आयुर्वेदिक चिकित्सक डा. शंकरको उपचार अनुभव : ढाडको नसा च्यापिएर थलिएका ७३ वर्षीय बाजे तीन हप्तामै ठमठम हिँडेपछि...
डा. शंकर प्रसाद रिजाल आयुर्वेद चिकित्सक हुन्। आयुर्वेदिक उपचारात्मक विधि अपनाई बिरामीको औषधि उपचार गरी रोग ठिक बनाउनु उनको चिकित्सकीय धर्म र कर्म हो। उनै डा. शंकरले चिकित्सकीय पेशाको सिलसिलामा देखेभागेका अनुभव उकेरासँग साटेका छन्।
झ्याइँकुटी पारेर अस्पताल ल्याइएका बाजे आयुर्वेदिक उपचारपछि ठमठम हिँड्न थाले
कालिकोटका एक जना बिरामी बाजेलाई उपचार गरेको प्रसङ्ग डा. शंकर कहिल्यै भुल्दैनन्। तीन वर्षअघि करिब ७३ वर्षका बाजेलाई उपचारका लागि कर्णाली प्रदेशको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा पुर्याइयो।
पूर्व गाविस अध्यक्षसमेत भएका ती बिरामी बाजे उपचारका लागि केही अस्पताल चाहरिसकेका थिए। स्वास्थ्य समस्याको पहिचानका लागि एमआरआई गरेका थिए। स्वास्थ्य परीक्षण गर्दा ती बाजेको ढाडको नसा च्यापिएको पत्ता लागेको थियो।
त्यसैले चिकित्सकहरूले शल्यक्रिया गरेर ढाडको नसा च्यापिएको समस्याको उपचार गर्नुपर्ने सुझाव दिएका थिए। तर, ती बाजेलाई भने शल्यक्रिया गर्न डर लागिरहेको थियो। शल्यक्रिया गर्न नपरे पनि हुन्थ्यो भन्ने बाजेको सोच थियो।
त्यसैले शल्यक्रिया नगरी ठिक हुने उपायको खोजी गर्दै ती बाजेलाई आफन्तले कर्णाली प्रदेशको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा पुर्याएछन्। डा. शंकरलाई अझै याद छ। ती बाजेलाई अटो (टेम्पो जस्तै एक प्रकारको सानो सवारी साधन) मा राखेर अस्पताल नजिक पुर्याएर अटोबाट ओरालियो। अनि दुई जना आफन्तले दुईपट्टि हातमा समाएर झ्यानाकुटी बनाएर बोकेर ती बाजेलाई अस्पताल भित्र लगे।
अस्पताल पुर्याउँदा ढाडको नसाको समस्याका कारण ती बाजे खुट्टा टेक्न सक्ने अवस्थामा थिएनन्। ओर्किन फर्किन समेत सक्ने अवस्थामा थिएन उनको। थला परेका बाजे शिथिल अवस्थामा थिए। त्यो बेला कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा डा. शंकर एक्लो आयुर्वेदिक चिकित्सकका रूपमा कार्यरत थिए।
त्यसैले अस्पतालको ड्युटीमा पनि उनी एक्लो चिकित्सकका रूपमा थिए। डा. शंकरले थला परेका ती ७३ वर्षीय बाजेको स्वास्थ्य अवस्था हेरे। अनि बाजेको समस्याका विषयमा सोध खोज गरे। अस्पताल पुर्याइएका ती बाजेले आफ्नो समस्याबारे बताउँदै उनलाई भनेछन्, ‘मलाई अप्रेशन गर्ने मन छैन। आयुर्वेदिक ओखतिमुलो गरेर रोग निको बनाइदिनुपरो डाक्टरसाप।’
त्यसपछि डा. शंकरले आयुर्वेदिक उपचारका विभिन्न उपचार विधि अपनाउँदा ती बाजेको ढाडको नसा च्यापिएको समस्या ठिक हुन सक्ने देखे। त्यसैले ती बिरामी बाजे र उनका आफन्तसँगको सल्लाहमा डा. शंकरले ढाडको नसा च्यापिएर थला परेका बाजेको आयुर्वेदिक विधिबाट अस्पतालमा उपचार शुरू गरिदिए।
बाजेको ढाडको उपचारका लागि ‘स्टिम बाथ’, ‘बस्ती’, ‘पोटली स्वेदन’, ‘पिण्ड स्वेदन’ जस्ता थेरापी तथा उपचारात्मक विधि अपनाइयो। आयुर्वेदिक तेलले मालिस गरियो। आयुर्वेदिक औषधिको प्रयोग गरियो। बाजेको बसाई अस्पताल नजिकै भएकाले अस्पताल भर्ना भने गरिएन। बाजेलाई शुरूमा दैनिक आफन्तले अस्पताल ल्याउँथे। अनि दैनिक करिब एक घण्टा उपचार गरेर घर लैजान्थे।
