सुन नकिन्न मोदीले आग्रह गरेपछि भारतमा ज्वेलरी कम्पनीको सेयरमा पहिरो

सुन नकिन्न मोदीले आग्रह गरेपछि भारतमा ज्वेलरी कम्पनीको सेयरमा पहिरो

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा सञ्चिति जोगाउनका लागि नागरिकहरूलाई सुन नकिन्न अपील गरेका छन्।

उनको यो भनाइ सार्वजनिक भएलगत्तै सोमबार भारतीय सेयर बजारमा ज्वेलरी (सुनचाँदी) कम्पनीहरूको सेयर मूल्यमा ठूलो गिरावट आएको छ।

प्रमुख ज्वेलरी कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले घटेको देखिएको छ।

मोदीको आह्वानपछि स्काई गोल्डको सेयर मूल्य सबैभन्दा बढी १२ प्रतिशतले घटेर ४७५ भारुमा झरेको छ भने सेनको सेयर मूल्य करिब ११ प्रतिशतले घटेर ३२५.०५ भारु पुगेको छ, जुन अघिल्लो दिन ३६५.४० भारु थियो।

यस्तै कल्याण ज्वेलर्सको सेयर मूल्य १० प्रतिशतले घटेर ३८२.१० भारुमा आएको छ भने कारोबारको सुरुवातमै टाइटनको सेयर ८ प्रतिशतले घटेर ४,१५०.१० भारुसम्म झरेको थियो।

सोमबार बिहान १० बजेको तथ्याङ्क अनुसार भारतीय सेयर बजारको सूचक सेन्सेक्स १.३५ प्रतिशतले घटेर ७६ हजार २८२.२८ अंकमा र  निफ्टी १.२३ प्रतिशतले घटेर २३ हजार ८७७.८० अंकमा कारोबार भइरहेको थियो।

बजारका लगभग सबै उपसूचकहरू ओरालो लागेका छन्। त्यसमा पनि विशेषगरी ‘निफ्टी कन्जुमर ड्युरेबल्स’ (उपभोक्ता सामग्री क्षेत्र) सबैभन्दा बढी ३ प्रतिशतले घटेको छ।

प्रधानमन्त्रीको एक अपीलले बहुमूल्य धातुको व्यापार गर्ने कम्पनीहरूमा प्रत्यक्ष असर पारेको देखिएको छ।

वैशाख २८, २०८३ सोमबार १३:३८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।