कलाकार सुष्माको प्रसव पीडा र खुसी : अप्रेशन कक्षमा पेट काटेको आवाज सुनेँ, ‘लौ न! त्यसरी पो काटेको’ भनेपछि डाक्टरले आँखा छोपिदिए
लामो समय गृहिणी रहेकी सुष्मा श्रेष्ठ अहिले भने आफूलाई कलाकारको रूपमा परिचित गराउन दत्तचित्त छिन्। चरा सम्बन्धी चित्र बनाउने उनी गीत गुनगुनाउछिन् अनि अन्तर्राष्ट्रिय कलाकारहरूलाई भेला गरेर कार्यक्रम गर्न समन्वय गर्छिन्।
नेपालमा कलाप्रति आकर्षण बढिरहेको देखेर उनी खुसी छन्। तर, साँच्चै कला क्षेत्रमा केही गरौँ भन्नेहरूको लागि भने अझै पनि विकल्पकै रूपमा रहेकोमा उनी केही निराश पनि। उनी सानैदेखि चित्र बनाउन र गीत गाउन औधी मन पराउँथिन्। एउटा गीत समेत रेकर्ड गरिन्। एक पटक रेडियो नेपालमा बजेको सम्म उनलाई याद रहेछ। तर, त्यसपछि त्यो रेकर्ड कता पुग्यो उनी आफैँलाई पनि थाहा छैन।
कलाप्रति उनी जति प्रभावित थिइन्, त्यति नै उनको घरमा कलाप्रति राम्रो छवि थिएन। त्यै भएर उनले परिवारबाटै खासै समर्थन पाउन सकिनन्। कला सम्बन्धी नै पढ्ने मन भए पनि परिवारको समर्थन नभएकाले अर्कै विषय पढ्नुपर्यो। जसमा उनले निरन्तरता दिन पनि सकिनन्। अनि नर्सिङ पढ्दै गर्दा उनको विवाह भयो, त्यसलाई पनि गर्भवती भएसँगै छाड्नुपर्यो।
उनै कलाकार सुष्माले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटेकी छन्:
०००
म काभ्रेमा जन्मिएँ। गाउँमा सबैजना खेतको भर पर्नुपर्ने अवस्था भए पनि हाम्रो घरमा चै ज्याला गरिराख्न पर्ने आवश्यक थिएन। एसएलसी पछि मलाई कला क्षेत्रमै केही गर्नु थियो। तर, अर्कै विषय पढ्न परेपछि पढाइमा मेरो मन पनि लागेन। हाम्रो समाजमा नर्सिङ र कलालाई नरुचाउने रहेछ। मैले भने त्यही दुईलाई मन पराएँ।
भर्खर काम मात्र गर्न सुरू गरेको थिएँ, बिहे भइहाल्यो। बिहेपछि काममा पनि जान सकिन। बनेपामा मेरो काम थियो। चापागाउँदेखि बनेपा ओहोरदोहोर गर्न मलाई धेरै गाह्रो भयो। अनि धेरै वर्ष त म घरबाट पनि बाहिर निस्किएन। बिहेपछि मैले पढाइ र कामलाई लगभग छोड्न पर्यो। घरकै काममा अल्मलिएँ।
हाम्रो समाजमा बिहेको केही समयपछि बच्चा भएन भने अनेकथरी कुरा आउने रहेछ। सङ्कुचित सोच भएको कारण मैले आफ्नो सीमाहरू बनाउन परेको थियो। तीन वर्षपछि सन्तान जन्माउँदा मैले के-के कुरा सुन्नुपर्यो, अहिले सम्झन पनि चाहन्न। मैले त्यो तीन वर्षमा फार्मेसीको पसल समेत राखेकी थिएँ। घर, पसल अनि बच्चा समेत हेर्नु मेरा लागि ठूलो चुनौती थियो।
म मेरो घरको एक्लो बुहारी। त्यही भएर पनि कामको चाप पनि बढी नै भयो। मेडिकल लाइनमा भएर हो कि गर्भावस्थामा चाहिँ मलाई त्यतिधेरै अप्ठ्यारो भएन। पहिलो पटक गर्भवती भएको भनेर थाहा पाउँदा त्यस्तो सारो खुसी लागेको पनि होइन। त्यस बेलाको माहोलले गर्दा 'एउटा त पाउनै पर्यो' भन्ने लागेको थियो।
