झाँक्रीको टिप्पणी- ‘नयाँ युगको अपेक्षा थियो, नीति तथा कार्यक्रम पुरानैको निरन्तरता देखियो’
काठमाडौं : राष्ट्रियसभा सदस्य एवं एमाले नेतृ रामकुमारी झाँक्रीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुनै नयाँपन नभएको टिप्पणी गरेकी छिन्।
बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले यसलाई पुरानै कार्यक्रमहरूको निरन्तरताको संज्ञा दिइन्।
निर्वाचनपछि नयाँ शक्तिहरूको उदयसँगै मुलुकमा नयाँ युगको सुरुवात हुने अपेक्षा गरिएको भए पनि सरकारको नीति तथा कार्यक्रमले त्यसलाई सम्बोधन गर्न नसकेको झाँक्रीको भनाइ छ।
‘अपेक्षा नयाँ युगको थियो, तर नीति तथा कार्यक्रम हेर्दा केही बुँदा घटाएर पुरानै कुरालाई दोहोर्याइएको मात्र देखिन्छ’, उनले भनिन्।
सरकारले सुशासनको नारा लगाए पनि व्यवहारमा निजी क्षेत्रलाई आतंकित बनाउने काम भइरहेको उनले आरोप लगाइन्।
आर्थिक गतिविधि सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको साटो राज्यले तर्साउने र दबाब दिने शैली अपनाएको उनको तर्क छ।
बैंकिङ र व्यवसायिक क्षेत्रका व्यक्तिहरूलाई पक्राउ गर्ने हालैका प्रवृत्तिप्रति लक्षित गर्दै उनले सरकारलाई महत्वपूर्ण सुझाव दिइन्।
उनले भनिन्, ‘सुशासनको नाममा पहिले थुनेर अनि सुन्ने होइन, पहिले सुनेर मात्र थुन्ने पद्धति अपनाउन म सरकारलाई आग्रह गर्दछु।’
राज्यको काम नागरिक र निजी क्षेत्रका लागि काम गर्ने सहज वातावरण बनाउनु पर्नेमा उल्टै अवरोध सिर्जना गर्ने काम भइरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।
सुशासनको नाममा त्रास फैलाउँदा मुलुकको आर्थिक विकासमा बाधा पुग्ने उनले चेतावनी दिइन्।
वैशाख ३१, २०८३ बिहीबार १३:२१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।