कर्णालीमा ५८ जना विजेता खेलाडीले अहिलेसम्म पाएनन् सरकारले घोषणा गरेको पुरस्कार
सुर्खेत : गत वर्षको फागुनमा भएको १४ औं राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता र अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार दिने कर्णाली प्रदेश खेलकुद विकास परिषदले निर्णय गर्याे। तर, सरकारले घोषणा गरेको उक्त पुरस्कार अहिलेसम्म पनि खेलाडीले पाउन सकेका छैनन्।
पुरस्कारका लागि आवश्यक कागजात र प्रमाणपत्र मागेपनि हालसम्म पुरस्कार बापदको रकम पाउन नसकेको तेक्वान्दोमा प्रथम भएका नरेन्द्र रावलले बताए।
‘खाता नम्बर, प्रमाण पत्र दिएको थिएँ। पुरस्कार बापतको पुरस्कार अहिलेसम्म पाएको छैन,’ उनले भने।
तेक्वान्दोकै अर्का खेलाडी पुर्ण प्रसाद पौडेलले गत जेठमा बागमतीमा भएको अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा तृतीय स्थान ल्याउँदा पनि सरकारले दिने भनेको पुरस्कार पाउन नसकेको बताए।
‘पुरस्कार दिने भन्ने कुरा अनुसार मैले सबै कागजात र प्रमाणपत्र बुझाएँ। तर, अहिलेसम्म पुरस्कार पाएको छैन। मैले प्रतियोगिताबाट तेस्रो स्थान ल्याएको हुँ। त्यसअनुसार १० हजार रुपैयाँ पाउनुपर्ने हो,’ उनले सुनाए।
प्रदेश र समग्र देशलाई चिनाउने खेलाडीलाई दिने भनिएको पुरस्कार र भत्ता दिन नसके आफुहरुको मनोबल घट्ने उनको भनाई छ।
यी दुई जनामात्रै होइन, ५८ जना विभिन्न स्थान ल्याएका खेलाडीले पुरस्कार पाउन सकेका छैनन्। त्यस्तै, बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पनि प्रदेश खेलकुद परिषदले महिनामा पाँच हजार रुपैयाँका दरले भत्ता दिने निर्णय गरेपनि उक्त भत्तासमेत खेलाडीले पाउन सकेका छैनन्।
कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले गत वर्षको बजेट अभावका कारण पुरस्कार र भत्ता दिन नसकिएको र छिट्टै उनीहरुले तोकिएको पुरस्कार दिइने बताए।
‘राष्ट्रपति रनिङ्शिल्ड र अन्तर प्रदेश खेलकुद प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई २०, १५ र १० हजार दिने निर्णय भएकै हो। तर, गत वर्ष बजेट नहुँदा दिन सकिएको छैन,’ सदस्यसचिव सञ्ज्यालले भने, ‘निर्णय भइसकेको छ। बजेटको सुनिश्चितता भएपछि उहाँहरूलाई दिन्छौं। त्यही भएर पनि गत वर्षको वार्षिक पुस्तिकामा पाउन बाँकी भनेर उल्लेख गरेका छौं।’
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि समयमै हुनेमा शंका
यही मंसिर १० देखि कर्णाली प्रदेशमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भनिएपनि रङ्गशाला लगायतका पूर्वाधारहरू निर्माण कार्य जारी रहेका कारण तोकिएकै मितिमा सञ्चालन हुनेमा शंका गरिएको छ। तर, खेलकुद विकास परिषदले भौतिक संरचनाकै कारण प्रतियोगिताको मिति नसर्ने जनाएको छ।
परिषदका अनुसार हालसम्म ९५ प्रतिशत रङ्गशाला र अन्य पूर्वाधारका कामहरू सकिएका छन्। बाँकी ५ प्रतिशत पनि असोजभित्र सक्नेगरी परिषदले काम गरिरहेको छ।
कर्णालीमा २४ ओटा खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्न सकिने बताइएको छ। प्रतियोगिताका लागि खेलाडीहरू बन्द प्रशिक्षणमा समेत रहेका छन्।
प्रतियोगिताको तयारीका लागि विभिन्न विधाका ३ सय ४८ जना खेलाडी बन्द प्रशिक्षणमा रहेको सदस्य सचिव सञ्ज्यालले जानकारी दिए। जसमा २ सय १० जना खेलाडी पहिलो चरणमा र बाँकी दोस्रो चरणको बन्द प्रशिक्षणमा छन्।
उनका अनुसार २ अंकको स्वर्ण पदकको लक्ष्य राखेर सम्भावित खेलाडीलाई वैशाखदेखि नै बन्द प्रशिक्षणमा राखिएको छ। त्यस्तै, स्वर्ण पदक ल्याउने खेलाडीलाई तीन लाख रुपैयाँ प्रदेश सरकारले पुरस्कार दिने तयारी समेत गरेको छ।
भदौ २२, २०८१ आइतबार १५:१८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।