फेसन डिजाइनर सुनिताको प्रसव पीडा र खुसी : बच्चा नचलेपछि नर्सहरूले वास्तै गरेनन्, डाक्टरले ‘जिउँदै छ’ भनेपछि अप्रेशन भयो
पेशाले फेसन डिजाइनर सुनिता भुजेल, आफ्नै बुटिक सञ्चालनमा ल्याएको पाँच वर्ष भयो। सामान्य सिलाइबुनाइ सिकेर घरगृहस्थ गरिरहेकी उनले पहिलो सन्तान भएपछि सिलाईमा आफूलाई पोख्त बनाइन्। त्यही अनुभवले उनले बुटिक समेत खोलिन्।
चितवनमा जन्मिएकी उनी स्कुल पढ्दै गर्दा आफ्नै साथीसँग माया बस्यो तर अन्तर्जातीय। मायामा जात र धर्म हेरिँदैन भन्ने सुनेका उनीहरूले आफ्नै जीवनमा भोग्न पाए।
अन्तर्जातीय भएकाले उनीहरूको सम्बन्धलाई गाउँले मान्यता दिएन। अनि उनीहरू दुवै जान अल्लारे उमेरमै भागेर काठमाडौं आए। श्रीमानले यतै साँचो ताल्चा बनाउने दोकान खोले। उनी भने घरमै सीमित भइन्।
लामो समयसम्म परिवारबाट एक्लिएकी उनको पहिलो सन्तान भएपछि भने माइती पक्षले स्वीकार्यो। दुवै परिवारबीच आपसी सद्भाव पनि बढ्दै गयो। सन्तान भएपछि सुनिताले आत्मनिर्भर हुनुपर्छ भन्ने अठोट गरिन्।
अहिले सुनिता दुई सन्तानकी आमा हुन्। कामसँगै परिवार पनि हेर्दै आएकी उनीसँग उकेराको नियमित स्तम्भ ‘प्रसव पीडा र खुसी’मा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :
हाम्रो समयमा एसएलसी सकेपछि केही सीप सिक्नुपर्छ भन्ने मान्यता थियो। त्यही भएर मैले चितवनमै सिलाइबुनाइ सिकेकी थिएँ। हामी भागेर काठमाडौं आएपछि पढाइ र सीप अड्कियो। पढाइलाई मन हुँदा-हुँदै पछि पनि निरन्तरता दिन सकिन तर सीप भने प्रयोग गरिरहेँ। अहिले त यसमा धेरै जना आकर्षित भएको हुनाले मैले पनि आफ्नै बुटिकसम्म खोल्न सक्षम भएँ।
अन्तरजातीय विवाहबारे अहिले केही उदारता देखिए पनि त्यतिबेला गाउँमा ठूलो इश्यू हुन्थ्यो। म घरकी जेठी छोरी। स्वभावैले घरमा बढी आशा राखेको छोरीले नै परिवारको इच्छा विपरीत विवाह गरेपछि उहाँहरूलाई नराम्रो लागेको होला।
हामी पनि अल्लारे उमेरको कसैले नमानेपछि भागेर काठमाडौंमा आश्रित भयौँ। परिवारले दिल खोलेर स्वीकार्न त धेरै नै समय लाग्यो। साँच्चै भन्नुपर्दा बिहेपछि हाम्रो धेरै कुरा बद्लिएको थियो। काठमाडौंजस्तो महँगो शहरमा हामी जस्तो सानो उमेरको केटाकेटीले ‘जिरो’देखि शुरू गर्नुपर्दा गाह्रो नै भयो नि!
