डा. पुनमको उपचार अनुभव : आधुनिक उपचारले ठिक नभए मात्रै ‘एक पटक गइहेरौँ न भन्दै आयुर्वेदमा आउँछन्, निको हुनसक्ने समस्या जटिल भइसकेको हुन्छ

डा. पुनमको उपचार अनुभव : आधुनिक उपचारले ठिक नभए मात्रै ‘एक पटक गइहेरौँ न भन्दै आयुर्वेदमा आउँछन्, निको हुनसक्ने समस्या जटिल भइसकेको हुन्छ

डा. पूनम नेपालले आयुर्वेद चिकित्सकको रुपमा काम गर्न थालेको करिब १२ वर्ष भयो। उनी हाल बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंमा कार्यालय प्रमुखको भूमिकामा छिन्।

विरामीको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गर्नु, योग सिकाउनु सँगै कार्यालय प्रमुखका रूपमा प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व लिएर काम गर्नु उनको दैनिकी हो। उनै चिकित्सक डा. पूनमले चिकित्सकीय पेसाको शिलशिलामा देखे भोगको अनुभव उकेरासँग साटेकी छन् :

प्रसंग करिब सात वर्षअघिको हो। करिब २७ वर्षका युवा करिब दश वर्षदेखि छालाजन्य समस्याले पीडित भएका रहेछन्। उपचारको खोजीमा भौतारिँदै उनी नरदेवी आयुर्वेद चिकित्सालयमा पुगे। ती युवा छाला चिलाउने र कन्याउँदा सेतो तथा फुस्रो हुने समस्याले पीडित भइरहेका थिए।

डा. पुनमले ती युवाको स्वास्थ्य परीक्षण गरिन् र छालाजनन्य समस्या पत्ता लगाइन्। त्यसपछि डा. पुनमले ती युवालाई तीन वटा खाने आयुर्वेदिक औषधि लेखिदिइन्। नभन्दै आयुर्वेदिक औषधि सेवन गर्न थालेपछि ती युवाको छालाजन्य समस्या ठिक हुँदै गयो। करिब तीन महिनाको औषधि सेवनपछि ती युवाको छालाको त्यो समस्या पूर्ण रुपमा नै ठिक भएको डा. पुनमले सुनाइन्। दश वर्षदेखिको समस्या ठिक भएपछि उनी खुसी नहुने कुरै भएन।

अनि ती युवाले आफू ठिक भएपछि घर, परिवार तथा आफन्तलाई कुनै स्वास्थ्य समस्या भयो भने डा. पुनमसँग नै परामर्श तथा औषधि उपचारका लागि पठाउन थाले। बिरामीले आफू ठिक भएर बिस्वास गर्दै उपचारका लागि अरूलाई समेत पठाउँदा निक्कै आनन्द लाग्ने गरेको उनले सुनाइन्। 

गाउँघरमा त औषधि उपचारपछि बिरामीको स्वास्थ्य समस्या ठिक हुँदा ‘काठमाडौंबाट नयाँ डाक्टर साप आउनुभएको छ रहेछ, उहाँले उपचार गर्नुभयो, मलाई चट्टै भयो’ भन्दै खुसी भएर अरु बिरामी पनि उनीकहाँ पठाएको डा. पुनम सम्झिन्छिन्। 

७५ वर्षकी आमैको ग्याष्ट्रिक चैट भएर बान्ता रोकिएपछि...
प्रसंग करिब आठ वर्षअघिको हो। करिब ७५ वर्षकी आमै लामो समयदेखि ग्याष्ट्रिकले ग्रसित भएकी थिइन्। ती आमैलाई केही खानेबित्तिकै बान्ता भइहाल्थ्यो।  त्यसैगरी ग्याष्ट्रिकका कारण पेट पोल्ने, घाँटी पोल्ने, घाँटी तथा छाती चिरिएको जस्तो हुनेजस्ता समस्याले आमै हैरान थिइन्। 
 
ती आमैलाई उनले थाहा पाएदेखि नै ग्याष्ट्रिकको समस्या रहेछ। त्यसैले गर्दा ती आमैले लामो समयदेखि राम्रोसँग खानपान गर्न पनि सकिरहेकी थिइनन्।

त्यसबेला डा. पुनम लमजुङको बाँजाखेतस्थित ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र’मा काम गर्थिन्। आफूकहाँ आएकी ती आमैको समस्या पहिचान गरेपछि डा. पुनमले आयुर्वेदिक औषधि दिइन्। उनले औषधि सेवन गर्न थालिन्। आयुर्वेदिक औषधि सेवन गर्न थालेको करिब एक हप्तापछि ती आमैले खाएको खाना पेटमा अडिन थालेछ। बान्ता हुन छोडेछ। 

