शासकको सोच नै ‘खोटो’ भएपछि भाग्यले मात्र कति धानोस्
चीन ( छिङहाई) : अनुहारभरि कोतरिएको घाउ भए पनि हातमा बिस्कुट लिएकी त्यसरिङ युँकीको अनुहार उज्यालै थियो। आमाको काखमा बसिरहेको उनको तस्बिर युसु अर्थक्विक रिलिफ मेमोरियल हल’ को मुख्य आकर्षक थियो।
२०२४ सेप्टेम्बर १८ (२०८१ असोज २) मा चीनको उत्तर-पश्चिमी छिंङहाई प्रान्तको युसुमा रहेको मेमोरियल हलमा पुग्दा भाषा सहयोगीले भनिन् ‘यो बेलामा उनी आठ महिनाकी थिइन्। अहिले त १४ वर्षकी भइन्।’
०००
विपद् जहाँ आओस् भोगाई त उही हुने रहेछ। संघर्ष गर्नेहरू जहाँ पनि भेटिने रहेछन्। चमत्कार जहाँ पनि हुनसक्ने रहेछ। युसुमा भूकम्पको भग्नावशेषमा ४८ घण्टापछि सकुशल ८ महिनाकी बालिका भेटिनु चमत्कार थियो।
चमत्कार युसुमा मात्रै हैन नेपालमा पनि भएको थियो २०७२ वैशाख १२ मा। मध्यान्ह आएको ७. ८ रेक्टर स्केलको भूकम्पले आठ हजार बढी नेपालीको ज्यान लियो। तर, भग्नावशेषका बीचमा २२ घण्टासम्म पुरिँदा पनि जीवितै भेटिए सोनिस अवाल।
भूकम्प आउँदा पाँच महिने शिशु सोनिस घरमा सुतिरहेका थिए। आमा, बा घर बाहिरै थिए। भूकम्पको धक्का उनी सुतेको घरले धान्न सकेन, भत्कियो। दिदी सोनियाको काखमा रहेका उनी दिदीसँगै पुरिए। दिदी चार घण्टामा भेटिइन्। तर सोनिस भग्नावशेषमा पुरिए।
निकै बेरसम्म उनी रोइरहेको आवाज आइरह्यो भग्नावशेषबाट। उनको परिवारले भग्नावशेष पल्टाएर उनलाई भेट्ने प्रयास नगरेको हैन, तर सकेन। पछि नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटियो उनलाई निकाल्न। २२ घण्टा अनवरतको खोजीमा सोनिस जीवितै भेटिए।
भाग्य, घर भत्कँदा काठको दलिन मुनी परेका थिए उनी। उनलाई पूरै पुरिनबाट त्यही दलिनले जोगाएको थियो। उनको शरीरमा सामान्य चोट लाग्यो तर गम्भीर केही समस्या भएन। अहिले उनी कक्षा चारमा पढ्छन्।
०००
२०१० अप्रिल १४ (२०६७ वैशाख १) मा कोलाहलमय थियो युसु। ७. १ म्याग्निट्यूटको भूकम्पले यहाँको बस्ती तहसनहस बनायो।
बिहान ९:४९ मा आएको भूकम्पका कारण चार हजारको ज्यान गयो। १२ हजार १ सय ३५ जना घाइते भए। तिब्बती मुलवासीहरूको बाहुल्यता रहेको धार्मिक रूपमा निकै महत्त्वपूर्ण शहरलाई पुरानै अवस्थामा फर्काउन सरकारदेखि स्थानीयसम्म जुटे।
भग्नावशेषको थुप्रोमा बदलिएको शहरलाई थप आतंकित बनाउन ६.९ म्याग्निट्यूटसम्मको ‘आफ्टर सक’ आएर हैरान बनाइरह्यो।
१४ वर्षको बीचमा चीन सरकारले सात अर्ब युआन खर्च गरेर भूकम्पका कारण भग्नावशेषमा बदलिएको युसुको स्वरूप आधुनिक शहरमा बदलिइसकेको छ।
तर, भूकम्पले दिएको पीडा बिर्सिएका छैनन् उनीहरूले। यो शहर कति दु:खले बनेको हो भनेर भोलीको पुस्ताले बिर्सिएलान् भनेर सङ्ग्रहालयको भित्तामा त्यो त्रासद क्षण सुरक्षित राखेका छन्।
युसुको भव्यता हेरेकाहरू जब सङ्ग्रहालयमा पुग्छन् अनि बुझ्न सक्छन् कुन विपद् सहेर यो शहर उभिएको रहेेछ। त्यसमा थप त्यसरिङको तस्बिर हेर्दा जो कोही पनि भावुक नभई सङ्ग्रहालयबाट बाहिरिन सम्भव नहोला।
