डेढ महिनासम्म पनि बनेन टुकुचाले भासिएको सडक, डिभिजन प्रमुख भन्छन्- ‘न्युरोड टालेजस्तो हैन नि!’
बिहानको खाना खाने समयमा भिड हुने कमलादी स्थित ‘साजन गोठ’ डेढ महिनादेखि सुनसान छ। दैनिक सयौं ग्राहक आउने यहाँ आजकल ग्राहकहरू बिरलै छिर्ने गर्छन्। त्यसको कारण हो, काठमाडौं महानगरपालिकाको ढोकै अगाडिको सडक। साउन २३ गते टुकुचा भनेर चिनिँदै आएको इच्छुमतिको पानीको बहाव बढ्दा यहाँको सडक भासियो। त्यस दिनदेखि यहाँको सडक पूरै ठप्प छ।
सात वर्षदेखि सञ्चालनमा रहेको ‘साजन गोठ’मा कोभिडको समय बाहेक व्यापारमा यस्तो घाटा बेहोर्नु नपरेको म्यानेजर प्रमोद खनाल बताउँछन्। कोभिडको समयमा संसारभरका बजार ठप्प हुँदा आफ्नो पनि भएकोमा खासै चित्त दुखाइ नभए पनि अहिले भने ‘साह्रै’ अप्ठ्यारो परेको उनको भनाइ छ।
‘अहिले साच्चै भन्नुपर्दा त हामीलाई जति घाटा यसले कसलाई पारेको होला र! जुन दिन सडक भासियो त्यही दिनदेखि नै हामी त मारमा छौँ,’ म्यानेजर खनाल भन्छन्, ‘यो डेढ महिनामा हाम्रो ग्राहक ६० देखि ७० प्रतिशत कम भएका छन्। यो बन्न अझै तीन महिना लाग्छ रे। बन्यो भने त ठिकै छ। बनेन भने त पसल बन्द गर्न बाहेक हामीसँग उपाय नै छैन।’
उनले यस विषयमा महानगरसँग गुनासो गरेका रहेछन्। तर, महानगर मातहतमा नपर्ने भन्दै केही गर्न नसकिने भन्ने जवाफ पाए। उनले आफ्नो घरबेटीलाई पनि यसबारे जानकार गराए। घरबेटी वडा र सडक डिभिजनसम्म बुझ्न गएका रहेछन्। तर, उताबाट पनि लामै समय लाग्ने कुरा भएपछि उनी व्यवसाय नै बन्द गर्नुपर्ने त हो कि भन्ने त्रासमा छन्।
टुकुचाले सडक भासिएपछि यसप्रति चौतर्फी चासो बढ्यो। सडक विभाग र महानगरपालिकाको प्रमुख बालेन्द्र शाह(बालेन)बीच सामाजिक सञ्जालमा द्वन्द भइरहेको अवस्थामा महानगरकै कार्यालय अगाडि बाटो नै बन्द हुने गरेर ठूलो भ्वाङ पर्यो। जसको सम्पूर्ण अधिकार सडक डिभिजन कार्यालय काठमाडौं मातहत छ।
झन् कमजोर हुँदै सडक
सडक डिभिजन कार्यालयले तत्काल अनुगमन गर्ने बाहेक ‘फिल्ड’को काम भने छोएकै छैन। भासिएको ठाउँमा शुरूमा एउटा मात्र भ्वाङ परेकोमा अहिले भने दुईटा ठूलो भ्वाङ देखिन्छ। त्यहाँको अवस्था पहिलाको भन्दा झन् भयावह छ।
उकेराकर्मी भाँसिएको ठाउँमा पुग्दा वरपर भागहरूमा चिरा परि बिजुलीको पोलहरूनै तल खसेको देखियो। माटो संरक्षित गर्नको लागि बनाइएका पर्खालहरू समेत चर्किएको छ भने पर्खालको इँटाको केही अंशहरू पनि पानीसँगै बगेर टाढासम्म पुगेको छ।
भाँसिएको सडक हेर्नको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव र सडक विभागका महानिर्देशक सहितको टोली साउन २५ गते त्यहाँ पुगेका थिए। तर, ‘थप क्षति हुने अवस्था रहेको’ भन्दै बनाउन लागि ठेकेदार खोज्न थालियो।
