उपमहानगरले जब भुवनसिंहको सम्मानमा बाटोको नामकरण गर्न खोज्यो अनि विवाद झिकियो ‘कामीको नाममा बाटो राख्ने?’

उपमहानगरले जब भुवनसिंहको सम्मानमा बाटोको नामकरण गर्न खोज्यो अनि विवाद झिकियो ‘कामीको नाममा बाटो राख्ने?’
तस्बिर : विकास पराजुली। उकेरा

ठ्याक्कै मिति याद नभए पनि ३२/३३ वर्षअघि हुनुपर्छ, जागिरको क्रममा भुवनसिंह विश्वकर्मा त्यसबेला भारतीय सेनामा कार्यरत थिए। त्यो भन्दाअघि नै अन्टार्कटिका पुगिसकेका भुवनले 'अन्टार्कटिका पाइला टेक्ने पहिलो नेपाली' बनेर इतिहासमा आफ्नो नाम दर्ता गरिसकेका थिए।

तर, त्यहीबेला आफू भारतमैछँदा यता बुटवलमा बसिरहेका आफ्ना सन्तानले भने 'दुखद' एउटा निर्णय लिए- आफ्नो नामको पछाडि रहेको विश्वकर्मा हटाएर थर (गोतामे) लेखाउने।

प्राथमिक तहमै पढ्ने भुवनका सन्तानले थर लेखाउन खोजेको विषय खासै नौलो त थिएन। जोकोहीले विश्वकर्मा भनेर हत्तपत्त नचिन्ने र विभेदको सिकार भइहाल्नु नपर्ने भन्ने बुझेर उनीहरूले त्यसो गरेको भुवन सम्झिन्छन्। तर, जब उनी नेपाल आउँदा छोराछोरीले गोतामे लेखाएको कुरा थाहा पाए नराम्रो लाग्यो। तर प्रतिवाद गर्न चाहेनन्।

'हामीले जति मीठा कुरा गरे पनि नेपालमा कामी, दमाई, सार्की लेख्यो भने हेपाहा बानी छ। यिनीहरू (छोराछोरी)ले म फौजमा भएको बेला गोत्र लेख्न पाउने थाहा पाएछन्,’ उनले भने ‘स्कुलमा पनि कस्तो कामीजस्तो बानी, कस्तो दमाईजस्तो देखिएको भन्ने सुनिरहेकाले उनीहरूले गोत्रबाट गोतामे लेखाएछन्।'

थर बदल्दैमा विभेद नबदलिनेमा विश्वस्त छन् उनी। तर छोराछोरीले भन्छन् ‘कसैले झ्याप्पै हेपिहाल्न सक्दैनन्।’

तीन सन्तान अहिले नेपाल बाहिर छन्। तीनै जनाले गोतामे नै लेख्छन्। भुवन र उनकी श्रीमतीले भने विश्वकर्मा लेख्छन् । आजभोलि उनका सन्तानले पनि विश्वकर्मा नहटाएको भए हुन्थ्यो कि, भन्न थालेका छन् रे। 

OOO
२०११ मा बागलुङमा जन्मिएका भुवनले स्थानीय गणेश निम्न माविबाट ३ कक्षासम्म पढे। बुबाको गोरखपुरमा सुन पसल भएकाले वर्षभरि खान पुग्थ्यो। तर, पढ्न लेख्न भने त्यति सहज थिएन। भुवनका हजुरबा अमरसिंह सुनारले भारतको मेघालय, सिलोङदेखि पाकिस्तानको लाहोरसम्म चहारेका थिए। उनलाई पनि भारत जान मन लाग्यो। ८ वर्षको उमेरमा गोरखपुर गए भुवन।

त्यतिबेला १४ वर्षका थिए उनी। गोरखपुर बस्न थाले पनि बागलुङ ओहोरदोहोर गर्न छाडेनन्। बागलुङको भगवतीको मन्दिर गएर पूजा गर्न चाहेका थिए। तर, उनकी आमाले 'बाहिरबाटै पूजा गर, हामी भित्र जान मिल्दैन' भनेपछि उनी अक्क न बक्क भए।

अन्टार्कटिकामा भुवन। 'देवीले मलाई जेसुकै गरे पनि गरून् तर, म भित्रै जान्छु' भनेर गए। पूजा गरे, अनि पुजारीको हातबाट प्रसाद लिएर निस्के। भित्र पस्दा पनि केही भएन। त्यहीबेला भुवन र उनकी आमालाई आश्चर्य लाग्यो।

बागलुङ भैरवस्थान छ। त्यहाँ मगरहरू पुजारी हुन्छन्। भुवनले थाहा पाएदेखि ती पुजारीहरूले 'सानो जातको छ भने बाहिरैबाट प्रसाद दिनुहोला' भनेर उर्दी जारी गरेका थिए।

त्यहाँ उनले पटक पटक पूजा गर्ने कोसिस गरे तर, सम्भव भएन। तथापि सफलता आफैँ बोल्छ भनेझैँ उनी अन्टार्कटिका पुगेर आएपछि भने भित्रै पसेर पूजा गर्न पाए।

OOO
भुवनले गोरखपुरमै मेट्रिकसम्म पढे। अनि फौजी बन्ने दौडमा होमिइहाले। सन् १९७२ मा उनी भारतीय गोर्खा सैनिकमा भर्ती भए। त्यसबेला जनजातिहरूलाई गोरखा भर्तीमा सहज थियो। तर ब्राह्मण-क्षेत्री अझ विशेष दलितलाई झन् गाह्रो थियो। उनी कसरी सहजै भर्ना भए?

