बालेनको राजमा बदमासी : लहरे बत्तीको नाममा एक करोड ९८ लाख दुरुपयोग

काठमाडौँ : ‘सडक सौन्दर्य’ को नाममा काठमाडौँ महानगरपालिका र १० वटा वडाले एक करोड ९८ लाख दुरुपयोग गरेका छन्। उकेराले प्राप्त गरेको विवरणमा ‘सडक सौन्दर्य’ को आवरणमा प्रतिस्पर्धाबाट बत्ती राख्ने प्रक्रिया छल्न १० लाख मुनीमा कोटेसनमा जिम्मा दिइयो। करिब दुई करोड खर्च गरेपछि अहिले आएर त्यस्ता बत्ति नै काम नभएको निष्कर्ष निकाल्यो महानगरले।
करिब दुई करोड खर्च गरेर पुलदेखि पोलसम्ममा झिल्के बत्ती राखेको महानगरले अहिले भने त्यसले दृश्य प्रदूषण बढाएको भन्दै रोक लगायो। महानगरको ३७ औँ नगर कार्यपालिका बैठकले ‘लहरे बत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड २०८१’ बनाएर महानगरभित्र झिल्के बत्तीमा रोक लगाएको छ।
महानगरको सडकमा झिल्के बत्ती राख्ने कामको प्रारम्भ मेयर बालेन शाहले नै गरेका थिए। २०८० असोजमा मेयर बालेनले नयाँ बानेश्वरको ‘बिजुली बजार आर्क ब्रिज’मा झिल्के बत्ती बेरेपछि पुल भाइरल भएको थियो। त्यसपछि टंकेश्वर, डल्लु पुलमा पनि त्यस्तै बत्ती राखियो।
त्यसपछि वडाहरूले महानगरको सिको गर्दै सडक किनारमा रहेका पोल, ओभरहेड ब्रिज जताततै लहरे बत्ती राख्न थाले। महानगरका ३२ वटा मध्ये १० वटा वडाले यस्तो लहरे बत्ती राखेर करिब दुई करोड रकम दुरुपयोग गरे। उकेराले सूचनाको हक प्रयोग गरेर लिएको तथ्याङ्कमा महानगरदेखि वडासम्मले १० लाख मुनी बजेट बनाउँदै कोटेसनमा बत्ती जडानको जिम्मेवारी दिएको देखिन्छ।
वडा नम्बर ५, ६, ७, १०, ११,१५,१७,१८,२२ र ३१ ले आफ्नो क्षेत्रमा यस्तो लहरे बत्ती राखेका थिए। महानगर र वडाहरूले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१मा लहरे बत्तीमा एक करोड ९८ लाख ७४ हजार तीन सय ८२ रुपैयाँ दुरुपयोग गरेको देखिन्छ। अझ यसमा वडा नम्बर ७ को खर्च समावेश छैन।
प्रतिस्पर्धा छल्न १० लाख मुनीको काम
महानगरको केन्द्रदेखि वडाहरूले लहरे बत्तीका लागि गरेको खर्च १० लाख मुनी छन्। यो संयोग मात्रै हैन।
काठमाडौँ महानगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७९ को खरिद योजना तयारी र स्वीकृतिको उपनियम ४ अनुसार ‘एक आर्थिक वर्षमा वार्षिक दश लाख रुपियाँभन्दा बढी रकमको खरिद गर्दा वार्षिक खरिद योजना तयार गरी’ प्रमुख प्रशासकीय अधिकृतको स्वीकृत चाहिन्छ।
यही प्रक्रिया छल्न सबैले १० लाख मुनीको रकममा काम गराएको देखिन्छ। यस्तो चलाखीमा महानगरको केन्द्र पनि मिसिएको छ।
नयाँ बानेश्वरको ‘बिजुली बजार आर्क ब्रिज’ मा पोखरा ब्राइटसन कम्पनीलाई नौ लाख ३९ हजार चार सय ५३ रुपैयाँ र ब्राइटसन कम्पनी प्रालिले टंकेश्वर, डल्लु पुलमा सात लाख २७ हजार एक सय ८८ मा लहरे बत्ती राखेको थियो। दुवै ठाउँमा केन्द्रले नै बत्ती जडान गरेर १६ लाख ६६ हजार एक सय ८८ रुपैयाँ खर्च गरेको छ।
तर जिम्मेवारी एकै पटक नदिई १० लाख नकटाउन दुई पटक बत्ती जडानको जिम्मेवारी दिएको देखिन्छ। यी दुई पुल बाहेक वडा नम्बर १५ स्वयम्भूमा पनि महानगर केन्द्रले नै लहरे बत्ती जडान गरेको थियो।