भूकम्पमा भग्नावशेषमा भेटिएका साना जुत्ताहरू, कापी, कलम, ब्याग, सकेसम्म सबैलाई सुरक्षित छ संग्रहालयमा। भित्ताभरि खोपी बनाएर राखिएका छन् ती सामग्री।
उपचारमा खटिएका चिकित्सक, स्वयंसेवक, भूकम्पमा पुरिएकाहरूलाई खोज्दाखोज्दै ज्यान गुमाएका स्वयंसेवक, खोजी र उद्धारमा भएका काम मात्रै हैन, भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा ‘ओम मने पद्मे हुँ’ लेखिएको स्मारकले समेत भावुक बनाउँछ।
०००
असोज १ बेलुका नौ बजेतिर युसुको गेसार स्क्वारमा पुग्दा स्थानीयहरू नाच्न व्यस्त थिए।
संयोग, चीनमा त्यो दिन फूलमुन फेस्टिभल चलिरहेको थियो। खाली स्थानमा स्पिकरबाट स्थानीय तिब्बती गीत बजिरहेको थियो, स्थानीयहरू गोलो घेरामा बसेर मस्तले नाचिरहेका थिए। चाडमा मात्र हैन, यो यहाँको स्थानीयको दैनिक जीवनशैली रहेछ।
यो शहर कति भव्य छ भन्ने बुझ्न गेसार स्क्वाएरको बीचमा विशाल घोडामा सवार बहादुर तिब्बती लडाकु गेसार राजाको मूर्ति काफी थियो।
चीनको छिंहाई प्रान्तभित्र पर्ने युसु यो क्षेत्रको दुर्गम क्षेत्रमध्येमा पर्छ, जुन चार हजार मिटर उचाइमा छ। जहाँ ९० प्रतिशत तिब्बतीमुलवासी बस्छन्। उनीहरू चिनियाँ भाषामा सेसे ( अभिवादन) मात्र होइन, तिब्बती भाषामा तसी देले( अभिवादन) भन्न-सुन्न पनि उत्तिकै रुचाउँछन्। चीन सरकारले युसु क्षेत्र तिब्बती मूलवासीका लागि आरक्षित गरेेेको छ।
त्यो दुर्गम भनिने स्थानको विकासमा केन्द्र अनि स्थानीय सरकारसँगै चिनियाहरू पनि जुरमुराए। त्यसैको बलमा युसुको मुहार बदलिन लामो समय लागेन।
१४ वर्षमै युसु चीनका शहरहरूमध्ये विकासोन्मुख शहरको रूपमा परिचित हुन सफल भयो।
०००
जमिनमुनि बनाइएको सङ्ग्रहालयको अवलोकन गरेर बाहिरिए लगत्तै दाहिनेतिरको एक भग्नावशेष घरले ध्यान तान्छ आगन्तुकको।
चारैतिर फलामे ठुला बिमहरुले अड्याइएको तीन तले सो भवनको भागहरू जसरी क्षत-विक्षत छन् त्यसले नै युसुमा कति शक्तिशाली भूकम्प आएको थियो अनि त्यसले कुन तहसम्म क्षति पुर्यायो भन्ने बुझाउन काफी थियो।
आधुनिक पारदर्शी छत राखेर भवनलाई सकेसम्म सुरक्षित राख्ने प्रयास गरिएको छ।
१४ वर्ष अगाडि युसुमा कति शक्तिशाली भूकम्प गएको थियो भन्ने बुझ्न त्यही तिब्बती शैलीमा बनाइएको भवनको अवस्था काफी देखियो। भवनको अवस्थाले ज्यानै सिरिङ्ग बनाउँछ।
युसुको स्थानीय सरकारले न भवन भत्काए, न त पुनर्निर्माणै गर्यो। युसुको भूकम्प सम्झाउन संरक्षण गरेर राख्यो भवन। चारैतिर फलामे टेको लगाएर सकेसम्म भूकम्पपछि जुन अवस्थामा थियो त्यही अवस्थामा राखिरहेको छ त्यसलाई। छतलाई पनि पारदर्शी बनाउन सिसा राखिएको छ।
०००
सङ्ग्रहालय अनि युसुमा आएको भूकम्पपछिको अवस्था सम्झाउन चीन सरकारले जे जति गरेको देखियो त्यति नेपालको सम्झना आयो।
यो चार हजार मिटर उचाइमा भूकम्पले भत्काएको प्राचीन तथा सांस्कृतिक बस्ती उस्तै शैलीमा फर्काउन चीन सरकारले गरेको मिहिनेत अनि नेपालमा पुनर्निर्माणपछिको गोर्खाको बारपाकको त्यो कुरूपता !
