हिँडेर जान नसक्ने व्यक्तिलाई सहज होस् भनेर पाथीभरामा केबलकार सुरू गरेका हौं : चन्द्र ढकाल

काठमाडौं : उद्योग वाणिज्य महासंघ र पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकारले गर्दा पाथीभराको धार्मिक आस्थामा कुनै पनि प्रभाव नपारेको बताएका छन्।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पाथीभरा केबलकारको बारेमा एकदमै गलत प्रचार भएको भन्दै यसले पाथीभराको धार्मिक आस्थामा कुनै प्रभाव नपार्ने बताए।
उनले भने, ‘मिडियाहरूमा माथि फाइभ स्टार होटलहरू छ रे, डेटिङहरू बस्ने गरेका छन् रे भन्ने खालको एकदमै गलत प्रचार भएको छ। यसको साथै त्यहाँको भेटी पाथीभरा केबलकारले उठाउने गरेको छ भन्ने कुरा पनि छ। तर भेटीसँग केबलकारको कुनै सरोकार, नाता नै छैन। यो केबलकारले कुनै पनि खालको धार्मिक आस्था खलबलाउने खालको काम गरेको छैन। यो गलत हो।’
उनले कुनै पनि ठाउँमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरु आउनु स्वभाविक भएको भन्दै यसलाई अन्यथा नलिएको बताए।
उनले भने, ‘केबलकारले नेपाली पर्यटन प्रवर्द्धनमा धेरै सहयोग गर्ने भएको हुनाले नेपालमा सात वटा प्रदेशमा सात वटा पर्यटन पूर्वाधार बनाऔं भनेर यसको सुरुवात गरेका हौं। हिँडेर जान समस्या हुने खालको व्यक्तिहरूलाई सहज हिसाबले जान सकोस् भनेर सुरु गरेका हौं। कुनै पनि ठाउँमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरु आउनु स्वभाविक पनि हो। त्यसलाई अन्यथा लिनु हुँदैन।’
केबलकारले पर्यटन प्रवर्द्धनमा पनि सहयोग गर्ने हुनाले भने पाथीभरामा पनि त्यसको निर्माण गरेको उनको भनाई छ।
उनले भने, ‘हामीले नेपालका सम्मानित क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पहिलो प्रोजेक्टको रुपमा चन्द्रागिरि केबलकार बनाएका थियौं। केबलकार बनाएपछि त्यहाँको अवस्थामा धेरै सुधार भएको पनि छ। त्यसैगरी सबैको आशाको धरोहर पाथीभरामा सजिलै पहुँच पुर्याउने विषय विचार गरेर नेपालमा पर्यटन पूर्वाधार बनाउने उद्देश्यका साथ केबलकार बनाएको हो।’
माघ २६, २०८१ शनिबार १६:३९:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।