नेपाली कांग्रेसमा विभाजनको रेखा : नयाँ दलका लागि नाम र चुनाव चिन्ह खोज्दै सिटौला र निधि, कोइराला पक्ष मौन
काठमाडौं : नेपाली कांग्रेस संस्थापन इतरभित्रको शेरबहादुर देउवा समूह प्रदेश र स्थानीय तहको निर्वाचनअगाडि नै संगठन बनाउन सक्ने गरी नयाँ पार्टी गठनका लागि नाम र चुनाव चिन्ह खोज्न सक्रिय देखिएको छ।
एकातिर विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीसँग छलफलसँगै प्रदेश तहमा कार्यक्रम गरिरहेको समूहका नेताहरू पार्टीको नाम र चुनाव चिन्ह खोज्न सक्रिय देखिएका छन्। यसबारे जानकार स्रोतका अनुसार पार्टीको नाममा ‘कांग्रेस‘ नछाड्ने र चुनाव चिन्ह ‘हिन्दु धर्म’सँग कतै न कतै जोडिने गरी खोजी भइरहेको छ।
वर्तमान राजनीतिक वातावरण नयाँ दल अनुकूल नभएको दाबीसहित गगन समूह नयाँ दल नबन्ने र बने पनि पार्टीको ठूलो समूह मूल कांग्रेसमै रहनेमा विश्वस्त देखिएको छ। तर, कांग्रेसभित्रका विभिन्न समूहका नेताहरूसँगको कुराकानीबाट संस्थापन इतरका सबै नेता नसमेटिए पनि कांग्रेस १५औं महाधिवेशनअगाडि विभाजित हुने देखिएको छ।
नयाँ दल बनाउन मुख्य गरेर कृष्णप्रसाद सिटौला सक्रिय छन्। उनले अब विशेष महाधिवेशनबाट निर्वाचित गगन थापासँग मिलेर जानै नसक्ने भन्दै नयाँ दल बनाएर जान पूर्णबहादुर खड्कासहितका नेतालाई लगातार दबाब दिइरहेका छन्।
यसमा विमलेन्द्र निधि र प्रकाशमान सिंहसमेत जोडिएका छन्। प्रकाशमानले गत निर्वाचनमा टिकट पाएनन्। निधिले भने गगनलाई सभापति स्वीकार गरेर उम्मेदवारको टिकट लिएर गएका थिए, तर उनी मनिष झासँग पराजित भए।
पार्टीको केन्द्रीय समिति, क्रियाशील सदस्यता अद्यावधिक, १५औं महाधिवेशन आयोजक समितिको नेतृत्व र सदस्यलगायतका विषय गगन समूह अनुकूल मात्र रहेकाले अहिलेकै संरचनामा महाधिवेशनमा जानु राजनीतिक रूपमा ‘आत्मसमर्पण’ हुने संस्थापन इतर समूहको निष्कर्ष देखिन्छ।
धर्मको राजनीतिको तयारी?
स्रोतका अनुसार नयाँ पार्टी गठनबारे मुख्य रूपमा सिटौला, निधि र प्रकाशमान छलफलमा छन्। उनीहरूले पार्टीको प्रभाव बढाउन हिन्दु धर्म जोड्ने रणनीति बनाइरहेको खुलेको छ।
राप्रपाबाहेक अन्य दलले धर्मको विषय नउठाएको र राप्रपाले धर्मसँग राजासमेत जोड्दा प्रभाव नबढेको भन्दै धर्मको मात्र एजेन्डा उठाउँदा मतदाताबाट साथ पाउन सकिने उनीहरूको बुझाइ देखियो। यसको रणनीति पनि सिटौलाले बनाएको देखियो, तर यसबारे सहमति नभएको संस्थापन इतर समूहको दाबी छ।
‘गगन पक्षका नेताहरूले क्रियाशील अद्यावधिक लगायतका नाममा पेलिरहने र एकलौटी महाधिवेशन गरेर विशेष महाधिवेशनजस्तै चाहेको कार्यसमिति घोषणा गरे साक्षी मात्र बस्न किन सहभागी हुने?,’ सिटौला निकट एक नेताले भने, ‘हिजो दलभित्र पहिचान बनाउन उनै सिटौला दाइको समूहको साथ पाएका गगनले छलफलै नगरी राष्ट्रिय सभाको नेताबाट गलहत्याएपछि कसरी सहकार्य हुन सक्छ?’
