मदन भण्डारी राजमार्गले पश्चिम सुर्खेतमा जगाएको आशा !
सुर्खेत : सडक सञ्जाल र अन्य विकासका दृष्टिकोणबाट सुर्खेतलाई वीरेन्द्रनगरदेखि पूर्व र पश्चिम गरि दुई भागमा हेरिन्छ। पश्चिमको तुलनामा पूर्वी सुर्खेतमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा राम्रो सुविधा छ।
छिन्चु-जाजरकोट-डोल्पा सडकमार्ग र नेपालगञ्ज-सुर्खेत रत्न राजमार्ग पूर्वी सुर्खेतमै पर्छ। अन्तरजिल्ला जोड्ने यी सडकसँगै गाउँबस्ती जान बनाइएका साना सडकले पूर्वी सुर्खेतमा यातायातको पहुँच पनि पर्याप्त छ। त्यति मात्रै नभएर मदन भण्डारी राजमार्ग समेत एक-दुई ठाउँ बाहेक सम्पन्न भइसकेको अवस्था छ।
पूर्वी सुर्खेतको भागलाई समग्रमा वीरेन्द्रनगरपछिको सुर्खेतकै विकसित क्षेत्रका रूपमा समेत हेर्ने गरिएको छ। सडक, विद्युत र सञ्चार लगायत समग्र अन्य विकासका दृष्टिकोणले वीरेन्द्रनगरदेखि पश्चिमको भाग पिछडिएको नै छ।
सुदूरपश्चिमसँग जोडिएका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिका छेउका धेरै बस्ती अति दुर्गम छन्। बराहतालको केही भागलाई मात्रै कर्णाली राजमार्गले छुन्छ। तर, पछिल्लो समय मदन भण्डारी राजमार्गले भने पश्चिम सुर्खेतका नागरिकलाई आशा जगाएको छ।
मदन भण्डारी राजमार्गको पश्चिमी खण्डमा पछिल्लो समय तीव्र गतिमा काम भइरहेको छ। केही खण्डमा स्तरोन्नतिदेखि कालोपत्रसम्मको ठेक्का भएको छ। मदन भण्डारी राजमार्गको पश्चिम सुर्खेतमा पर्ने खण्डको शुरूवाती कामले स्थानीयमा आशा समेत जगाएको छ। बड्डीचौर-खम्बागाडे सडकमा केही ढिलाइ भए पनि खम्बाडे-गुटु र बल्देसम्म सडक तीव्र गतिमा काम भइसकेको छ। बल्देबाट लगामसम्मको पनि ठेक्का प्रक्रिया अगाडि बढेको छ।
चौकुने गाउँपालिका-२ लगामका जय विकले मदन भण्डारी राजमार्ग समयमा बनेपछि पश्चिम सुर्खेतको मुहार फेरिनेमा आशावादी छन्।
‘अहिले सदरमुकाम वीरेन्द्रनगरसम्म पुग्न पनि दिनभर गाडी चढ्नुपर्छ। त्यो पनि हिउँदमा मात्रै, बरू हिँडेरै एक दिनमा कैलाली पुग्न सकिन्छ,’ उनले भने, ‘यो सडक पिच भएमा तीन घण्टामा सदरमुकाम पुगिन्छ। त्यसो भए यहाँको उत्पादन पनि बिक्री हुन्थ्यो कि!’