उपचार थालेको केही दिनपछि नै बाजेको समस्या केही कम हुँदै गयो। यसरी थेरापी तथा आयुर्वेदिक विधिबाट उपचार थालेको दुई हप्तापछि त ती बाजे लठ्ठीको सहाराले आफैँ हिँडडुल गर्ने र अस्पताल पनि एक्लै आउन जान सक्ने भए। उपचार थालेको तीन हप्तापछि त बाजे राम्रैसँग हिँडडुल गर्न सक्ने भए।
नसा च्यापिएर थला परेपछि झ्यानाकुटी पारेर बोकेर अस्पताल ल्याइएका ती ७३ वर्षीय बाजे आयुर्वेदिक उपचार थालेको तीन हप्तापछि नै ठमठम हिँडडुल गर्न सक्ने भए। थला परेका बाजे विनाशल्यक्रिया नै आयुर्वेदिक उपचार विधिले ठिक भएपछि खुसी नहुने कुरै भएन।
ती बाजे अहिले पनि बेला बेलामा फलोअपका लागि कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा पुग्छन्। अहिले ती बाजेको बेलाबेलामा सामान्य रूपमा ढाड दुख्ने बाहेक खासै समस्या छैन। हाल ती बाजे ७६ वर्ष पुगिसकेका छन्। पाको उमेरका ती बाजेको बेलाबेलामा घुँडा (गाँठा) दुख्ने समस्या हुन थालेको रहेछ।
अस्पतालमा पुगेका बेला ती बाजेले डा. शंकरलाई भेटेर ‘डाक्टर साप, ढाड दुख्न त ठिक भयो। तर, गाँठा (घुँडा)मा सर्यो मेरो दुखाइ’ भन्छन् रे। ती बाजेको घुँडाको समस्याको पनि उपचार भइरहेको र सामान्य अवस्थामा नै रहेको डा. शंकरले अनुभव सुनाए। अहिले ती बाजेले धेरै बिरामीलाई आयुर्वेदिक उपचारका लागि पठाउने गरेको उनले अनुभव सुनाए।
पाइल्सको भ्रममा परेकी महिलालाई फिस्टुलाको समस्याले तनाव
त्यसैगरी फिस्टुलाको समस्या भएकी एक जना महिलाको उपचार गरेको प्रसङ्ग पनि डा. शंकर कहिल्यै भुल्दैनन्। प्रसङ्ग करिब पाँच वर्षअघिको हो। करिब ३५ वर्षकी महिला पायल्सको समस्या भएको भन्दै उपचारका लागि कर्णाली प्रदेशको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा पुगिन्।
डा. शंकरले ती महिलाको स्वास्थ्य समस्याका बारेमा सोधे। लक्षणका आधारमा उनले ती महिलालाई फिस्टुला भएको हुनसक्ने अनुमान लगाए। त्यसपछि ती महिलालाई स्वास्थ्य परीक्षण गरेर मात्रै एकिन कारण पत्ता लगाउन सकिने भन्दै स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दिए।
ती महिला पाइल्स भन्ठानेर औषधि सेवन गर्दै बसिरहेकी थिइन्। विना स्वास्थ्य परीक्षण औषधि सेवन गर्दा-गर्दा ती महिलाको पैसा पनि मनग्यै सकिएको थियो। तर, समस्या जटिल भइसक्दा समेत ती महिला स्वास्थ्य परीक्षण गराउन अप्ठेरो मानिरहेकी थिइन्। निक्कै मिहिनेतका साथ सम्झाइबुझाइ गरेपछि भने ती महिला स्वास्थ्य परीक्षण गराउन तयारी भइन्।
स्वास्थ्य परीक्षणको क्रममा ती महिलाको गुदद्वारको छेउमा पिलो निस्किएको रहेछ। त्यो पिलोकै कारण ती महिलाको फिस्टुलाको समस्या भएको थियो। फिस्टुलाको कारण महिलाको पटकपटक संक्रमण भएर मलद्वारबाट पिप र रगत आउने समस्या थियो।
संक्रमणका कारण पिप जम्ने अनि असाध्यै दुख्ने र पाल्ने गर्थ्यो। जमेको पिप फुटेर निस्किसकेपछि केही दिन आराम जस्तो हुन्थ्यो। यसरी पिप जम्ने अनि फुट्ने प्रक्रिया भइरहन्थ्यो। यसरी फिस्टुलाको समस्याले ती महिला पीडित थिइन्।