नाम उल्लेख गर्न नचाहेका ती नेताले नयाँ दलको नाम र चुनाव चिन्हसँगै पार्टी कार्यालय राख्ने ठाउँको खोजी भइरहेको स्वीकार गरे। तर, धर्ममा आधारित दल खोल्न लागेको ‘अफवाह’ मात्र भएको दाबी गरे।
नयाँ दल बनाउनेबारे निवर्तमान सभापति शेरबहादुर देउवाको समेत साथ रहेको दाबी गरेका सिटौला समूहका ती नेताले पार्टी नेतृत्वबारे छलफलकै चरणमा रहेको र निधि वा सिंहमध्ये एक सभापति हुनसक्ने दाबी गरे। ती नेताको दाबीअनुसार यसबीचमा भएका भेलाहरू संस्थापन गगन समूहको भेलाभन्दा बलियो रहेको र पार्टीका क्रियाशीलहरूबाटै नयाँ दल बनाउन दबाब बढिरहेको छ।
नयाँ दल बनाउँदा शेखर समूहलाई पनि समेट्दा बलियो हुने तर शेखर कोइरालाले नयाँ दलबारे ‘हुन्छ या हुन्न’ केही नभनेको र पूर्णबहादुर खड्कासमेत प्रष्ट नभइसकेकाले मात्र ढिलाइ भएको ती नेताको दाबी छ। खड्का निकट अर्का नेताले पनि आगामी महाधिवेशनमा सबैलाई नसमेटिए नयाँ दल गठन गर्ने कि भनेर छलफलसम्म भएको तर निष्कर्ष ननिकालिएको दाबी गरे।
देउवाको संरक्षणमा नयाँ दल बने त्यसको राजनीतिक वाद लोकतन्त्र र धर्मनिरपेक्षताभन्दा अलग हुन नसक्ने र नेतृत्व पूर्णबहादुर खड्काले नै गर्ने ती नेताले दाबी गरे। संस्थापन इतरबाट नयाँ दल बनाए १४औं महाधिवेशनमा देउवापछिको नेता खड्का नै भएको र विशेष महाधिवेशनको विपक्षमा कार्यवाहक सभापतिका रूपमा उनी नै सक्रिय भएकाले नयाँ दल बने उनकै नेतृत्वमा हुने ती नेताको दाबी छ।
‘विशेष महाधिवेशन गरेर नेतृत्वमा पुगेकाहरू सबैलाई समेटेर नियमित महाधिवेशन गर्न त्यति गम्भीर देखिएका छैनन्। छलफल गरेको जस्तो मात्र देखाएर एकता हुन सक्दैन,’ छलफलमा सहभागी ती नेताले भने, ‘पार्टी विभाजन गर्न हुन्न, मिलेर महाधिवेशनमा जानुपर्छ भन्ने नै छ। तर गगन थापा समूहलाई अनुमोदन गर्न मात्र को महाधिवेशनमा जान्छ?’