जवाफमा उनले भने ‘दलितहरूलाई फौजमा लिनै गाह्रो थियो, लिइहाले पनि सामान्य जुत्ता सिलाउने, खुकुरी बनाउने, कपडा सिलाउनेमा लिइन्थ्यो। एक पटक गोरखा राइफल भर्ती हुने ठाउँमा पुगेको थिएँ। तर, त्यहाँ छनोट गर्ने मान्छेले 'स्याना जातिको कोही छौँ भने बाहिर जा है, नत्र पछि बेजती खालास्' भन्यो। मेरो मनमा चिसो पस्यो। त्यसपछि मेरो छेउमा उभिएको साथीले भन्यो, 'हामीलाई नेपालमा पनि सानो जाति भनेर भर्ती गर्दैनन्, भारतमा पनि यस्तै रछ। अनि हामी कहाँ गएर भर्ती हुने सर?' जवाफमा त्यो जर्नेलले भन्यो, 'बढी नबोल्, जा तेरो राजालाई गएर सोध।'
अनि तपाईँलाई चैँ केही विभेद भएन त?
'म त देशी पल्टनबाट गएको हो। त्यहाँ त्यति धेरै जातपात छैन, उनले भने। गोर्खा पल्टनमा भएको भए, आज म भर्ती नै हुने थिइनँ।

नेपालबाट भर्ती भएर जाने गोर्खा राइफलहरूले जातव्यबस्था मान्ने भएकाले भारतीय सेनामाहुँदा उनीहरूले विभेद भोग्ने गरेको भुवनले देखेका छन्।

कस्ता हुन्थे त ती विभेदका शैलीहरू? 'हरियो बत्ती बलेपछि सबैजना एकै ठाउँ बसेर खानुपर्थ्यो। तर, सानो जात भन्दै घोचेर बोल्ने, हेप्ने, प्रमोसन हुने बेलामा पनि हवल्दारसम्म दिने तर त्यहाँभन्दा माथि नदिने हुन्थ्यो,’ उनले सम्झिए।

तर, भुवन आफू चैँ देशी राइफलको पनि इन्जिनियर्सतर्फ भर्ती भएकाले विभेद अलि कम भएको सुनाए। सेनामा काम गरिरहेका थिए। त्यहीबेला उनले सैनिकहरू अन्टार्कटिका महाद्वीप जान पाउने थाहा पाए।

भारतीय सेनाले सन् १९८१ देखि ‘इन्डियन एक्सपेडिसन टु अन्टार्कटिका’ अभियान सुरु गर्यो। त्यस टोलीमा जल, थल र वायुसेना, सैन्य इन्जिनियर, सैन्य वैज्ञानिक, चिकित्सकलगायत २५ जना जान पाउँथे। भुवन पनि पाँचौँ एक्सपिडिसनमा सन् १९८६–८७ को टोलीमा छानिए।

अन्टार्कटिका जाँदा उनले बागलुङको माटो र नेपाली झन्डा बोकेर गएका थिए। पहिलो पाइला टेक्दा नेपाली टोपी लगाएर माटो र झन्डा अर्पण गरे। उनले अरू देशका वैज्ञानिकहरूलाई नेपाली टोपी बाँडे।

अलि धार्मिक स्वभावका उनले त्यहीबेला मनमनै भने 'नेपाल र नेपालीहरूको सुख-शान्ति होस्, अनि नेपाल र भारतमा भएका तल्लो जातहरूले (कथित) विभेद भोग्नु नपरोस्।'
OOO
'कामीको नामबाट बाटोको नाम राख्ने?' बुटवलका एक जना पुराना बुद्धिजीवीले भनेको आजसम्म पनि भुवनको मनमा गहिरोसम्म बिझेको छ।

खासमा भुवनले अन्टार्कटिका पुगेर आएपछि बुटवल उपमहानगरले उनको सम्मानमा उनी छेउमै रहेको बाटोलाई 'भुवनसिंह विश्वकर्मा मार्ग' राख्ने प्रस्ताव गरेको थियो। उपमहानगरको अगुवाइमा पहल पनि थालियो। तर, ती ‘बुद्धिजीवी’को अगुवाइमा भाँड्ने काम सुरु भयो।

