सुकुमबासी आन्दोलनमा बालेन विरुद्ध तीता नारा, रित्तो थालमा चम्चा बजाउँदै प्रदर्शन

सुकुमबासी आन्दोलनमा बालेन विरुद्ध तीता  नारा, रित्तो थालमा चम्चा बजाउँदै प्रदर्शन

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले देशभर डोजर आतंक मच्चाएको आरोप लगाउँदै सुकुमबासीहरुले माइतीघरमा विरोध प्रदर्शन गरे। रित्तो थाल चम्चाले बजाउँदै उनीहरूले ‘बालेन सरकार चाहिँदैन’,‘डोजर लगाउन पाइँदैन’, ‘बालेन तेरो पाराले दुःख पायो साराले’ लगायतका तीतो नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिरहेका छन्। 

सरकारले वैशाख १२ गतेबाट काठमाडौं उपत्यकाका बागमती र मनोहरा लगायतका नदीको किनारमा रहेको बस्तीमा सुरक्षाकर्मीसहित बल प्रयोग गरेर जबरजस्ती बस्ती खाली गराएको थियो। त्यसपछि उपत्यका बाहिर पनि यो अभियान सुरु भयो।

सर्वोच्च अदालतले विकल्पपछि मात्रै बस्ती हटाउन आदेश दिइसके पनि विभिन्न ठाउँका बस्तीमा डोजर चलाउने क्रम भने रोकिएको छैन। सरकारले सुरक्षाकर्मीको घेरामा गरेको दमनबाट काठमाडौं उपत्यकामा मात्रै १५ हजार जना बासहिन भएका छन्।

सरकारले उनीहरुको पुनर्स्थापना गर्ने दाबी गरे पनि अधिकांश अहिले पनि सुविधाहिन होल्डिङ सेन्टरहरूमा छन्। काठमाडौंबाट उठाइएका सुकुमबासीहरुलाई जबरजस्ती काभ्रेको बनेपा अनि नगरकोटमा रहेको रेडक्रस र सरकारी भवनमा लगेर राखेको छ। कीर्तिपुरको बागमती नदी किनारमा रहेको अस्थायी टहरामा राखिएकाहरु अहिले पनि त्यहीँ छन्।

केही परिवारलाई सरकारले नागार्जुनमा रहेको भवनमा लगेर राखेको छ। तर त्यहाँ अत्यावश्यक सुविधा समेत नभएको भन्दै सुकुमबासीहरुले असन्तुष्टि जनाएका छन्। नागार्जुनको भवनमा खानेपानीको सुविधा समेत नभएको उनीहरुले बताएका छन्।

तस्विरहरू : सक्षम घिमिरे / नेपाल न्युज बैंक

वैशाख ३१, २०८३ बिहीबार १४:१०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।