इजरायली आक्रमणमा पूर्वी बेका उपत्यकामा ६० जनाको मृत्यु भएको लेबनानको दाबी

इजरायली आक्रमणमा पूर्वी बेका उपत्यकामा ६० जनाको मृत्यु भएको लेबनानको दाबी

एजेन्सी : लेबनानको स्वास्थ्य मन्त्रालयले देशको पूर्वी बेका उपत्यकामा इजरायली आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको जनाएको छ। जसमा दुई बालबालिका पनि छन्।

यो क्षेत्र हिजबुल्लाहको गढ हो। स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका १२ स्थानमा भएका आक्रमणमा ५८ जना घाइते भएका छन्।

यद्यपी इजरायली सेनाको तर्फबाट यस आक्रमणको कुनै प्रतिक्रिया आएको छैन।

गत पाँच हप्तामा इजरायलले लेबनानका विभिन्न क्षेत्रमा हजारौं हवाई आक्रमण गरेको छ। यसले हिजबुल्लाहका आधार, पूर्वाधार र हतियारलाई लक्षित गरेको बताएको छ।

इजरायल र प्यालेस्टिनी समर्थक हिजबुल्लाहबीच अक्टोबर ८, २०२३ देखि लेबनानको सीमानामा द्वन्द्व चलिरहेको छ।

यसदिन, लेबनानी सशस्त्र समूह हिजबुल्लाहले लेबनानसँग जोडिएको उत्तरी इजरायलमा रकेट प्रहार गरेको थियो।

त्यसको एक दिनअघि अक्टोबर ७, २०२३ मा हिजबुल्लाहको सहयोगी हमासले दक्षिणी इजरायलमा ठूलो हमला गरेको थियो।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक वर्षमा लेबनानमा इजरायली हमलामा २६ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १२ हजारभन्दा बढी घाइते भएका छन्।

कात्तिक १२, २०८१ मंगलबार १३:५८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।