अहिले भान्सामा चाहिने नुनदेखि बिरामी पर्दा समेत उपचार गर्न कैलाली जाने गरेको उनले सुनाए।
मदन भण्डारी राजमार्ग सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिममा मात्र ११६ किलोमिटर पर्छ। त्यसभित्र पनि वीरेन्द्रनगरदेखि बड्डीचौरसम्मको २९ किलोमिटर खण्ड कर्णाली राजमार्गमै पर्छ। त्यसबाहेकको ८७ किलोमिटरमध्ये लगामसम्मको खण्डमा कतै काम भइरहेको छ भने कतै प्रक्रियामै छ।
बड्डीचौरदेखि लगामसम्मको ६० किलोमिटर खण्डभित्रको केही खण्डमा ठेक्का भएर काम भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका इन्जिनियर रेशम वलीले बताए।
इञ्जिनियर वलीका अनुसार राजमार्गकै बड्डीचौर-खम्बागाडे सडकको १३.१ किलोमिटर सडक कर्णाली प्रदेश सरकारले निर्माण गरिरहेको छ। यस्तै खम्बागाडे-विद्यापुर १०.३ किलोमिटर र विद्यापुर-गुटु-बिजौरा-बल्दे २२ किलोमिटर मदन भण्डारी राजमार्ग आयोजनाले निर्माण गरिरहेको छ।
यस्तै बल्देदेखि लगामसम्म १५ किलोमिटर ठेक्का भइसकेको छ भने लगाम-धनरास-धामीसैन-पाल्पाघाटसम्मको करिब २५ किलोमिटरमध्ये १८ किलोमिटर सडक खण्डको डीपीआर सम्पन्न भएर स्रोत सुनिश्चितताको क्रममा छ। बल्देदेखि लगामसम्मको १५ किलोमिटर खण्डमा पनि प्रक्रिया अगाडि बढिरहेको छ। लगामदेखि बेनीघाटसम्मको २७ किलोमिटरको प्रक्रिया पनि अगाडि बढिरहेको छ।
चौकुने-१ बडासेनका चक्र साउदले बाटोकै कारण सामान्य नागरिकता बनाउन समेत १० हजार रुपैयाँसम्म लाग्ने गरेको बताए। नागरिकता बनाउन, मुद्दा मामिला गर्न र अन्य सरकारी कामकाजका लागि सदरमुकाम जान खर्चिलो छ।
‘नागरिकता बनाउन जाँदा पनि यहाँबाट एक हजार रुपैयाँ त भाडा नै छ। गएर होटेलमा बस्दा खाँदा त हामीलाई सदरमुकाम महंगो पर्छ,’ उनले भने, ‘बाटो बनेपछि त बिहान गएर कामकाज गरेर साँझ घर फर्किन सकिन्छ।’
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका अधिकांश वडा कैलाली, डोटी र अछामसँग जोडिएका छन्। त्यहाँका कयौँ गाउँमा यातायात र अन्य पूर्वाधारको समस्या छ। सहज यातायातको सहज पहुँच नभएको पश्चिम सुर्खेतका लागि मदन भण्डारी राजमार्ग लाइफलाइनका रूपमा रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क बिकले बताए।
‘अहिले पनि पश्चिममा बाख्रापालन, केराखेती, खाद्यान्न, तरकारी-फलफूल खेतीमा राम्रो गरेका परिवार छन्, राम्रो सडकको पहुँच नहुँदा उत्पादनको बजारीकरण हुन सकेको छैन,’ अध्यक्ष विकले भने, ‘यो राजमार्ग समयमा नै बनेपछि यहाँको जीवनशैली नै बदलिदिनेछ।’
केहि दिनअघि मात्रै पूर्वउपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का पहिलोपटक पश्चिम लगामसम्म सडक अनुगमनका क्रममा पुगेका थिए। त्यसक्रममा उनले सुर्खेतको पश्चिम क्षेत्रको विकास र समृद्धिका लागि आफू निरन्तर क्रियाशील रहेको बताए। उनले पश्चिम क्षेत्रको विकास र समृद्धिको मार्गका रूपमा रहेको मदन भण्डारी राजमार्गलाई पूर्णता दिन आफू निरन्तर लागिपरिहेको बताए।
पश्चिम खण्डमा निर्माण भइरहेका सडक खण्डको अनुगमनपछि उपसभापति खड्काले सडक निर्माणका क्रममा देखिएका समस्या समाधान गर्दै तोकिएकै समयमा सम्पन्न गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए।
‘सडक निर्माण सम्पन्न नहुँदासम्म पटक-पटक यो क्षेत्रमा आएर निरन्तर अनुगमन गर्ने छु। देखिएका नीतिगत र प्राविधिक समस्या समाधानमा लाग्ने छु,’ उनले भने, ‘मदन भण्डारी राजमार्ग पश्चिम सुर्खेतको विकासको मेरुदण्ड हो, समयमै सम्पन्न गर्न सम्पूर्ण रुपमा लाग्नेछु।’
झापाको शान्ति नगरदेखि भित्री मधेशका १४ जिल्ला हुँदै डडेल्धुराको रूपालसम्म जोड्ने करिब एक हजार दुई सय किलोमिटर मदन भण्डारी राजमार्गको सुर्खेत पूर्वको मध्य भागदेखि पश्चिमको छेउसम्म एउटा खण्ड पर्छ।
कात्तिक १२, २०८१ मंगलबार १२:५५:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।