सिन्धुलीमा चट्याङ, चितवनमा दुर्घटना : दुई जना ज्येष्ठ नागरिकको मृत्यु
काठमाडौं : सिन्धुली र चितवन जिल्लामा वैशाख २६ गते साँझ भएका छुट्टाछुट्टै घटनामा परी दुई जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ।
सिन्धुलीमा चट्याङ लागेर एक जना वृद्धको ज्यान गएको छ भने चितवनमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
सिन्धुलीको दुधौली नगरपालिका-४, पाखा भित्तामा चट्याङ लागेर ७० वर्षीय पूर्णबहादुर बुढाथोकीको मृत्यु भएको छ।
प्रहरीका अनुसार वैशाख २६ गते साँझ करिब ५:३० बजेतिर अविरल वर्षासँगै परेको चट्याङले उनलाई लागेको थियो।
घरबाट करिब २०० मिटर दक्षिणमा रहेको मकैबारीमा घाँस काट्न गएका उनी रातिसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा राति ९:४५ बजे उनी बोल्न नसक्ने अवस्थामा फेला परेका थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सपना खड्काको कमान्डमा खटिएको टोलीले उनलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल सिर्थौली पुर्याएको थियो।
तर, राति १०:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
उता, चितवनको रत्ननगर नगरपालिका-१४, घोलचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर-१४ कै करिब ७५ वर्षीया कृष्णमाया मगर रहेकी छन्।
प्रहरीका अनुसार टाँडीबाट भट्टचोकतर्फ जाँदै गरेको ग ८ प २००८ नम्बरको मोटरसाइकलले साँझ ७:०० बजेतिर पैदल हिँडिरहेकी मगरलाई ठक्कर दिएको थियो।
ठक्करबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनलाई तत्काल उपचारका लागि बकुलहर अस्पताल टाँडी लगिएको थियो। तर, उपचारकै क्रममा साँझ ७:२२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
अस्थायी प्रहरी पोस्ट पिठुवाबाट प्रहरी सहायक निरीक्षक (असई) दीपकराज मैनालीको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ। मृतकको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ।
ठक्कर दिने मोटरसाइकल र त्यसका चालक रत्ननगर-१५ बस्ने ४५ वर्षीय सगुन पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वैशाख २७, २०८३ आइतबार ०८:५३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।