संकट अवसर पनि हो भन्ने बुझ्दा शक्तिशाली भूकम्पले ध्वस्त बनाएको युसुलाई स्थानीय, क्षेत्रीय र केन्द्रीय सरकार मिलेर छोटो समयमा आधुनिक शहरमा रूपान्तरण गर्यो।
तर यता नेपालमा बारपाकको सुन्दर बस्ती पुनर्निर्माणबाट कुरूप बन्यो। अविवेकी सरकारले बनाएको भवनको संरचनाले ग्रामीण भेगमा रहेका नेपाली शैलीका घर हराए, गाउँ टिनको टहराले भरियो।
भूकम्पमा परेर ज्यान गुमाएकाहरूलाई राज्य तहबाट सम्झना गर्नुपर्छ भन्ने सिकायो युसुले। राहत अनि खोजका क्रममा ज्यान गुमाएकाहरू, भग्नावशेषमा भेटिएका सामग्री, राहत अनि खोजमा खटिएकाहरूको साहससँगै भूकम्प कति शक्तिशाली थियो भन्ने देखाउने भग्नावशेष बनिसकेको संरचनाको संरक्षण कति आवश्यक छ? प्रत्येक पाइलामा अनुभव भइरहेको थियो।
भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारले गरेको लापर्वाही र नतिजा सम्झँदा भत्भत् छाती पोलिरह्यो।
संयोग पनि कस्तो भने युसुमा भूकम्प सम्झाउने मोमोरियल सङ्ग्रहालय घुमिरहँदा यता नेपालमा २०७२ को भूकम्पमा ध्वस्त भएको धरहरा सर्वसाधारणका लागि पहिलो पटक खोलियो। धरहराको मास्टर प्लान हेर्ने हो भने त्यहाँभित्र भूकम्प सङ्ग्रहालय पनि देखिन्छ।
युसुबाट नेपालमा सहजै सम्पर्क गर्न सम्भव थिएन। होटेल फर्किएपछि विच्याटबाट नेपालमा उकेराका डेस्क प्रमुख संयोग नेपाललाई सन्देश पठाएँ ‘यता युसुमा रहेको भूकम्प सम्झाउने सङ्ग्रहालय घुम्ने मौका पाइयो। त्यता ‘धरहरा’ भित्र पनि भूकम्पबारे म्युजियम बनाउने भनेका थिए, कस्तो रहेछ हेर्नु है।’
पहिलो पटक सर्वसाधारणका लागि खोल्दा बनेका समाचारमा राखिएका तस्बिर उत्साहजनक थिएनन्। धरहराको बिजोग देखाइरहेको थियो।
बिहीबार मध्यरात नेपाल आइपुगेपछि शुक्रबार धरहरा खुलेकोबारे रिपोर्टिङमा खटिएकी मोनिका वाइबालाई कस्तो रहेछ भूकम्प सङ्ग्रहालय भनेर जिज्ञासा राखेँ। उनले भनिन् ‘लिफ्ट मात्रै छ। अरू केही छैन, सङ्ग्रहालय बनेको ठाउँ त रित्तै छ।’
नेपालमा आएको भूकम्प कति शक्तिशाली थियो भन्ने सम्झाउन धरहराको भग्नावशेषमा जोगिएको तल्लो भागको अवस्था काफी छ। जसरी धरहराको अनुहार बदल्ने प्रयास गरे त्यसरी नै धरहराको जग जोगाएर राखे कि ! तर १० वर्ष अगाडि चढेको प्लास्टिक हटेको रहेनछ। सामान्य झरी छल्न नसक्ने टिनको छानो, उस्तै रहेछ उद्घाटन भएर सर्वसाधारणका लागि खुल्दा पनि।
०००
संयोग एकै हुनसक्छ, विपद्मा भोगाई एकै हुनसक्छ। भूकम्पपछिकोको पीडा चीनको युसुवासी हुन् या नेपालको मुख्यतः काठमाडौं, ललितपुर, गोरखा अनि सिन्धुपाल्चोकवासीको अनुभव उही हुनसक्छ।
भूगोल फरक हुँदाहुँदै चीनकी त्यसरिङ अनि नेपालको सोनिसको ‘भाग्य’ एकै देखियो पनि। संयोगवश कुनै कुनै घटना उस्तै हुन सक्छन्।
तर विपद्पछिको पुनर्निर्माणमा सरकारले दिने चासो, बनाउने रणनीतिको नतिजा भने समान हुन सक्दैन। उदाहरण चीनको युसुको भग्नावशेेष घर अनि काठमाडौँको धरहरा नै हो।
जहाँ विपद्लाई सुधारको अवसरको रूपमा बुझेर योजनाबद्ध रूपमा काम गर्छन्, तीनले ल्याउने नतिजा अहिलेको युसु समान हो। विपद्लाई पनि अतिरिक्त आम्दानीको स्रोतको अवसर बनाउने, नेपाली सांस्कृतिक होस् या प्राकृतिक पहिचानको वास्ता नगर्नेहरू शासक भए भने आउने नतिजा काठमाडौं, सिन्धुपाल्चोक अनि गोरखाको बारपाकै हो।
चार हजार मिटरमा रहेको युसु चीनका लागि विकासोन्मुख शहर हुनसक्छ। तर काठमाडौंको भौतिक विकाससँग दाँज्ने हो भने विकसित शहर हो। युसुले विपद्पछि १४ वर्षमा लम्किरहेको विकास पथमा काठमाडौं विपद्को १० वर्षमा पनि प्रवेश गर्नै सकेको छैन।
ती युसुको त्यसरिङ अनि यी भक्तपुरका सोनिस। त्यो भग्नावशेष भवन अनि यो धरहराको फेद। यस्तै हो, शासकको सोच नै ‘खोटो’ भएपछि भाग्यले मात्र कति धानोस्।
युसु संग्रहालयको थप तस्बिर
(छिङहाईबाट फर्किएर)
असोज ४, २०८१ शनिबार ०७:३८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।