नेपाल टेलिकमको नाफामा झण्डै १० प्रतिशतको सुधार, तेस्रो त्रैमाससम्म ६ अर्ब २७ करोड खुद मुनाफा
काठमाडौं : सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरण अनुसार कम्पनीको खुद मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ९.८५ प्रतिशतले वृद्धि भएको छ।
गत वर्ष ५ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा यस वर्ष बढेर ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको मुख्य व्यवसायबाट हुने आय २.४२ प्रतिशतले बढेर २५ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कुल आय २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ रहेको छ, जुन गत वर्षको तुलनामा १.४९ प्रतिशतले बढी हो।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ। गत वर्ष ४२.३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ४६.४७ रुपैयाँ पुगेको छ।
टेलिकमका अनुसार जीएसएम सेवाको राजस्वमा भएको वृद्धि र ह्रासकट्टी खर्चमा आएको कटौतीले नाफा बढाउन सहयोग पुगेको हो।
जीएसएम तर्फको राजस्व करिब ५७ करोड ७४ लाखले बढेको छ भने ह्रासकट्टी खर्च ३८ करोड ६९ लाखले घटेको छ।
यद्यपि, बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा आएको गिरावटले कम्पनीको ब्याज आम्दानीमा भने ५७ करोड ६६ लाख रुपैयाँ (२०.५७ प्रतिशत) को गिरावट देखिएको छ।
ब्याज आम्दानी घटे पनि सञ्चालन आय र खर्च व्यवस्थापनका कारण कम्पनीको समग्र नाफामा सकारात्मक प्रभाव देखिएको हो।
वैशाख ३१, २०८३ बिहीबार १०:२५:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।