त्यसैले ती महिलाको उपचारका लागि क्षारसुत्र विधि अपनाइयो। क्षारसुत्र विधिमा एक किसिमको आयुर्वेदिक औषधियुक्त (मेडिकेटेड) धागो हुन्छ। त्यही आयुर्वेदिक औषधियुक्त धागोको सहायताले उपचार गरिन्छ।
आयुर्वेदको शल्यचिकित्सा पद्यतीको क्षारसुत्रिय उपचारात्मक विधि अपनाएर उपचार थालेको करिब एक महिनामा त ती महिलाको फिस्टुलाको समस्या पूर्ण रूपमा ठिक भएको डा. शंकरले सुनाए। अहिले पनि ती महिला बेला-बेलामा फलोअपका लागि अस्पताल पुग्ने गरेको र समस्या समाधान गरिदिने चिकित्सकप्रति कृतज्ञ हुने गरेको उनले सुनाए।
दैलेखमा जन्म, छात्रवृत्तिमा बीएएमएस अध्ययन
डा. शंकर २०४७ मा दैलेखको हालको भैरवी गाउँपालिका-२ मा जन्मिएका हुन्। उनले आठ कक्षासम्म स्थानीय विद्यालयमा पढे। त्यसपछि उनले सुर्खेतको वीरेन्द्रनगरस्थित जन उच्च माविमा नौ कक्षामा भर्ना भएर पढ्न थाले। त्यहीँबाट उनले २०६३ मा एसएलसी गरे।
शंकरका बुवाको इच्छा छोरालाई आयुर्वेदको डाक्टर बनाउने थियो। बुवाको इच्छा अनुसार उनलाई पनि एसएलसीपछि आयुर्वेद क्षेत्रमा प्रवेश गर्ने रहर जाग्यो। त्यसैले शंकरले दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको जनता विद्यापीठबाट आयुर्वेद विषयमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गरे।
आयुर्वेद विषयमा प्रवीणता प्रमाणपत्र अध्ययन गरेपछि शंकरले त्रिभुवन विश्वविद्यालय अन्तर्गत वीरगञ्जस्थित नेपाल आयुर्वेद मेडिकल कलेजमा २०६७ मा आयुर्वेदिक चिकित्सा विषय ‘ब्याचलर्स इन आयुर्वेद मेडिसिन एण्ड सर्जरी’(बीएएमएस) अध्ययनका लागि भर्ना भए।
२०७३ मा उनको बीएएमएस अध्ययन पूरा भयो। शंकरले बीएएमएस नेपाल सरकारको छात्रवृत्ति कोटामा अध्ययन गरेका रहेछन्। छात्रवृत्ति कोटामा बीएएमएस अध्ययन गरेवापत उनले दुई वर्ष अनिवार्य छात्रवृत्ति करारमा काम गर्नुपर्ने थियो। त्यसैले डा. शंकर सुर्खेतको तत्कालीन भेरी अञ्चल आयुर्वेद औषधालयमा गएर दुई वर्ष छात्रवृत्ति करारमा काम गर्न पुगे।
त्यसैगरी २०७५ मा डा. शंकर लोकसेवामार्फत आठौं तहको स्थायी आयुर्वेद चिकित्सकका रूपमा सरकारी जागिरमा प्रवेश गरे। सरकारी जागिरे भएपछि उनी पहिलो पोष्टिङ भएर पुनः छात्रवृत्ति करारमा काम गरेकै तत्कालिन भेरी अञ्चल आयुर्वेद औषधालयमा नै पुगे।
सरकारी जागिरे भएपछि भेरी अञ्चल आयुर्वेद औषधालयमा डा. शंकरले कार्यालय प्रमुखको जिम्मेवारी पाएर काम गर्न थाले। २०७५ मा नै उनले करिब तीन महिना तालिमको शिलशिलामा स्वास्थ्य मन्त्रालयमा काम गरे।
संघीयताको कार्यान्वयनसँगै भेरी अञ्चल आयुर्वेद औषधालयको नाम ‘सुर्खेत आयुर्वेद औषधालय’का रूपमा परिवर्तन भयो। त्यसपछि फेरि नाम परिवर्तन गरेर ‘प्रदेश आयुर्वेद औषधालय’ बनाइयो। फेरी २०७९ मा कर्णाली , प्रदेश आयुर्वेद औषधालयको नाम परिवर्तन भएर ‘प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र भएको छ।
