संगीतकार वसन्त मुकारुङका हिजोका कुरा : पहिलेका गीत अजम्बरी थिए, अहिलेका त दुई महिना पनि टिक्न छाडे

संगीतकार वसन्त मुकारुङका हिजोका कुरा : पहिलेका गीत अजम्बरी थिए, अहिलेका त दुई महिना पनि टिक्न छाडे

चार दशकअघि रेडियो नेपालबाट निकै लोकप्रिय भएको गीत ‘दुःखहरू बिर्सु भन्छु’ अरुण थापाले गाए। वि.सं. २०४१ मा रेडियो नेपालमा रेकर्ड भएको यो गीत आज पनि बेला-बेलामा सुनिन्छ। पुराना पुस्ताले विशेष रूपमा मन पराएका यस गीतका संगीतकार वसन्त मुकारुङ हुन्।

४१ सालमै गाउँको अन्नपूर्ण माध्यमिक विद्यालयबाट एसएलसी दिने बित्तिकै झोला बोकेर काठमाडौं हिँडेका मुकारुङले सोही वर्ष चर्चित गायक अरुण थापालाई आफ्नो संगीतमा गीत गाउन लगाए। यसपछि उनको चर्चा शहरदेखि गाउँसम्म फैलियो। नयाँ संगीतकारको उदयले रेडियोकर्मीहरूमा पनि उत्साह थप्यो।

ठूलो बुवाका छोरा बुलु मुकारुङ रेडियो नेपालमा जागिरे भएपछि वसन्त मुकारुङको नाम अझै फैलियो। त्यस्तै, गणेश रसिकको छत्रछायामा रहेका उनले अन्य कलाकारहरूसँग पनि सहकार्य गर्दै आफ्नो संगीत यात्रा अघि बढाए। सयौं गीतमा संगीत गरेका उनलाई राजेश पायल राईले गाएको ‘बैगुनी रैछौ मायालु, मीठो बोली बोल्ने’ गीतले झनै चर्चामा पुर्यायो।

वसन्त मुकारुङले नेपाली गीतसंगीतको प्रारम्भिक पुस्तादेखि पछिल्ला पुस्तासम्मका विभिन्न गायक-गायिकासँग सहकार्य गर्दै आएका छन्। यतिका वर्षमा उनले देखेका, भोगेका र अनुभवबारे हिजोका कुराकानीमा यसरी सुनाएः

‘तीन दिनको यात्रापछि मात्रै धरान आइपुगिन्थ्यो’
मेरो जन्म तत्कालीन भोजपुरको अन्नपूर्ण गाउँ पञ्चायतमा वि.सं. २०२४ सालमा भयो। अहिले त्यो क्षेत्र टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ३ अन्तर्गत पर्छ। मैले गाउँकै अन्नपूर्ण माध्यमिक विद्यालयबाट करिब ४१ वर्षको उमेरमा एसएलसी दिएँ। हाम्रो परिवारमा नौ जना दाजुभाइ-दिदीबहिनी छन्। मेरा दुई आमा छन्। जेठी आमा पट्टीमा पाँच जना दाजुभाइ छन् भने कान्छीआमा पट्टीमा चार दाजुभाइ र दुई दिदीबहिनी।

गाउँमा हुर्कँदा मैले कहिल्यै जात-पातको विभेद देखिँन, एकदमै भाइचारा र एकता थियो। हामी सबै विभिन्न जातजातिका मानिसहरू मिलेर बस्ने ठाउँमा हुन्थ्यौँ। मेरो गाउँमा सबै समुदायका मानिसहरू बसोबास गर्थे। अलि धेरै चाहिँ राई थिए, त्यसपछि बस्नेत अनि केही ब्राम्हणहरू। सबैसँग नेपाली भाषामै बोलियो, खेलियो।

एसएलसी दिएपछि म काठमाडौं आएँ। घरबाट निस्किएपछि निरन्तर हिँड्दै धरान झरिन्थ्यो। बाटोमा बस्ने छाप्रोहरू हुन्थे, त्यहाँ बस्दा कुनै पैसा तिर्नु पर्दैनथ्यो, तर खाना खाँदा थोरै रकम तिर्नुपर्थ्यो। तीन दिनको यात्रापछि धरान पुगिन्थ्यो अनि त्यहाँबाट रात्रि बस चढेर काठमाडौं। अहिले ठ्याक्कै गन्दा ४० वर्ष बितिसकेछ।