केन्द्रले जस्तै अधिकांश वडाले पनि कोटेसनबाट बत्ती राख्न दिएका थिए। एक वडा बाहेक प्रायले आफ्नो क्षेत्रमा लहरे बत्ती जडान गर्न ८ देखि १० लाखमुनि खर्च गरेका छन्।
वडा नम्बर ५ हाँडीगाउँले भने १० लाख ६ हजार ६८ रुपैयाँ खर्च गरेको देखियो। यसका लागि सार्वजनिक खरिद नियमावलीको पालना भएको देखिएन। वडा नम्बर ५ ले वडाको ४४ वटा खम्बा र एउटा रुखमा गरेर १५ सय ५८ मिटर लहरे बत्ती राखेको वडाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ।
त्यस्तै वडा नम्बर छ ले एच.डी.जी.एस पावर एन्ड सप्लायर्स प्रालिलाई ७६ वटा खम्बामा नौ लाख २५ हजार पाँच सय ८४ रुपैयाँमा लहरे बत्ती राख्ने जिम्मा दिएको थियो। वडा नम्बर १० ले ब्राइटसन कम्पनी प्रालिलाई ६२ वटा खम्बामा ८ लाख ३५ हजार ८१ रुपैयाँ, वडा नम्बर ११ ले सौर्य विद्युत् विकास प्रालिलाई ७६ वटा खम्बामा ९ लाख ९० हजार नौ सय ५६ रुपैयाँमा लहरे बत्ती राख्न लगाएको थियो।
वडा १५ मा भने छ लाख ६६ हजार नौ सय ५६ रुपैयाँ खर्च भएको देखिन्छ। तर खरिद प्रक्रिया महानगर केन्द्रले नै गरेको दाबी गर्दै वडाले विस्तृत विवरण दिएन। महानगर केन्द्रले भने पुल बाहेक अन्य ठाउँमा झिल्के बत्तीको लागि खर्च नगरेको दाबी गर्यो।
वडा १७ ले बंगलामुखी निर्माण सेवा कम्पनीलाई ८ लाख ३६ हजारमा कामको जिम्मा दिएको थियो। वडा १८ पुष्पलाल सडकको २१ वटा बिजुलीको खम्बाहरूमा जम्मा दुई सय मिटरको मात्र बत्ती राखेको थियो। यसका लागि वडाले जम्मा ६० हजार रुपैयाँ खर्च गरेको देखियो।
वडा नम्बर २२ ले भूगोल पार्क सहितको ठाउँमा संगीता इलेक्ट्रिकल्स कम्पनीलाई आठ लाख ६९ हजार नौ सय २३ रुपैयाँ र वडा नम्बर ३१ ले पनि ब्राइटसन कम्पनी प्रालिलाई नै ८६ वटा खम्बामा ९ लाख १४ हजार तीन सय ९६ रुपैयाँमा लहरे बत्ती राख्ने जिम्मेवारी दिएको थियो।
वडा नम्बर १०, ३१ र महानगर केन्द्रले टंकेश्वरको पुलमा झिल्के बत्ती राख्ने जिम्मेवारी ब्राइटसन कम्पनी प्रालिलाई दिएको देखिन्छ। महानगर र वडाले लहरे बत्तीका लागि ब्राइटसनसँग मात्र २४ लाख ७६ हजार छ सय ६५ रुपैयाँको कारोबार गरे पनि खरिद प्रक्रिया छल्न टुक्राएर कामको जिम्मा दिएको देखिन्छ।
विवादको भुमरीमा वडा नम्बर सात
सबै भन्दा धेरै लहरे बत्ती राख्नेमा वडा नम्बर ७ देखियो। वडा नम्बर ७ मा मात्र सय भन्दा बढी खम्बा र रुखहरूमा लहरे बत्ती राखियो। चाबहिल चोकमा रहेको फलामको पुलदेखि गणेशस्थान मन्दिर वरिपरि चा:वहि बहालमा र चाबहिल बजारसम्म वडाले झपक्कै लहरे बत्ती राखेको छ।
‘चुच्चेपाटी झिलिमिली हुने अनि चाबहिल अँध्यारो हुने त भएन नि। हाम्रोमा फेरि जात्रा भई नै रहेको हुन्छ,’ वडा नम्बर सातका वडा अध्यक्ष विमलकुमार होडा भन्छन्, ‘वडामा बजेट छैन, नराख्ने भन्दा पनि वडावासीले राख्ने कि राख्ने भनेर बत्ती राखेको हो। अझै पनि यस्तो बत्ती राख्न पर्छ भन्नेमै छु म त।’
प्रकाश प्रदूषण मात्र हैन, यहाँ त यही बत्तीको विषयलाई लिएर विवादसम्म भएको खुल्यो। बत्तीको रकम भुक्तानीलाई लिएर सचिव र वडा अध्यक्ष बीचनै विवाद छ।
