बागलुङमा जङ्गली भ्याकुर खाँदा एक वृद्धाको मृत्यु, ८ जना बिरामी
बागलुङ : बागलुङको पश्चिम बडिगाडमा जङ्गलबाट ल्याएको विषालु जङ्गली भ्याकुर खाँदा एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन्।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार मृत्यु हुनेमा बडिगाड गाउँपालिका–५ दाग घर भई खार बजार बस्ने ७२ वर्षीया फिरमकुमारी घिमिरे रहेकी छन्। दीर्घरोगी समेत रहेकी घिमिरेको घरमै मृत्यु भएको हो।
स्थानीयका अनुसार उनीहरू सधैँजसो आइतबार पनि जङ्गलमा निगुरो टिप्न गएका थिए। सोही क्रममा जङ्गलबाट ल्याएको भ्याकुर दिउँसो खाजाको रूपमा खाएपछि उनीहरू एकाएक बिरामी परेका हुन्।
बिरामी हुनेहरुमा बडिगाड गाउँपालिका–५ खारका ५५ वर्षीय दुरपती कामी, ५५ वर्षीय विष्णु घिमिरे, २३ वर्षीय शारदा न्यौपाने, ४३ वर्षीय सुरेन्द्र विक, ६३ वर्षीय भोजराज घिमिरे, ६२ वर्षीय पुतली घिमिरे, ६५ वर्षीय खिमानन्द घिमिरे र १४ वर्षीय अबिसन घिमिरे छन्। बिरामीमध्ये दुरपती कामीको अवस्था गम्भीर रहेको मानन्धरले जानकारी दिए।
बिरामी सबैको अहिले बुर्तिबाङ अस्पतालमा उपचार भइहेको र एक जनाको अवस्था जटिल रहेको अस्पतालका सूचना अधिकारी पार्वती अर्यालले जानकारी दिए। सूचना अधिकारी अर्यालका अनुसार, बिरामीहरुमा चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र बान्ता हुने लक्षणहरु देखिएको छ।
जेठ ४, २०८३ सोमबार १४:३६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।