ती व्यक्तिले त्यो बाटो बनाउन पहिल्यै जग्गा दिएका दिए। बाटोको नाम शिवपथ थियो। तर, भुवन नेपाल फर्केपछि उपमहानगरले उनको सम्मानमा उनकै नाममा बाटोको नामाङ्कन गर्ने भनेपछि ती रिसाए। अन्तमा उनकै नाममा बाटोको नाम राखियो। तर विश्वकर्मा हटाएर 'भुवनसिंह मार्ग' मात्र लेखियो।

'पहिला दलितको नामबाट बाटोको नाम राख्न अलि हिचकिचाए, अहिले स्वीकार गरेका छन्,’ उनी खुसी देखिए। हेटौँडामा पनि उनको नामबाट बाटो बनेको छ।

दोस्रो पटक सन् १९९२ मा अन्टार्कटिका पुगेका उनी १६ महिना बसेर फर्किएका थिए। सन् २००० मा उनी फौजी जीवनबाट रिटायर्ड भएर नेपाल फर्किए। जीवनको लामो समय भारतमै बिताएका भुवनले उता हुँदा जातका आधारमा खासै विभेद भोग्नु परेन। तर, जब नेपाल आए अनि उनलाई लाग्यो, जातीय विभेद कम भएको रहेनछ। तर स्वरूप भने बदलिएछ।


भारतीय सेनामा भुवन।भुवन भन्छन्, 'सार्वजनिक कार्यक्रममा जाँदा कतिपय साथीले आफू घरैमा खाएर आएको भन्दै पन्सिन्छन्। त्यो मेरै कारणले हो भन्ने म बुझ्थेँ, तर कसरी प्रतिकार गर्ने? मिल्ने साथीभाइका घरमा विवाह, व्रतबन्ध जस्ता कार्यक्रम हुँदा छिमेकीलाई निम्ता गर्ने, म त्यसमा पर्दिन आजसम्म पनि।'

उनी बसेको बुटवलमा ब्राह्मणहरूको विवाह, भोज लगायतमा निम्ता आउँछ। तर, अन्य दलित समुदायलाई निम्ता दिइँदैन।

OOO
राजनीतिमा चाख मान्ने उनी समसामयिक घटनाक्रममा अपडेट रहन्छन्। अहिले प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसङ्घको महासभामा जाँदैछन्। तर, आफ्नो देशमा विभेद छैन भनेर राष्ट्रसङ्घमा हस्ताक्षर गरेको नेपालले व्यवहारमा कमी नभएको उनको बुझाई छ।

गैर दलितहरूले आफ्नो घरपरिवारलाई बुझाउन नसकेको कारण जातीय विभेद अन्त्य हुन नसकेको उनको बुझाई छ।

जस्तो कि, एक जना गैर दलित पुरुष एउटा सामाजिक संस्थामा जोडिएको छ, उसले दिनभर विभेद विरुद्धमा कुरा उठाउँछ तर, बेलुका घर गएपछि आफ्नै श्रीमती अनि आमाबुवालाई बुझाउन सक्दैन। भुवनलाई लागेको विभेदको कडी यहीनिर छ।

दुई पटकको अन्टार्कटिका यात्रापछिको उत्तरार्धतर्फको जीवनलाई अहिले उनी विभिन्न सामाजिक कार्यहरूमा उपस्थित हुने, आफ्ना अनुभव राख्ने, दलित समुदायको सचेतना र जागरूकताका लागि बोल्ने यस्तै यस्तै गरेर कटाइरहेका छन्। यसो गर्दा कम्तीमा आफ्ना समुदायका मानिसहरूलाई प्रेरणा मिल्ने उनको बुझाई छ।

उनले उनी अन्टाकर्टिकाको यात्रा संस्मरण पुस्तक लेख्न व्यस्त छन्। त्यस क्रममा निकै घोत्लिएको विषय आफूले भोगेको जातीय विभेदको विषय लेखौँ कि नलेखौँ? भन्ने नै रहेछ। धेरैसँगको सल्लाहपछि उनी निष्कर्षमा पुगे जातीय विभेदको विषय समेट्नै पर्छ। 

क्षमताका कारण छुट्टै पहिचान बनाउन सफल भुवनमाथि कसले विभेद गर्छ र भन्ने अनुमान गर्न पनि सकियो। यही प्रश्नको जवाफमा उनले भने 'हाम्रो हिन्दु समाजमा दलित तथा उत्पीडितहरू जति शिक्षित भए पनि, विभिन्न विधामा जति उत्कृष्ट भए पनि, योग्य भए पनि उनीहरूले जन्मेदेखि मृत्यु हुँदासम्म विभेद भोगिरहेकै हुन्छन्।'

जात व्यवस्था अन्त्य गर्ने हो भने राज्यबाहेक अन्यले नसक्ने उनको बुझाई छ।

'राज्यले नचाहेसम्म हामीले जति कराए पनि केही हुनेवाला छैन। विभेदमा परेर प्रशासन गुर्हान गयो भने त्यहाँ हाम्रो मान्छे छैनन्, अदालतमा पनि त्यस्तै छ। सरकारमा त भन्नै परेन, उनले भने।

जातका कुरा

असोज ३, २०८१ शुक्रबार २२:२३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।