२०४१ सालमा रेडियो नेपालमा संगीत भर्ने अवसर
गाउँघरमा त्यतिबेला संगीतको कुनै विद्यालय थिएन। अरूले गाएका गीतहरू सुनेर, कापीमा लेखेर र स्कुलमा सुनाएर हामी संगीत सिक्थ्यौँ। संगीत पढ्नको लागि रत्न राज्य क्याम्पस, पद्मकन्या क्याम्पस र ललितकला विद्यालय मात्रै उपलब्ध थिए, अरु ठाउँमा संगीत पढाइ हुँदैनथ्यो।

पारिवारिक पृष्ठभूमि साहित्य सिर्जनाकै भएपछि मलाई संगीतमा लाग्न कहिल्यै असहज भएन। मेरो ठुलो बुवाको छोरा बुलु मुकारुङ वरिष्ठ संगीतकार हुनुहुन्छ। उहाँको प्रभावका कारण मलाई संगीत क्षेत्रमा प्रवेश गर्न सहज भयो। बुलु दाजु भन्दा अघि गणेश रसिक दाइले पनि मलाई धेरै सहयोग गर्नुभयो।

काठमाडौं आएपछि पहिलो पटकमै मैले रेडियो नेपालमा संगीत भर्ने अवसर पाएँ। किनकि बुलु मुकारुङ दाजु रेडियो नेपालमा जागिरे हुनुहुन्थ्यो, जसकारण अन्य संगीतकार र गायक-गायिकाहरूको तुलनामा मैले संघर्ष गर्नुपरेन।

गाउँमा हुँदा रेडियो नेपालबाट आफ्ना गाउँका साथीभाइ र इष्ट मित्रलाई संगीत सुनाउने चाहना हुन्थ्यो। रेडियो नेपाल बाहेक अन्य सञ्चारमाध्यम नहुनाले धेरैले रेडियो नेपालमा बजेको गीत सुन्थे। त्यसैले त्यतिबेला गायक गायिका, गीतकार र संगीतकारको चार्म नै छुट्टै हुन्थ्यो।

पहिलो संगीत र अरुण थापासँगको अनुभव
४१ सालमा मैले पहिलो पटक अरुण थापालाई ‘दुःखहरू बिर्सु भन्छु’ बोलको गीत गाउन आग्रह गरेको थिएँ। यो गीत गंगाराज मुकारुङले लेख्नु भएको हो। त्यतिबेला संगीत क्षेत्रमा नाम चलेको र राम्रो संगीत भएको अवस्थामा मात्र गायक-गायिकाहरू गीत गाउन तयार हुन्थे। म नयाँ संगीतकार भए तापनि बुलु र गणेश दाइको सम्बन्धका कारण त्यो मौका पाएँ।

अरुण दाइले मलाई बुलुको भाइ भनेर चिन्नुहुन्थ्यो। पछि हाम्रो सम्बन्ध दाजुभाइजस्तै भयो। त्यस बेलामा सबै संगीतकार एकसे एक राम्रा हुन्थे। त्यही भीडमा म पनि राम्रै गरिरहहेकाले होला, अरुण दाइले मेरो संगीतमा गीत गाउन तयार हुनुभएको, नत्र कसैले भनेकै आधारमा मात्र किन मान्नुहुन्थ्यो र!

त्यतिबेला त्यो गीत एकदमै चल्यो र मान्छेहरूले मेरो नाम रेडियोमा सुन्न थाले।

सिनियरसँगको सहकार्य र थप अवसरहरू
त्यसपछि मैले सिनियर दाजु-दिदीहरूसँग काम गर्ने अवसर पाएँ। २०४१ सालपछि रेकर्ड भएको प्रेमध्वज प्रधानको स्वर र विजय शिवाकोटीको रचनामा बनेको ‘नरोउ है सम्झी मलाई’ बोलको गीतमा मैले संगीत भर्ने अवसर पाएँ। त्यो गीतले पनि मेरो परिचयमा एक पाना थप गर्यो।

त्यो समयका चलेका दीप श्रेष्ठ, सुक्मित गुरुङ, कुन्ती मोक्तान लगायत त्यसपछिको राजेश पायल राई हुँदै अहिलेका पछिल्ला पुस्ताका गायक-गायिकासँग पनि सहकार्य गर्दै आइरहेको छु। राजेश पायल राईले गाएको ‘बैगुनी रैछौ मायालु’ गीले पछिसम्म पनि चर्चा पायो, त्यसमा मेरो संगीत छ। यसका गीतकार भरत बम्जन हुन्।