केही दिनपछि फलोअपमा जाँदा डा. पुनमलाई भेटेर ती आमैले ‘मेरो पेटमा खाना अडिन थाल्यो है नानी’ भन्दै खुसी व्यक्त गरिछन्। लमजुङमा बस्दासम्म ती आमै बेलाबेलामा फलोअपमा पुगेर डा. पुनमलाई भेटथिन्। आफ्नो ग्याष्ट्रिकको समस्या ठिक भएकाले आमै निक्कै खुसी थिइन्। ती आमै खुसी भएको त्यो क्षण सम्झँदा अझै डा. पुनमलाई आनन्द लाग्छ।

शरीर अनुकूलको खानपान गर्न नजान्दा ती आमैलाई ग्याष्ट्रिकको  समस्याले सताएको थियो। 

रोग लाग्नुको प्रमुख कारण आहार विहार नै भएकाले खानपान तथा जीवनशैलीमा ध्यान दिनुपर्ने उनको सुझाव छ। मौसम तथा ऋतु अनुसारको खानपान गर्नेलगायत जीवनशैली अपनाउन उनको सुझाव छ। रोग लाग्न नदिन नै स्वास्थ्य संस्थामा गएर परामर्श लिनुपर्ने उनी सुझाव दिन्छिन्। 

५५ वर्षकी ती महिलाको घुँडा दुख्ने समस्या ठिक भएपछि...
करिब ५५ वर्षकी एक महिला घुँडा दुख्ने समस्या लिएर अस्पताल पुगिन्। उनको घुँडा दुख्ने समस्या सुरू भएको करिब पाँच वर्ष भइसकेको थियो। उनी उपचारका लागि धेरै ठाउँमा पुगिछन्। तर, समस्या ठिक भएन। अनि उनलाई कसैले आयुर्वेदिक उपचार गर्यो भने ठिक हुन्छ भनेर सुनाएछन्। 

आयुर्वेदिक अस्पताल पुगेकी ती महिलाको डा. पुनमले स्वास्थ्य परीक्षण गरिन्। अनि उनको स्वास्थ्य परीक्षणपछि डा. पुनमले जडिबुटीसहितको वाफले सक्ने उपचार विधि अपनाइन्। ती महिलालाई औषधिको तेलले मालिस गर्ने, जडिबुटीको बाफ दिने लगायत पञ्चकर्मका विभिन्न उपचार विधि अपनाइयो।

आयुर्वेदिक औषधि उपचार गर्न थालेको ६ दिनमा त ती ५५ वर्षे महिलाको घुँडाको समस्या पूरै ठिक भयो। अहिले पनि ती महिला फलोअपमा नै रहेको र उनको घुँडाको समस्या सामान्य अवस्थामा नै रहेको डा. पुनमले सुनाइन्। 

भक्तपुरमा जन्म, छनोटमा आयुर्वेद
पुनम भक्तपुरको कटुन्जेमा २०४३ मा जन्मिएकी हुन्। उनले भक्तपुरकै ‘ॐ सेकेण्डरी स्कुल’बाट २०५८ एसएलसी गरिन्। एसएलसीपछि उनले काठमाडौंको थापाथलीबाट ‘क्लासिक एकेडेमी’बाट ‘प्लस टु’ गरिन्।

त्यसो त पुनमलाई डाक्टर बन्ने इच्छा थियो। तर, उनले चिकित्सकीय विद्यामा आयुर्वेद चिकित्सा पद्धति नै पढ्ने निर्णय गरिन्। त्यसैले ‘प्लस टु’पछि पुनमले त्रिभुवन विश्वविद्यालय अन्तर्गत आयुर्वेद क्याम्पस कीर्तिपुरमा २०६२ मा स्नातक तहको बीएएमएस (ब्याचुलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी) पढ्न थालिन्।

२०६८ मा उनले इन्टर्नसिपसहित साढे पाँच वर्षे बीएएमएस अध्ययन सकिन्। त्यसपछि करिब एक वर्ष निजी आयुर्वेद अस्पताल तथा क्लिनिकमा काम गरिन्। 

सरकारी जागिर र उपत्यका बाहिर काम
डा. पुनम जागिरको शिलशिलामा घर छोडेर मकवानपुरको हेटौंडास्थित तत्कालीन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा करिब एक वर्ष काम गरिन्। हेटौंडापछि उनी सरकारी जागिरमा प्रवेश गरिन्। उनी लोकसेवा मार्फत आठौंं तहको स्थायी आयुर्वेद चिकित्सकका रुपमा २०७० मा सरकारी जागिरमा प्रवेश गरिन्। 

स्थायी सरकारी जागिरे भएपछि उनी पहिलो पोष्टिङ भएर पर्वतको फलेवासस्थित ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र’मा पुगिन्। त्यहाँ करिब दुई वर्ष काम गरेपछि सरुवा भएर लमजुङको बाँजाखेतस्थित ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र’मा पुगिन्। त्यहाँ उनले करिब एकवर्ष काम गरिन्।