गर्भवती अवधिभर म लगभग एक्लै नै थिएँ। अहिले साधारणतया १५ मिनेट हिँड्दा पुग्ने त्यसबेला मलाई घरबाट पसल पुग्न आधा घण्टा लाग्थ्यो। त्यति समयको लागि गाडी चढेर जाने भन्ने पनि थिएन मलाई। हिँडेर जान पर्दा गाह्रो भएको पनि होइन तर, राति फर्कँदा निकै डर लाग्थ्यो। शारीरिक रूपमा त मैले गर्न सक्ने र जानेको सबै गर्दै गएँ। तर, मानसिक रूपमा म निकै विक्षिप्त भएको रहेछु जस्तो लाग्छ।
श्रीमानको पनि काममै बस्नुपर्ने हुन्थ्यो। त्यसबेला मैले उहाँको पनि कमी महसुस गरेको हो। म ३५ केजीको मान्छे त्यसबेला चै ४५ केजीको भएछु। त्यतिलाई के तौल बढेको भन्नु। धेरैलाई त म गर्भवती भएको भनेर समेत थाहा थिएन। कसैलाई पनि म मोटो भएको भनेर लागेको रहेनछ। म आफैँलाई पनि लागेको त होइन।
खाना मलाई केही पनि पटक्कै नरुच्ने भएको थियो। जे खाए पनि वान्ता हुन्थ्यो। अनि म प्राय कि पानी र भात कि साग र भात खान्थे। खुर्सानी एउटा टोक्न पायो भने अलि रुचेको जस्तो हुन्थ्यो। गर्भवतीमा मात्र नभएर नानी जन्माएको दुई/तीन महिनासम्म मैले पानी बाहेक खासै अरु खाइन। एकदम कमजोर महसुस भइरहन्थ्यो।
डेलिभरीको समय भए पनि मलाई व्यथा लागेको थिएन। तर, दुई/तीन दिन बेस्कन मेरो पानी बग्यो। अनि म हस्पिटल पनि गएको हुँ। तर, त्यता व्यथा लागेको छैन भनेर फर्काइदियो। पानी बगेकै एक हप्तासम्म पनि मलाई व्यथा लागेको थिएन। पछि त मैले बच्चाको चाल नै थाहा नपाएको हो जस्तो महसुस गरेँ।
अनि धेरै ढिला भइसक्यो, भर्ना गर्ने कि नगर्ने भनेपछि बल्ल भर्ना त गरिदियो। तर, अझै पनि मलाई कसैले वास्ता गरेको थिएन। डेलिभरीको समयमा पनि म एक्लै गएको थिएँ। त्यसबेला त स्लाइन पानी बोकेर बस्नुपर्थ्यो नि! स्लाइन पानी बोकेर हस्पिटलको चक्कर लगाएर बसे पनि मलाई कसैले ध्यानै दिएन।
भर्ना भएको दुई दिन भइसकेको थियो। अझै पनि केही भएको छैन, आराम गर्नु भन्दै थिए अनि मैले ‘मेरो पानी बगेकै दुई हप्ता भइसक्यो। अहिले मैले बच्चालाई महसुस नै गर्न सकिरहेको छैन, केही भयो भने तपाईंहरूलाई छोड्दिनँ’ भनेँ।
त्यसपछि मलाई बल्ल व्यथा लाग्ने औषधि दिएको थियो। तर पनि मलाई व्यथा लागिरहेकै थिएन। अनि मैले मलाई अप्रेशननै गरिदिनु। अब धेरै ढिला नगरौँ भनेँ।
पछि तुरुन्त अप्रेशन कक्षमा लगियो। अप्रेशन राम्रैसँग भयो। तर पानी सबै अगाडिनै बगेको भएर सुख्खा भएछ। त्यसले गर्दा मेरो नानीको घाँटी नै सुख्खा भएछ। उसलाई त स्वास फेर्न समेत गाह्रो भएको कारण स्वास फेर्दा समेत आवाज आउँथ्यो। मैले गर्भावस्थामा धेरै पानी नखाएको भए त उसलाई झन् धेरै गाह्रो हुने रहेछ नि!