डा. शंकर यो केन्द्रको निमित्त निर्देशकको भूमिकामा कार्यरत छन्। यसरी हेर्दा स्वास्थ्य मन्त्रालयमा तीन महिना हाजिर भएको समय बाहेक आठ वर्ष यता छात्रवृत्ति करारमा काम र सरकारी जागिरमा प्रवेश गरेदेखि डा. शंकर निरन्तर हालको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा नै कार्यरत छन्। उनले विभिन्न पुरस्कार समेत पाएका छन्।
कर्णाली प्रदेशको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा विशेषगरी कम आर्थिक अवस्था भएका बिरामी उपचारका लागि आउने गरेको उनले अनुभव सुनाए। त्यसैगरी कयौं बिरामी अन्यन्त्र कतै रोग ठिक नभएपछि ‘एक पटक आयुर्वेदको डाक्टरलाई पनि देखाइहेरौँ न त’ भन्ने किसिमले पनि आउने गरेको उनको अनुभव छ।
आयुर्वेदमा चमत्कारको भ्रम छर्दा बदनाम
कयौं उपचारमा आयुर्वेद उपचार पद्यती तथा विधि अब्बल भएपनि यो उपचारात्मक क्षेत्रमा पर्याप्त सरकारी प्राथमिकता लगायतको अभावका कारण समेत समस्या भइरहेको डा. शंकरको अनुभव छ।
त्यसैगरी कतिपयले क्षणिक आर्थिक लाभ लिन सतप्रतिशत रोग निको हुने भन्दै आयुर्वेदिक उपचारको विषयमा भ्रमित किसिमले प्रचारप्रसार गर्दा समेत यो क्षेत्र बदनाम भएको उनको बुझाई छ। त्यसैले क्षणिक रूपमा आर्थिक लाभका लागि आयुर्वेदिक औषधि तथा उपचारात्मक विधिले चामत्कारिक रूपमा रोग ठिक हुने भन्दै बिरामीलाई भ्रममा नपार्न समेत डा. शंकरको अनुरोध छ।
कुनै पनि चिकित्सा विधामा उपचारपछि शतप्रतिशत बिरामी ठिक बनाउन सकिन्छ नै भन्ने एकिन हुँदैन। कुनै पनि चिकित्सा पद्यती तथा विधि पूर्ण छैन। आकस्मिक उपचार र शल्यक्रिया नहुने हो भने आधुनिक चिकित्सकीय विधि पनि अपांग हुने हुनसक्ने डा. शंकरको बुझाइ छ।
रोगै लाग्न नदिने अनि रोग लागिहालेको खण्डमा समेत रोगको उपचार गर्नु आयुर्वेदको मुख्य उदेश्य हुने गरेको उनी बताउँछन्। त्यस्तैले आयुर्वेद आफैँमा उपचार मात्रै नभएर जीवन पद्दती समेत भएको उनको विश्लेषण छ।
पेट रोग, पिनास, घुँडा तथा जोर्नी सम्बन्धी समस्या, बाथ, छाला जस्ता समस्याको उपचारमा आयुर्वेदिक उपचार विधि निकै प्रभावकारी रहेको डा. शंकरको अनुभव छ।
त्यसैगरी पायल्स, फिस्टुला जस्ता समस्यामा क्षार सुत्र आयुर्वेदिक विधि प्रभावकारी हुने गरेको उनले अनुभव सुनाए। तर, आकस्मिक रूपमा उपचार गर्नुपर्ने स्वास्थ्य समस्याको उपचारका लागि भने स्वास्थ्य समस्याको अवस्था अनुसार आधुनिक चिकित्सा विधिलाई नै प्राथमिकता दिनुपर्ने हुनसक्ने उनले बताए।
डा. शंकर आफ्नो ज्ञान तथा सीप र आयुर्वेदिक विधाले उपचार नहुने अवस्थामा बिरामीलाई आधुनिक (एलोपेथिक) चिकित्सककहाँ रेफर गर्छन्। पैसाको लोभका कारण व्यक्तिलाई आयुर्वेदले नै ठिक हुन्छ भनेर भ्रममा पार्न नहुने विषयमा उनी प्रष्ट छन्।
यो उपचार विधालाई विश्वसनीय बनाउन औषधिको गुणस्तरीयतामा थप ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको सुझाव छ। डा. शंकर आयुर्वेदिक औषधिलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा जीवनशैली सहज बनाउने सहयोगी औषधिका रूपमा समेत लिन्छन्।
कात्तिक १७, २०८१ शनिबार १०:३८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।