विवाह गरेको डेढ/दुई वर्षपछि हाम्रो पहिलो सन्तान भयो। गर्भवतीको समयमा मैले आफ्नो आमालाई, माइतीलाई धेरै सम्झिए। एक त आफैँ पनि सानै रहेछु। अहिले सोच्दा झन् नराम्रो लाग्छ। फेरि गर्भवती भएको तीन महिनापछि मात्र थाहा पाएँ मैले।
मलाई जन्डिस भएर एकदम कमजोर भएपछि जँचाउन जाँदा गर्भवती भएको थाहा पाएँ। त्यो केही डर, केही उत्सुकता सहितको एकदम मिश्रित अनुभव थियो। डाक्टरले के खाने, के नखाने भनेर पूरै सल्लाह दिनुभयो। जन्डिस त निको भयो। तर, मैले खाना भने केही पनि खान सकिन। अहिले पो मोटाएर ठूलो देखिएकी छु, त्यतिबेला त मात्र ४४ केजी थिएँ।
‘बच्चा छ’ भन्दै डाक्टरले तत्काल अप्रेशनको व्यवस्था गरे
गर्भवती अवस्थामा कुनै पनि खानेकुराको गन्धले बसि खान भएको थिएन। चिकेन र काउली त झन् सबैभन्दा मन नपर्ने सब्जी बनेको थियो। त्यसबेला बरु साग चैँ खूब खाएँ। त्यसबेला श्रीमान् पनि काममै व्यस्त हुने भएकाले कोठामा म एक्लो महसुस गर्थेँ। कसैसँग पनि चिनजान नभएकाले छिमेकमा बोलचाल पनि थिएन।
डेलिभरीको समय नजिकिँदै गर्दा चैँ श्रीमान् र मैले सल्लाह गरेर चितवनमै गयौँ। डाक्टरले त हिँड्न हुन्न भन्नुभएको थियो। तर, हामीलाई त्यसबेला परिवार नजिक नभए झन् गाह्रो हुन्छ भन्ने थाहा थियो। त्यसैले गयौँ। त्यसबेला साँच्चै एकदमै गाह्रो भयो। त्यसमाथि बच्चा पनि उल्टो भएछ।
हामी घरमा पुगेपछि मेरो त रगत बग्न थाल्यो। हामी तुरुन्तै हस्पिटल गयौँ। बच्चा त उल्टो भएर चल्न नसक्ने भएछ। बच्चा नचलेको भनेर नर्सहरूले त वास्ता नै गरेका थिएनन्।
पछि डाक्टर आएर ‘बच्चा छ’ (जिउँदै छ) भन्दै तत्काल अप्रेशन गर्नुपर्ने भन्नुभयो। अप्रेशन गर्ने, बच्चा छ/छैन भन्दा मैले त केही मेसो पाइरहेकै थिइन। सायद त्यो उमेर पनि त्यस्तै थियो कि! के भइरहेको छ भनेर समेत बुझ्न सकिरहेको थिइन मैले।
गर्भावस्थाको अन्तिम समयमा मेरो गोडाहरू पूरै सुन्निएर हिँड्न पनि नसक्ने भएको थिएँ। आमा र बच्चाको दुवैको अवस्था खराब भए पनि केही दुखाइ थिएन। व्यथा लागेको थिएन। रगत भने बगेको बग्यै भइरहेको थियो। पछि एनेस्थेसिया लगाइयो।
सकेसम्म आमा बेहोस नहोस् भनेर डाक्टरहरूले बोलिराख्नुभएको थियो। मलाई मेरो विवाह अनि काठमाडौंमा गएको बारेमा सबै प्रश्न सोधेको याद छ। त्यसको केहि बेरपछि त तपाईंको बच्चा भनेर बाबुलाई छातीमा राखिदिनुभयो।
बाबुको स्वास्थ्य अवस्था ठिक थियो। त्यति धेरै रगत बगे पनि दुवै सुरक्षित भयो भनेर सबैले भाग्यमानी रहेछौ भन्नुभएको थियो। बाबुको अनुहार देखेपछि म आफैँलाई पनि संसारकै भाग्यमानी महसुस भएको थियो। एकदम गुडिया जस्तै, सबै भन्दा राम्रो बच्चानै मेरो होला भन्ने सम्म लाग्यो। तर, बाबुलाई मैले स्तनपान गराउन जानिन, सकिन। उसले छिट्टै बजारको दूध खानु पर्यो।
हस्पिटलमा मलाई भेट्न मेरो ममी आउनुभएको थियो। आफैँ आमा हुन पाएको अनि धेरै समयपछि बोल्न नपाएको आफ्नो आमालाई अगाडि देख्दा एकछिन त भावुक माहोल भयो। एकदम खुसीको क्षण थियो त्यो। सासु ससुरा पहिलादेखि नै हुनुहुन्थेन। माइतीपछि जेठानीले मेरो खुब स्याहार गर्नुभयो। जे होस्, गर्भवतीको समयमा मैले जुन अभाव महसुस गर्नुपरेको थियो, सुत्केरी हुँदा एक्लोपन भएन।
श्रीमान् त केही समयपछि फर्किहाल्नु भयो। म त लगभग सात महिना उतै बसे। बाबुको पास्नीमा समेत उहाँ त आउन पाउनुभएको थिएन। त्यो बेला अहिलेको जस्तो भिडियो कलको चलन पनि थिएन। सात महिनाको बच्चा त ठूलै हुन्छ नि!