उपत्यका बाहिरको केही समयको अनुभवपछि डा. पुनम सरुवा भएर काठमाडौंको नरदेवीस्थित ‘नरदेवी आयुर्वेद चिकित्सालय (नरदेवी आयुर्वेद अस्पताल)’ आइन्। त्यहाँ उनले एकवर्ष काम गरिन्। 

उनले नरदेवीमा एकवर्ष काम गरेपछि भारतको ‘राजीव गान्धी युनिभर्सिटी एण्ड हेल्थ साइन्स’ अन्तर्गत बैंलोरस्थित ‘श्री धर्मस्थल मञ्जुनाथ्येश्वर कलेज अफ आयुर्वेद (एसडीएम)मा २०७४ मा आयुर्वेद विषयमा स्नातकोत्तर तहको एमडी अध्ययन थालिन्। २०७७ मा उनी एमडी अध्ययन सकेर नेपाल फर्किइन्। त्यसपछि डा. पुनम दोलखा जिल्लाको तत्कालीन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पुगेर करिब दुई वर्ष काम गरिन्।

दोलखामा दुई वर्ष काम गरेपछि उनी सरुवा भएर बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंमा आइन्। त्यसपछि अहिले उनी यहीँ कार्यालय प्रमुखको भूमिकामा छिन्। उनले आयुर्वेद चिकित्सकका रुपमा काम गर्न थालेको करिब १२ वर्ष भयो।  उनले चिकित्सकीय पेसाको शिलशिलामा अधिकांश समय उपत्यका बाहिरै बिताएकाले  उपत्यका बाहिर बसोबास गर्ने व्यक्तिको स्वास्थ्यको समस्या तथा त्यसले पार्ने प्रभाव लगायत उनले नजिकबाट बुझ्ने मौका पाएकी छन्।

लामो समय घर बाहिर बसेर काम गर्दा कहिलेकहीँ त निराश भइन्। तर, बिरामीको उपचारपछि रोग सञ्चोपार्दा उनले निराशा भुल्थिन्। पछिपछि उनले उपत्यका बाहिर बस्न पाउनुलाई अवसरका रुपमा लिन थालिन्। 

कतिपय बिरामी त डा. पुनमको नाम नै लिएर ‘मलाई फलानो डाक्टरसाप भेट्नुछ’ भन्दै उनलाई भेट्न आउँछन्। एउटा चिकित्सकलाई आफ्नो नाम नै लिएर स्वास्थ्य समस्या समाधानका लागि भेट्न आउँदा उनलाई आनन्द लाग्ने नै भयो। 

बैलमा उपचार गरेर आयुर्वेदिकले ठिक
आयुर्वेद चिकित्सा वैकल्पिक चिकित्सा नभई मूल चिकित्सा पद्धति भएको डा. पुनम बताउँछिन्।  त्यसपछि नै आधुनिक चिकित्सा पद्धति आएको उनले सुनाइन्। तर, आयुर्वेद उपचार पद्धति पनि परिमार्जन गर्दै लानुपर्ने अनि आयुर्वेद र आधुनिक चिकित्सा पद्धति सँगसँगै अगाडि लानुपर्ने उनको धारणा छ। 

तर, बिरामीहरू आधुनिक चिकित्सकीय पद्धतिबाट उपचार गर्दा ठिक नभएको खण्डमा मात्रै ‘एक पटक गइहेरौं न त, ठिक भइहाल्छ की’ भनेर अन्तिम विकल्पका रुपमा मात्रै आयुर्वेद उपचार पद्धतिमा जाने प्रवृत्ति रहेको उनको अनुभव छ।

यसले गर्दा  उपचार गरेर ठिक हुनसक्ने समस्या पनि कठिन भइसकेको हुन्छ। तर, बेलैमा आयुर्वेदिक उपचारमा गए कयौँ रोग ठिक हुने उनले सुनाइन्। 

त्यसो त सबै रोग आयुर्वेदिक उपचार पद्धतिबाट ठिक नै हुन्छ भन्ने एकिन हुँदैन। आयुर्वेदिक उपचार पद्धतिबाट ठिक नहुने किसिमको स्वास्थ्य समस्या भए उनी आधुनिक चिकित्सा पद्धतिमा उपचारका लागि पनि बिरामी रेफर गर्छिन्। 

भान्छाघर नै औषधालय भएकाले व्यक्ति स्वस्थ रहन खानपानमा ध्यान दिनुपर्ने उनी बताउँछन्। कतिपय व्यक्तिमा आयुर्वेदिक औषधि जहिल्यै प्रयोग गरे पनि काम गर्छ भन्ने गलत धारणा रहेको उनले सुनाइन्। तर, केही बाहेक उत्पादनपछि तोकिएको समयभित्र प्रयोग गरिसक्नुपर्ने मिति नाघेका औषधि प्रयोग गर्न नहुने उनले सुनाइन्। आयुर्वेद चिकित्सकको सल्लाहमा मात्रै आयुर्वेदिक औषधि सेवन गर्न उनको सुझाव छ। 

असार २१, २०८१ शनिबार १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।