्षाको आँसुले पनि बौरिएन ‘मालती मंगले’

वर्षाको आँसुले पनि बौरिएन ‘मालती मंगले’

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा एउटा समय थियो, जब हलमा दर्शक नआउँने जस्तो देखे अभिनेत्री पूजा शर्मा मिडियाका क्यामेरा अगाडि रोइदिन्थिन्। उनी रोएपछि फिल्मको व्यापारमा 'मलम' को काम गर्थ्यो र निर्माताले केही राहत पाउँथे।

पूजा आफैं पनि भन्थिन्, “यदि रोएर फिल्म चल्छ भने म रुन तयार छु।” फिल्म चलाउन कस्ता फन्डाहरू गर्नुपर्छ भन्ने कुरामा उनी खप्पिस थिइन्। यहि कुरालाई लिएर उनका निकै गसिप समेत बन्थे।

तर, यसपालि यही 'अस्त्र' अभिनेत्री वर्षा राउतको सन्दर्भमा भने लागू भएन। 

फिल्म ‘मालती मंगले’ रिलिज भएको दुई दिनसम्म पनि हलमा दर्शकको उपस्थिति निकै कम थियो। यो देखेर वर्षा निकै भक्कानिइन् र रोइन् पनि। केही मिडियाले उनी रोएको विषयलाई लिएर समाचार र गसिप त बनाए, तर त्यसले न दर्शकको मन छोयो, न त हलको कलेक्सन नै बढायो।

यसको मुख्य कारण थियो, वर्षालाई फिल्म चलाउने 'फन्डा' गर्न नआउनु। सायद उनी हलमै पुगेर मिडियाका सामु 'ग्वाँ ग्वाँ' रोइदिएको भए, भावुक नेपाली दर्शकको मन कटक्क खान्थ्यो र फिल्म हेर्न हलतिर दौडिहाल्थे कि? 

वर्षाले त केवल आफ्नो मनको बह मात्र पोखिन्, जुन केही मिडियाकर्मीले त सुने तर दर्शकको कानसम्म पुग्नै सकेन।

व्यापारिक रूपमा निकै कमजोर देखिए पनि अघिल्लो फिल्मको तुलनामा यसले निर्मातालाई केही राहत भने दिएको छ। ‘मालती मंगले’९ दिनमा ४४ लाख ग्रस कलेक्सन गरेको छ। यसअघिको फिल्म ‘हर्ष’ले भन्दा १४ लाख बढि उठाएको छ।

फिल्ममा राम्रो अभिनय गर्नु एउटा पाटो, तर प्रमोसनका लागि कस्ता-कस्ता फन्डा र हल्ला गर्नुपर्छ भन्ने नजानी त अचेल दर्शक हलसम्म आउनै छाडे। अब अभिनयसँगै अलिअलि 'स्टन्ट' पनि सिक्ने कि?

जेठ ५, २०८३ मंगलबार १९:१२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।