ठेक्काको लागि डिभिजनले साउन ३० गते सूचना पनि प्रकाशित गर्यो। त्यसको करिब एक महिनापछि भदौ २८ मा आएर बल्ल टेन्डर आह्वान गर्यो । तर, सम्झौता भने अझैसम्म पनि गरिसकेको छैन।
‘यसबीचमा अरु ठाउँमा भ्वाङ परेको सडक बन्ने हाम्रोमा किन नबन्ने?’, ‘किन ढिला गरेको?’ भन्ने जस्ता प्रश्न डिभिजनसम्म पनि पुगेको रहेछ। तर, डिभिजन भने तत्काल बनाउनपट्टि लागेको भए झन् ठूलो क्षति हुनसक्ने बताएर फर्काएको रहेछ।
डिभिजन प्रमुख नारायणदत्त भण्डारी भन्छन्, ‘हामीले ढिला गर्ने भनेर ढिला गरेको होइन। हामीले नियम अनुसार नै जाने भनेर काम अगाडि बढाउँदा यति समय लागेको हो। प्राविधिक हिसाबले पनि यो केस जटिल छ।’
विज्ञहरूको परामर्शकै आधारमा यसलाई तत्काल त्यत्तिकै छोड्ने र बर्खा अलि कम भएपछि काम सुरु गर्ने निर्णय भएको उनले बताए।
‘भोलिपल्टै किन गरेन? अरु ठाउँमा बनिसक्यो! भन्ने कुरा आयो। तर हामीले तत्काल त्यो खोला खोलेको भएर खोलाको संरक्षण हुने थिएन। खोलाले अर्कै रूप लिन सक्थ्यो’, उनले भने।
बालेन मेयर भएदेखि घर खाली !
उनले त्यहाँ थप क्षति हुन नदिनको लागि तत्काल केही गरेको भने पनि सडक भने पहिलाको भन्दा कमजोर हुँदै गएको देखिन्छ। बाटो बन्द भए पनि त्यहाँ पैदलयात्रीहरू भने सडकपेटीमा डराइ-डराइ हिँडिरहेको पाइयो।
भ्वाङ परेकै अगाडि भने एउटा घर नै खाली भइसकेको रहेछ। उक्त बन्द घरनजिकै बस्ने अन्य पसलेहरूका अनुसार बालेनले टुकुचा खोल्ने भन्दै जय नेपाल हल अगाडि डोजर चलाएदेखि नै यो घर खाली छ।
अदालतले स्टे अर्डर गरेर घरधनीहरूकै पक्षमा फैसला सुनाएपछि भने यहाँको घरधनी बीच-बीचमा घर हेर्न आइरहन्थे। मुद्दा परेपछि यो घर बेच्न चाहे पनि घरधनीले बेच्न नसकेको रहेछन्। अहिले घर पूरै सुनसान देखियो। फलामको गेटभित्र चियाउँदा बा दुई च ४६२३ नम्बरको सानो कर बाहेक अरू खासै केहि देखिँदैन।
गेट अगाडि नै भ्वाङ् परेपछि भने वरपर कसैले यहाँको घरधनी देखेका छैन रे। उकेराले उक्त घरको घरधनीसँग सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन सकेन।
समन्वय गर्न पुरातत्व सक्रिय
भासिएको सडकबारे पुरातत्व विभागले पनि चासो देखाइरहेको छ। सडकको स्ल्याब भन्दा मुनि टुकुचाको दाँयाबायाँ तर्फ भत्किएको इँटाको संरचना राणाकालमा बनेको पुरातात्विक महत्वको भएको हुँदा उक्त संरचना मौलिक स्वरूपमा संरक्षणका लागि पुरातत्वले पनि समन्वय गर्न भनेको छ।
उसले त स्थलगत निरीक्षणको प्रतिवेदन समेत सडक डिभिजनलाई बुझाएको पाइयो। तर, सडक डिभिजन र पुरातत्वले संयुक्त रूपमा भने अझै सम्म पनि अवलोकन गरेको छैन। अब टेन्डरको सम्झौता भएपछि हुने काममा पुरातत्वको प्रतिनिधि पनि राखेर काम सुरू गर्ने डिभिजन प्रमुख भण्डारीले बताए।