म काठमाडौंमा आउँदा त उहाँले आफ्नो बच्चा पनि चिन्नुभएको थिएन। बाबु फेरि एकदम हँसिलो अनुहारको, जोसँग पनि झ्याम्मिने स्वभावको। सानैदेखि एकदम ज्ञानी, धेरै दु:ख नदिने भएको कारण मलाई कामको बारेमा सोच्न पनि सहज भयो।
काठमाडौं आएपछि मैले आफ्नो व्यवसाय पनि थालेँ। बाबु दश वर्ष भएपछि हाम्रो दोस्रो सन्तान भयो। सबैले बच्चालाई एउटा साथी त चाहिन्छ भन्थे। अगाडि हामीले त्यति वास्ता पनि गरेनौँ।
छोरी होला भन्ने लागेको थियो, छोरै भयो
एउटा हुँदा म पनि अलि बढी बाबुमै ध्यान दिने, आत्तिने हुन्थेँ। पछि अर्को भए पछि चैँ आत्तिने पनि कम भएको महसुस गरेँ। दोस्रो पनि बाबु नै हो। भाइ भएपछि ठूलो बाबु झन् आफैँ जिम्मेवार भएको जस्तो लाग्छ।
पहिलो भन्दा दोस्रो सन्तानको समयमा मलाई धेरै सहज भएको जस्तो लाग्छ। उमेर र मानसिकताले परिपक्व भएर पनि होला। त्यसबेला मलाई त खाना पनि रुचेको थियो। त्यही भएर हो कि प्रसव व्यथा पनि लाग्यो जुन अगाडिको सन्तानमा लाग्ने सकेन। तर, दोस्रो सन्तान समयभन्दा अगाडि नै सात महिनामा जन्माउनु पर्यो। उसलाई पनि अप्रेशन गरेर नै निकालेको हो।
उसलाई पहिलो पटक देख्दा छोरी होला भन्ने लागेको थियो। बाबु रहेछ। अगाडि नै बाबुहरू बीचको उमेर अन्तर धेरै भएको कारण हामीले फेरि छोरी पाउनुपर्छ, अर्को पनि पाउनुपर्छ भन्ने जस्तो कुराहरू सुनेनौँ। अहिले ठूलो बाबु नौ कक्षामा पढ्दैछ भने सानो युकेजीमा पढ्छ। भाइलाई हेर्ने, स्कुल सँगै लाने र होमवर्क सिकाउने सबै ठूलो बाबुले नै गर्छ।
अहिले उनीहरूको लागि हामी मात्र नभएर उनीहरू आफैँ पनि भएको महसुस हुन्छ। दुवै जना भएको कारण मैले पनि आफ्नो कामलाई अगाडि बढाउन सकिरहेको छु। केही कर्मचारी पनि राखेको छु। जे होस् काठमाडौंमा टिक्न सकिरहेकै छ।
अब उनीहरूको पढाइ र आफ्नो कामको बारेमा सोच्ने बाहेक मलाई अरु केहीको पनि चिन्ता छैन। १८ वर्ष अघि दुई जना हामी यहाँ आएकोमा अहिले चार जना भएका छौँ। सानो, खुसी परिवारलाई यो भन्दा अरु के नै चाहियो र!
भदौ २२, २०८१ आइतबार १४:२३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।