काेराेनाले व्यवसाय डुबेपछि विदेश जान नमानेर स्वदेशमै 'गाईको गोबर सोहोर्न' राजी भएका बलबहादुर

काेराेनाले व्यवसाय डुबेपछि विदेश जान नमानेर स्वदेशमै 'गाईको गोबर सोहोर्न' राजी भएका बलबहादुर

सुर्खेत : दाेस्राे चरणकाे काेराेना महामारीभन्दा पहिले वीरेन्द्रनगर नगरपालिका-१० बामेखाेलाका ४० वर्षीय बलबहादुर घर्तीको आफ्नै बेल्डिङ्ग (ग्रिल) पसल थियाे। उनले चार वर्षसम्म पसल राम्रै चलाए। मासिक ७० हजार रूपैयाँसम्म नाफा कमाए पनि। त्यसबाट उनकाे जिविका चलेकाे थियाे। 

तर, काेराेना महामारीपछि बजार बन्द भयाे। पूर्वाधार विकासका काम राेकिए। जसले गर्दा उनकाे पसलसँगै उधाराेमा काम गरेकाे पैसासमेत धरापमा पर्याे। उधाराे रकम ६ लाख रूपैयाँ अहिलेसम्म पनि असुली गर्न नसकेको उनको गुनासो छ। 

त्यसपछि बलबहादुरकाे परिवार चलाउन समस्या भयाे। घरभाडा र साहुलाई पैसा तिर्नै नसक्ने अवस्था आएपछि उनले जागिरसँगै सेवा गर्ने याेजना बनाए। त्यही अनुसार दुई वर्षअघि सुन्दर कर्णाली गाैशाला तथा सरसफाई व्यवस्थापन बहुउद्देश्यीय सहकारी संस्थाद्वारा वीरेन्द्रनगर-११ मा सञ्चालित गाेशालामा काम गरे। 

'काेराेना महामारीपछि लुकीछिपी काम गराैं भनेपनि फलामबाट बढी काेराेना आउँछ भनेर प्रशासनले कडाई गर्दा काम गर्न पाइएन, बलबहादुरले भने, पसल बन्द भएपछि काम गरेकाे पैसा पनि उठेन। सामानकाे पैसा र घरभाडा दिन समस्या भएपछि व्यवसाय नै छाेडेर सेवासहितकाे राेजगारीमा लागें।'

बलबहादुर जब व्यवसाय बन्द भएर १ वर्ष बेरोजगार थिए तब उनलाई छिमेकी र दाजुभाइलेसमेत राेजगारीका लागि भारत वा अन्य देश जान दबाब दिन्थे। तर, बलबहादुर बाहिर नगएर आफ्नै देशमा गाेबर साेर्न राजी भए। किनभने त्यसअघि पाँच वर्ष बलबहादुर भारतमा मजदुरी गरेर फर्केका थिए। त्यहाँबाट फर्केपछि भारत नजाने याेजनाका साथ ग्रिल पसल सञ्चालन गरेका थिए।

'मैले जे काम गरेपनि आफ्नै देशमा गर्छु भनेर गाेशालामा गाेबर साेरेर सेवासहितकाे राेजगारीमा लागेकाे हुँ, उनले भने, अहिले दुवै जना यहीँ काम गर्छौं। आफ्नै गाउँठाउँमा परिवारसँगै खुसी र सन्तुष्ट छाैं।

गाैशालामा १७ हजार रूपैयाँ मासिक तलब थियो बलबहादुरको। आफूले काम गरेकाे एक वर्षपछि सहकारीसँग अनुराेध गरेर श्रीमती नरपता घर्तीलाईसमेत गाैशालामा काम लगाए। दुवै जनाकाे मासिक तलब अहिले १७ हजारका दरले जम्मा ३४ हजार आउँछ। जसले उनीहरुकाे घर व्यवहार मात्रै हाेइन, बैंकमा पैसासमेत बचत भएको छ।  

उनको दुई छाेरा र श्रीमतीसहित चार जनाकाे परिवार छ। दुई वर्षअघि उनका जेठा छाेरा नेपाल प्रहरीमा छनाेट भइसकेका छन्। कान्छा छाेरा प्राथमिक तहमा अध्ययन गर्दैछन्। उनी गाैशालाबाटै बस चढेर स्कुल जान्छन्। गाेशालामा नै बलबहादुर दम्पतिकाे बसाइ छ। 

२०७८ सालमा स्थापना भएको गाैशालामा १ सय ५० गाई, गाेरू र बाच्छा छन्। दिउँसो गाइवस्तुलाई वनमा चराउन लिएपछि गाेबर सफा गर्ने र साँझकाे घाँसपातमा उनीहरू व्यस्त हुन्छन्। गाई गाेरू वनमा चराउनका लागि दुई जना हेरालुसमेत छुट्टै छन्। बलबहादुर दम्पतिकाे काम भने गाैशालाभित्र मात्रै हाे।

गाैशाला व्यवस्थापन सहकारीले गर्छ भने आर्थिक सहयोग नगरपालिकाले गर्दै आएको छ। गौशालाबाट उत्पादन हुने जैविक मलसमेत बिक्री गरिन्छ। जसबाट भएको आम्दानीले गाई गाेरूका लागि समुदायसँग घाँस खरिद गरिन्छ। 

कात्तिक ११, २०८१ सोमबार १९:००:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।