‘न्युरोडको जस्तो सडक टाल्ने काम होइन नि यो। यो त राम्रोसँग बनाउनै पर्नेछ,’ भण्डारी भन्छन्, ‘सार्वजनिक खरिद नियमानुसार अब हामी अन्तिम चरणमा छौँ। यो सकिने बित्तिकै हामी फिल्डमा देखिने गरेर कम गर्छौँ। त्यो ठाउँ नै एकदम कमजोर भएको कारण प्राविधिक रूपमा बलियो कम गर्नुपर्नेछ। अबको तीन महिनामा त्यहाँ गाडी कुद्ने बाटो बन्छ।’
‘अहिले भाँसिएको सडकको तल्लो भाग नै टुकुचाको अर्धगोलाकार ढलको अन्तिम बिन्दु’
उकेराले सूचनाको हक प्रयोग गरी मागेको प्रतिवेदनमा उक्त सडकमा ‘पैदल यात्रा गर्न समेत जोखिम बढेको’ निष्कर्ष निकालेको देखिन्छ।
प्रतिवेदन अनुसार ‘कमलादी सडकमुनि टुकुचाको दायाँतर्फ ‘माँ अप्पा’ (परम्परागत) इँटाको प्रयोग गरी सुर्की चुनाको मोर्टारको जोडाई सहितको ठाडो गारो भत्किएर पानी छिरी दाहिने तर्फको भाग कटान गरी सडक भासिन पुगेको’ हो।
उपत्यकामा बागमती, विष्णुमती, हनुमन्ते, मणिमती, इच्छुमती र भदूमती नदीहरू छन्। संस्कृतमा इच्छुमती भनिने नदीलाई नेवारीमा ‘तुखुचा’ हुँदै हालको बोलीचालीको भाषामा टुकुचा भन्ने गरेको विश्वास छ। टुकुचाको उद्गम स्थलको बारेमा भिन्न मत भए पनि पुरातत्वको अध्ययन अनुसार चुनदेवी, हुँडालदेवी, नीलसरस्वती, नारायणहिटी, जय नेपाल हल, तीनधारामार्ग, बागबजार, अद्वैतमार्ग, भृकुटीभण्डप, सेनाको मुख्यालय हुँदै कालमोचनघाट पुगेर बागमतीमा यो मिसिन जान्छ।
नारायणहिटी संग्रहालयको पूर्वतर्फको पर्खाल नजिक जय नेपाल हलको करिब ३० मिटर उत्तरतर्फबाट हालको महानगरपालिका कार्यालय कमलादी (काठमाडौं प्लाजा) नजिक पर्ने तीनधारासम्मको करिब ४४० मिटर लामो टुकुचालाई भूमिगत गरेर दुवैतर्फ माँ अप्पाको इँटा, मास, चाकु, चुना, सुर्की जस्ता सामग्रीहरूको मसला (मोर्टार) प्रयोग गरी दायाँबायाँ गारो र माथि अर्धगोलाकार स्वरूपको भाग निर्माण गरी पानी निकास गरेर भूमिगत पारेको पुरातत्वको प्रतिवेदनले बताउँछ।
भूमिगत बनाएको टुकुचा दायाँबायाँ तर्फ ‘श्री ३ वीर’ र ‘सर का र’ लेखिएको इँटा देखिएको समेत पुरातत्वले जनाएको छ। अहिले भासिएको सडकको तल्लो भाग भने त्यस अर्धगोलाकार सहितको ढलको अन्तिम विन्दु भएको पत्ता लाग्यो। महानगरपालिकाको उत्तरतर्फको प्रवेशद्वार अगाडिको सडक पारी फुटपाथ मूनि आएर अर्धगोलाकार सहितको ढल टुङ्गिन जान्छ।
भत्किएको उक्त पर्खाल दुई चरणमा निर्माण भएको र टुकुचाको दायाँबायाँ तर्फ ९० सेमी चौडा गाह्रो माथि फलामको एनाल, काठ र त्यसमाथि फलेक ठोकी करिब २४ इन्च को मोटो स्लाबले ढाकिएको भेटियो। प्राचीन स्मारक संरक्षण ऐन २०१३ (पाचौं संशोधन सहित) अनुरूप यो संरचना पुरातात्विक महत्वको रहेको भन्दै यस प्रकृतिको संरचना अन्यत्र नभेटिएको कारण पुरातत्व विभागले मौलिक स्वरूपमा संरक्षण गर्दै मर्मत गर्नका लागि समन्वय गर्न भनेको छ।
असोज ९, २०८१ बिहीबार ११:०६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।