‘बैंकहरुविरुद्ध सामाजिक सञ्जालबाट भ्रम फैलाइयो’

‘बैंकहरुविरुद्ध सामाजिक सञ्जालबाट भ्रम फैलाइयो’

काठमाडौँ : बैंक तथा वित्तीय संस्थाका छाता संस्थाहरूले सामाजिक सञ्जालहरूबाट बैङ्किङ क्षेत्र लक्षित भ्रामक सूचना सम्प्रेषण भएको भन्दै आपत्ति जनाएका छन्।

नेपाल बैंकर्स सङ्घ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैंकर्स सङ्घले शुक्रवार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बैङ्किङ क्षेत्र पारदर्शी र सुरक्षित रहेको बताएका हुन्।

‘नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थामा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्था सुरक्षित रहेको ब्यहोरा स्पष्ट पार्दछौँ। यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भइरहेको र सामाजिक सञ्जालमानसमेत विभिन्न बैंक तथा वित्तीय संस्थाको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ।

सबै बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपकर्ताको रकम पूर्णरुपमा सुरक्षित रहेको बैंकका छाता संस्थाले जनाएका छन्।

विभिन्न सामाजिक सञ्जालका भ्रामक सूचनाप्रति आपत्ति जनाउँदै बैंकका छाता संस्थाले त्यस्ता सूचना प्रेषित गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन्।

‘सामाजिक सञ्जालमा देखिने गलत तथा भ्रामक टिप्पणीमा कुनै ध्यान नदिन र सम्बन्धित सरोकारवाला निकायले सम्प्रेषण गरेको सूचना तथा समाचारलाई मात्र आधिकारिक रूपमा लिनुहुन अनुरोध गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ।

माघ २५, २०८१ शुक्रबार १६:५८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।