काठमाडौं विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सकियो
काठमाडौं : काठमाडौं विश्वविद्यालयमा शुक्ररबारदेखि सुरू भएको २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन सम्पन्न भएको छ।
काठमाडौं विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्ड (मेलो)’ को संयुक्त आयोजनामा शुक्ररबारदेखि सुरू भएको सम्मेलन आइतबार सकिएको हो।
प्राध्यापक रामचन्द्र पौडेलद्वारा सञ्चालित सम्मेलनको अन्तिम सत्र 'भिजन अफ नेचरस् स्पेस, ल्यान्डस्केप एण्ड फरेस्ट्स इन स्याक्रेड एण्ड लिटररी ट्रेडिसन्स' मा प्राध्यापक कृष्णचन्द्र शर्माले वातावरण र मानव सभ्यताको महत्वमाथि वेदको सन्दर्भ लगायतको चर्चा गरेका थिए।
त्यसैगरी प्राध्यापक आनन्द शर्माले पारिस्थितिक पद्धति र कथा बाचनको परम्परा कायम राख्न रूखले खेल्ने भूमिका बारे चर्चा गरे।
अमेरिकन लेखिका लेस्ली मेर्मोन सिल्कोद्वारा लिखित पुस्तक सेरमनीको प्रसङ्ग दिँदै उनले भने, 'कथाहरू नहुँदा मान्छेसँग केही रहँदैन। जब हामीसँग रूख हुँदैनन्, अनि कथाहरू कसरी बन्लान्।
त्यस्तै, प्राध्यापक जीवलाल सापकोटाले पर्यावरणमा स्थानको महत्वबारे चर्चा गर्दै पर्यावरण साहित्य, समालोचना र समालोचकहरूको सन्दर्भ जोड्दै विकासको कारणबाट उब्जने प्रकृति माथिको अधीन नै विनाशको कारक बन्न नहुने तर्क राखे।
सम्मेलनको अन्त्यमा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले मानविकी सङ्कायमा उच्च तहका कार्यक्रम र नयाँ पाठ्यक्रमहरू सञ्चालन गर्दै आएको बताउँदै विश्वविद्यालयको स्कुल अफ आर्ट्स अन्तर्गत कला, साहित्य, र भाषा जस्ता विषयहरूलाई प्राथमिकतामा राखिएको जानकारी गराए।
यसैबीच, मेलोकी अध्यक्ष प्राध्यापक डा मञ्जु जाइड्काले नेपालमा पहिलो पटक मेलो सम्मेलन सम्पन्न भएकोमा काठमाडौं विश्वविद्यालय परिवारलाई बधाई दिइन्।
कार्यक्रममा भेलर इन्स्टिच्युट अफ टेक्नोलोजी, आन्ध्र प्रदेश भारतकी सहायक प्राध्यापक ऋतु भार्गिजलाई उनको शोध 'मिरामाइस इन वृन्दावनस् रिडिङ्ग भक्ति, स्पासियलिटी एण्ड ट्रमा इन के आर मिराज द पोइजन अव लभ'का लागि आइएसएम अवार्ड पनि प्रदान गरिएको थियो।
कार्यक्रमको समापन गर्दै केयू स्कुल अफ म्यानेजमेन्टका असोसिएट डीन डा. खगेन्द्र आचार्यले सम्मेलनको प्रसारण प्रवर्द्धनमा भएको सहयोगप्रति केयूका सञ्चाकर्मीहरुलाई धन्यवाद दिए।
यस अन्तर्राष्ट्रिय सम्मेलनका मिडिया संयोजक काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्ट्सका असोसिएट प्रोफेसर डा. काशीराज पाण्डेले विश्वविद्यालयले साहित्य र संस्कृतिसँग पर्यावरणीय अवस्थालाई जोडेर गरेको यो कार्यक्रम सफल र परिणाममुखी भएको जानकारी दिए।
‘मेलो’ सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रुपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के-कस्ता प्रभाव पार्छन् भन्नेलगायत छलफलका विषय समावेश गरियो। यो अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा करिब ८० राष्ट्रिय र एक सय २० अन्तर्राष्ट्रिय गरी जम्मा दुई सय सहभागीहरू हुनुहुन्थ्यो भने करिब एक सय २० वटा कार्यपत्रहरू प्रस्तुत भए।
प्रस्तुत कार्यपत्रहरूले वातावरण, पहिचान, आध्यात्मिकता, काल्पनिकता, वन-बाटिका, वन्यजन्तु तथा प्राकृतिक दृश्य र सौन्दर्य जस्ता उप-शिक्षकहरूमा भएका अनुसन्धानहरूको चर्चा गर्दै साहित्यिक कृति र जनजातीय परम्पराहरूको विभिन्न पृष्ठभूमिलाई उजागर गर्ने विश्वास लिइएको छ। सम्मेलनमा पहाड र पर्वतारोहण, समतल क्षेत्र र सम्भावनाहरू, मरुभूमि, उजाडपन, रहस्य, जोखिम, नदी र तिनीहरूका प्रतिबिम्बहरू, महासागरहरू तथा नियात्रा जस्ता विषयहरू समेत समेटिए।
सम्मेलनले साहित्य, संस्कृति लगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाँ बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव, संस्कृति र पर्यावरणको सम्बन्धको खोज र विश्लेषणमा नयाँ दिशा दिने विश्वास लिइएको छ।
असोज १९, २०८१ आइतबार १९:०९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।