त्यतिबेला सिनियरहरूले नयाँलाई विश्वास गर्न गाह्रो मान्थे। तर म आफूलाई भाग्यमानी ठान्छु, मैले मेरो करिअरको सुरुवात नै सिनियरहरूको साथ गर्न पाएँ। पर्याप्त अभ्यास र सिकाइपछि मात्र संगीत क्षेत्रमा आएकाले मलाई कसैले पनि अविश्वास गर्नुभएन।

त्यो समयमा अन्य र साधारण बाटोबाट आउनेलाई धेरै गाह्रो थियो। धेरै सिकेर खारिएपछि मात्र नाम चलेका र सिनियरहरूले समय दिन्थे अनि गीत गाइदिन्थे।

त्यतिबेला र अहिलेको संगीतमा आकाश जमिनको फरक
त्यो बेला र अहिलेको संगीतमा निकै ठूलो फरक छ। पहिले एउटा गीत रेकर्ड गर्न स्टुडियोमा पटक-पटक अभ्यास गर्नुपर्थ्यो। यदि कुनै गल्ती भयो भने फेरि सुरूबाट गर्नुपर्थ्यो। हाहा... गरेको भरमा संगीतकार भइँदैनथ्यो, न कोही गायक गायिका नै बन्थे।

अहिले प्रविधिको विकासले गीत संगीत सिर्जना गर्न अत्यन्तै सजिलो बनाएको छ। पैसा भए जो कोही गायक-गायिका र संगीतकार बन्नसक्छन्। नेपालीमा एउटा भनाइ छ नि! ‘बोल्ने मान्छेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’, अहिलेको अवस्था ठ्याक्कै त्यस्तै छ।

आजकलको संगीतमा त्यो गुणस्तर भेट्दिनँ, जुन पहिलोमा थियो। अहिलेको गीतसंगीत बढीमा दुई महिना मात्र टिक्छ, त्यतिबेलाका गीतसंगीत जुगौंजुगसम्म सुनिन्थे।

हामी राष्ट्रका लागि गीत गाउने गर्थ्यौँ भने अहिले आफ्ना लागि गीत बनाउन थालिएको छ। त्यतिबेला गीत रेकर्ड गर्दा रेडियो नेपालमा शब्द-शब्द सेन्सर गरेर मात्र गाउन पाइन्थ्यो, जसले गर्दा एनालग सिस्टममा बनाउँदा पनि गीतहरू उत्कृष्ट बने।

अहिले डिजिटल सिस्टममा बनाउँदा गीतहरू त्योबेलाको भन्दा उत्कृष्ट बन्नुपर्ने हो, तर त्यतिबेलाको स्तरमा अहिलेका गीतसंगीत पुग्नै सकेका छैनन्। गीतसंगीत पोख्त मानिसहरू पछि परेको देख्दा साह्रै नरमाइलो लाग्छ।

रियालिटी शो र आधुनिक संगीत यात्रामा अनुभव
नेपालको पहिलो गायन रियालिटी शो ‘ब्राइटर तिम्रो सुर मेरो गीत’मा मैले तीन वर्ष काम गर्ने अवसर पाएँ। त्यतिबेला आएका गायक-गायिकाहरू, जस्तै दीपक लिम्बू, प्राश्ना शाक्य, विश्व नेपाली लगायतका कलाकारहरूले अहिले पनि राम्रो प्रदर्शन गरिरहेका छन्।

अहिलेका रियालिटी शो र त्यति बेलाका रियालिटी शो को शैलीमा ठूलो भिन्नता आएको छ। पहिले संगीतका लागि र स्रोताको मन जित्नका लागि संगीतमा मिहिनेत गरिन्थ्यो, त्यही भएर लामो समयसम्म टिक्थ्यो पनि। अहिले प्रविधिको प्रभावका कारण छिटो भाइरल हुने गीततर्फ गायक-गायिका र संगीतकारको ध्यान छ। जसले गर्दा उनीहरूको रचनालाई दर्शकले लामो समयसम्म सम्झँदैनन्।

त्यतिबेला मेहनत, लगन र पारिवारिक समर्थनले मलाई आजको मुकामसम्म पु¥याएको हो, त्यसैले आफ्नो सीप तिखार्नका लागि मेहनत गर्न कहिल्यै छाड्नु हुँदैछ।

माघ २४, २०८१ बिहीबार १४:४३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।