‘सुरुमा वडाले यस्तो बत्ती हाल्ने भनेको होइन। केन्द्र(महानगर) ले नै बजेट हाल्छु भनेर वडा अध्यक्ष र केन्द्रमा कुरा भएको सुनिएको हो,’ वडा नम्बर सातका वडा सचिव पदम केशर अधिकारीले उकेरालाई भने,‘वडाबाट त्यो बत्ती हाल्ने निर्णय नभएको हुँदा हामी भुक्तानी गर्दैनौ। यस विषयमा विवाद भएकाले वडाले भुक्तानी गर्ने कुरै उठ्दैन।’
वडा सचिव अधिकारीका अनुसार चन्द्र विनायक जात्रामा बत्ती हाल्ने भनेर वडाको खम्बा, रुखदेखि चाबहिलको फलामे पुलमा समेत बत्ती राखियो। वडा अध्यक्ष र केन्द्रको सरसल्लाहमा लहरे बत्ती राखेको भनिए पनि नीतिगत रूपमा वडाले कुनै पनि बत्ती हाल्न निर्णय नगरेकाले भुक्तानी गर्न नमिल्ने उनको तर्क।
तर, वडा अध्यक्ष होडा भने अहिले पनि बत्ती राख्नु पर्ने अडानमै छन्। अनि भुक्तानीको बारे कुरा गरे ‘मेयरले तिर्छ’ भन्छन्।
उनी भन्छन्, ‘यो बत्ती राखेपछि वडामा धेरैलाई सहज भएको छ। सडकमा सुरक्षा बढेको छ। मेयरले नै तोक लगाएर भुक्तानी गर्नु भनिसकेका छन्।’
त्यसो भए ‘मेयरले तोक लगाएर दिएको पत्र देखाउनु न त’ भन्ने उकेराको प्रश्नमा उनले पत्र देखाउन नमिल्ने तर्क गरे।
अनि लहरे बत्ती राख्न नमिल्ने भयो ..
रुख देखि लिएर मानिसकै आँखामा प्रकाश पर्नेगरी सडकमा लहरे बत्ती राख्दा त्यसले प्रकाश प्रदूषण बढाएको भन्दै आलोचना भएपछि अहिले महानगरले त्यस्तो बत्ती राख्नै नमिल्ने निर्णय गरिसकेको छ। यसले महानगरले करिब दुई करोड खेर फाल्यो।
महानगरको निर्णयपछि लहरे बत्ती नराखेका वडाको नेतृत्व खुसी देखिए। वडा नम्बर २७ महा-बौद्धका सचिव मधु पाण्डे भन्छन्, ‘धन्न राखिएन। सडक बत्ती राख्ने भनेको भए हामी राख्थ्यौँ। तर त्यो बत्तीको काम छैन भनेर नराखेकै हो। राखेको भए त हाम्रो पनि आलोचना पो हुने रहेछ।’
महानगरकै अनुगमनमा लहरे बत्ती हानिकारक भएको निष्कर्ष
आलोचनापछि महानगरले लहरे बत्तीको प्रभावबारे अध्ययन गर्न उपमेयर सुनिता डंगोलको अध्यक्षमा वैशाख २४ मा अनुगमन समिति बनायो।
समितिले महानगरभित्र बलिरहेको लहरे बत्तीले व्यक्तिको पैदल वा सवारी यात्रामा कस्तो प्रभाव पार्छ ? रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावरलाई कस्तो असर पार्छ? त्यसरी बेरिएर बालिएका तार र त्यसको प्रकाशले रुखलाई असर पार्छ कि पार्दैन, पार्छ भने कस्तो असर पार्ला? भन्ने पक्षमा अध्ययन गर्यो।
महानगरको त्यही समितिले त्यस्तो बत्तीले पैदलयात्रुदेखि सवारी चालकसम्म र वातावरणमा समेत नकारात्मक प्रभाव पारेको भन्दै बिजुलीको खम्बा र रुखमा मात्र नभएर कुनै पनि जात्रा वा चाडमा नराख्न सिफारिस गर्यो।
त्यही प्रतिवेदनको आधारमा महानगरले सात महिनापछि लहरे बत्ती राख्न नमिल्ने र राख्नुपरेमा वातावरण व्यवस्थापन विभागको अनुमति लिनुपर्ने मापदण्ड बनायो।
लहरे बत्ती बाल्न प्रतिबन्ध लगाए पनि जडान भइसकेका बत्तीबारे भने महानगर मौन छ।
पुष ४, २०८१ बिहीबार १७:४१:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।