शेखर-शशांकको साथ खोज्दै सिटौला
यो समूहले शेखर र शशांक कोइराला समूहलाई पनि आफूसँगै नयाँ दलमा संलग्न गराउन प्रयास गरिरहेको देखियो। यी दुवै नेता गगनसँग सन्तुष्ट छैनन्, तर दुवै नेता नयाँ पार्टी नै गठन गर्ने पक्षमा सहमत देखिएनन्।
गगन समूहले आगामी महाधिवेशन निष्पक्ष हुने र सबै समेटिने विश्वास दिलाउन नसकेको र छलफलको रणनीति बाहिर प्रयास त गरेको हो भन्ने सन्देशका लागि जस्तो मात्र देखिएको शेखर पक्षको बुझाइ देखियो।
शशांक कोइरालाले कांग्रेस विभाजन गरेर जाने विषयको छलफलमा रुचि देखाएका छैनन्। प्रकाशमान समूहमा देखिए पनि सुजाता कोइराला पनि नयाँ दलको पक्षमा नभएको निकट नेताहरूको दाबी छ। शेखर गगनसँग सन्तुष्ट छैनन्, तर कता लाग्ने भनेर निर्णय पनि गरेका छैनन्।
१५ औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता विशेषअगाडि नै टुङ्गिएकाले अहिले अद्यावधिक गर्ने भन्नुको अर्थ नभएको भन्दै आफैँ महामन्त्री भएर गरेको काम पूर्ण नभएको र त्यसको जिम्मेवारी गगनकै हुने ती नेताले बताए।
‘गगन थापा समूह विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूलाई समेटेर नियमित महाधिवेशन गर्न त्यति गम्भीर नदेखिएको हाम्रो बुझाइ हो,’ शेखर समूहका ती नेताले भने, ‘सिटौला दाइ बढी नै रिसाउनुभएको छ। तर, पार्टी नै नयाँ बनाउने पक्षमा शेखर हुनुहुन्न। यद्यपि, गगन समूहले एकलौटी महाधिवेशन गर्ने प्रयास गरे विकल्पबारे छलफल त भइहाल्छ।’
पार्टी कमजोर नहुने गगन पक्षको दाबी
सिटौला सहितका नेताहरू नयाँ दलबारे छलफलमा रहेको र नाम तथा चुनाव चिन्हको खोजी भइरहेकोबारे जानकारी रहेको गगन समूहका एक नेताले बताए। पार्टीमा क्रियाशील सदस्य भनेर जति दाबी गरे पनि भरपर्दो विवरण नै नभएकाले अद्यावधिक गर्न खोज्दा शङ्का गरेको ती नेताको दाबी छ।
अधिकांश क्रियाशील सदस्य भनेर नाम रहेको तर ती नाम गरेका व्यक्ति कहाँ छन् र को हुन् भन्ने विवरण नदेखिएपछि पूर्ण र प्रमाणित विवरण राख्न खोजेको तर यसैलाई अन्य समूहले बखेडाको बहाना बनाएको ती नेताको दाबी छ।
‘महाधिवेशनका विभिन्न समितिहरूमा सबै पक्षको प्रतिनिधि राख्दा एकताको सन्देश जान्छ भनेर नाम मागेका छौँ। केन्द्रीय समितिमा विशेष महाधिवेशनको पक्षमा नभएका नेताहरूलाई समेटियो। तर, उहाँहरू खाली क्रियाशील सदस्य मात्र भनिरहनुहुन्छ। सदस्यता अद्यावधिक गरेर कति क्रियाशील सदस्य रहेछन् भनेर यकिन हुनु कसरी पार्टी हित विपरीत हुन्छ?’
सिटौलाको शैली नै द्वन्द्वमा खेलेर दूरी बढाएर आफू बलियो हुने रहेको र अहिले पार्टी संकटमा रहेको बेलामा पनि उही शैली दोहोर्याएको भन्दै गगन समूहका ती नेताले अहिले नयाँ दल बनाउन उनै सिटौला मात्र सक्रिय रहेको दाबी गरे।
महाधिवेशनमा सहभागी नै हुन नसक्ने अवस्था आए के गर्ने भन्ने विषयमा छलफल हुँदा नयाँ पार्टी गठन गर्ने भनिए पनि यसबारे गम्भीर तयारी नभएको र कोशी, कर्णाली तथा काठमाडौँका भेलाहरू निकै कमजोर देखिएको गगन पक्षको मूल्याङ्कन छ।
जेठ ५, २०८३ मंगलबार ०९:२२:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।