कामु प्रधानन्यायाधीश मल्लको भूमिकामाथि रास्वपा सांसदको प्रश्न, एमालेको विरोध

कामु प्रधानन्यायाधीश मल्लको भूमिकामाथि रास्वपा सांसदको प्रश्न, एमालेको विरोध

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमालेले त्यसको विरोध गरेको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्धको रिट दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णय उल्ट्याउने कामु प्रधानन्यायाधीश मल्लको आदेशमाथि आपत्ति जनाएका हुन्।

अधिवक्तासमेत रहेका सांसद यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतको न्याय प्रशासनको मर्यादा नाघेर आदेश आएको दाबी गरे।

‘सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको एउटा आदेश मिडियामा छरपस्ट आएको छ। यो कुन इजलासको आदेश हो, यहाँ देखिँदैन,’ उनले भने, ‘अदालतका आफ्ना मर्यादा र सीमा हुन्छन्। कन्फ्लिक्ट अफ इन्ट्रेस्ट देखिने गरी न्याय प्रशासनभन्दा बाहिर गएर यस्ता आदेश आउनु दुःखद छ।’

यस्तै, रास्वपाकी अर्की सांसद समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश मल्लको पछिल्लो अभिव्यक्तिप्रति कडा टिप्पणी गरिन्।

‘उहाँले लडाइँ अझै बाँकी छ भन्नुभएको छ, को सँग लडाइँ बाँकी छ? उहाँ त न्यायमूर्ति हो,’ बास्कोटाले भने, ‘यदि राजनीति गर्न मन भए कोट खोलेर मैदानमा आउनुहोला, हामी तयार छौँ।’

रास्वपा सांसदहरूले कामु प्रधानन्यायाधीशमाथि टिप्पणी गरेपछि एमाले सांसदहरूले उठेर विरोध जनाएका थिए। एमालेका गुरु बराल, ऐन महर, मोहम्मद इतियाक राईलगायतका सांसदहरूले सभामुखले पटक-पटक आग्रह गर्दा पनि बसिरहन अस्वीकार गर्दै विरोध जारी राखेका थिए।

विरोधका बीच बोल्ने समय पाएका एमाले सांसद ऐन महरले संसद्मा विचाराधीन मुद्दाको विषयमा बहस गर्न नपाइने भन्दै आपत्ति जनाए।

‘अदालतमा विचाराधीन मुद्दाको विषयमा संसद्मा बहस गर्नु अदालतको अपमान हो,’ महरले भने, ‘सत्तापक्षका सांसदहरूले अदालतको मानमर्दन हुने गरी अभिव्यक्ति दिनु गलत छ।’

चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको भन्दै त्यसका विरुद्ध सर्वोच्चमा रिट परेको थियो।

सुरुमा सर्वोच्च प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको उक्त निवेदनलाई कामु प्रधानन्यायाधीश मल्लको आदेशले दर्ता गर्न बाटो खोलिदिएपछि यो विषय चर्चामा छ।

जेठ ४, २०८३ सोमबार १४:१७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।