कर्नेल कुरैशीमाथिको टिप्पणीपछि उच्च अदालतको आदेशपछि सर्वोच्च पुगेका मन्त्रीलाई प्रधानन्यायाधीशले पनि हप्काए

कर्नेल कुरैशीमाथिको टिप्पणीपछि उच्च अदालतको आदेशपछि सर्वोच्च पुगेका मन्त्रीलाई प्रधानन्यायाधीशले पनि हप्काए

एजेन्सी : भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीविरुद्ध गरेको विवादास्पद टिप्पणीपछि उच्च अदालतले एफआईआर दर्ता गर्न दिएको आदेशविरुद्ध सवोच्च अदालत पुगेका मध्य प्रदेशका मन्त्री विजय शाहलाई अदालतले मर्यादाको ख्याल राख्न भनेको छ।

एक दिनअघि मात्र सर्वोच्च अदालतको मुख्य न्यायाधीशको पदभार ग्रहण गरेका प्रधानन्यायाधीश भुषण रामकृष्ण गवईको इजलासमा पेश गरिएको थियो। विजय शाहको तर्फबाट दायर भएको रिटमा उच्च अदालतले दिएको एफआईआर दर्ता गर्न दिएको आदेशमाथि रोक लगाउन माग गरिएको छ।

रिटमाथि टिप्पणी गर्दै प्रधानन्यायाधीश गवईले भने, ‘तपाईं कस्तो प्रकारको बयान दिइरहनुभएको छ? संवैधानिक पदमा रहेका व्यक्तिबाट निश्चित स्तरको मर्यादाको अपेक्षा गरिन्छ। जब देश यति गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ, प्रत्येक शब्द जिम्मेवारीपूर्वक बोल्नुपर्छ।’

विजय शाहका वकिलले भने एफआईआर तत्काल रोक्न आग्रह गरे। उच्च अदालतले आफ्नो क्षेत्राधिकार नाघेर एफआईआर दर्ता गर्न आदेश दिएको उनको दलिल थियो।

तर, प्रधानन्यायाधीश गवईले भने यसका लागि उच्च अदालत नै जान सुझाए। यद्यपि पछि भने प्रधानन्यायाधीश गवई शुक्रबार मुद्दाको सुनुवाइ गर्न राजी भए।

विजय शाह मध्य प्रदेशको मोहन यादव सरकारमा आदिवासी मामिला मन्त्री हुन्। मे १४ मा, मध्य प्रदेश उच्च अदालतले कर्नल सोफियामाथिको उनको टिप्पणीबारे राज्य प्रहरी महानिदेशक (डीजीपी)लाई उनीविरुद्ध एफआईआर दर्ता गर्न निर्देशन दिएको थियो।

मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवको कार्यालयले बुधबार राति अबेर उच्च अदालतको आदेशपछि मुख्यमन्त्रीले कारबाही गर्न निर्देशन दिएका थिए।

जेठ १, २०८२ बिहीबार १४:०३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।