अप्रेशन कक्षमा मैले त पेट काटेको आवाज सुनिरहेको थिएँ। मैले च्यार-च्यार गरेको सुनेपछि ‘भर्खर काटेको? अझै सक्केको छैन?’ भनेर डाक्टरलाई सोधेँ। अनि उहाँले ‘दुखिरहेको छ?’ भनेर सोध्नुभयो अनि अर्को औषधि थपदिनुभयो। यसो माथि हेरेको अप्रेशन गरेको देख्ने रहेछ। त्यो देखेपछि पनि ‘लौ न! त्यसरी पो काटेको!’ भन्न पुगेछ। पछि मेरो आँखा छोपिदिनु भयो। अनि एकै पटक गहिरो निन्द्रामा पुगेर ब्यूझेँ।
छोरीको घाँटीमा समस्या देखेपछि उसलाई भेन्टिलेटरमा राखेछ। त्यो १६ दिन कसरी बिताए भनेर मलाई मात्र थाहा छ। घरको मान्छेहरू हेर्न आएर गइहाल्नु हुन्थ्यो। म सँग साथमा बच्चा पनि त थिएन। मेरो आफ्नै घाउ पनि बिग्रिँदै गएको रहेछ। साइडको बिरामी कुरुवाको मद्दत मागेर धेरै पटक उठ्ने कोशिस गरेँ। छोरी नजिक नभएपछि उसलाई दूध खुवाउन नपाएर पनि बेस्सरी गाह्रो भएको थियो।
त्यसबेला पनि हो मैले निकै एक्लो महसुस गरेको। अनि घर जान्छु भनेर बल्ल-बल्ल घर गएँ। उसको न्वारन गर्ने बित्तिकै अर्को हस्पिटल गएँ। त्यहाँ पनि फेरि पानी निकाल्यो। त्यै भएर हो कि अहिले पनि चिसो भयो भने सुरुरु हावा पसेको जस्तो हुन्छ, बेला-बेला। छोरीलाई त राम्रोसँग बोक्न पनि सक्दिन थिएँ। त्यसपछि सुत्केरी स्याहार भनेर पनि मैले राम्रो स्याहार पाएको होइन। दशैं नजिकिदै थ्यो, सबैको ध्यान दशैंमा नै गयो।
गर्भवतीको र सुत्केरी हुँदाको एक्लोपन त अहिले पनि अनुभव गर्न सक्छु। हरेक पटक त्यस बेलालाई सम्झिँदा नराम्रो लाग्छ। छोरी पनि धेरै सानी थिई। ऊ जन्मिँदा जम्मा दुई केजीकी मात्र थिई। पछि १६ दिन ग्लुकोज पानी मात्र खाँदा त झन् घटेकी थिई। उसको घाँटीको समस्याको लागि अप्रेशननै गर भनेर डाक्टरहरूले सुझाव दिएका थिए। तर, मैले मानिँन। पछि सन्चो भयो। स्वास फेर्दा समेत उसको आवाज आउँथ्यो।
अहिले छोरी बीस वर्षकी भैसकी। अमेरिकामा आइटी पढ्दै छे। भर्खरै मात्र गएको हो। फेरि एक्लो भए भन्ने जस्तो त लाग्छ नै। तर, सन्तानलाई सधैं आफूसँग राख्छु भनेर कहाँ हुन्छ र ! उसले त्यहाँ राम्रो गर्न सक्यो भने त्यही बसिराखोस्। उसको त अझै धेरै जिन्दगी अगाडि छ। एक्लै बच्चालाई पढाउन, हुर्काउन निकै गाह्रो हुने रहेछ। उसको पालोको सम्झेर मैले त अर्को बच्चाको बारेमा सोच्दा पनि सोचिँन।
आफूले जे जति सकिन्छ, उसको लागि कुनै कमी महसुस हुन नदिन धेरै प्रयास गरेँ। उसैले त अहिलेसम्म गुनासो गरेको छैन। तर, आफैँलाई उसलाई राम्रो समय दिन सकिन कि जस्तो लाग्छ। यो बीचमा हामी आमाछोरी मिलेर धेरै कार्यक्रममा पनि सहभागी भयौँ। मैले समन्वय गरेको कार्यक्रममा उसले उद्घोषण समेत गर्थी। हामी सँगै पहाडहरू चढ्न पनि गएका छौँ। मसँग नजिक भएर होला उ सानैदेखि परिपक्व छे। एकदम दु:ख बुझ्छे।
भदौ २९, २०८१ आइतबार १४:५७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।