डियर सुशासन! म तिम्रो शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु

डियर सुशासन! म तिम्रो शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु

तस्कर सप्रेका छन्-
उसलाई छोइसक्नु छैन
गाउँमा नौलो मान्छे देख्दा केटाकेटी लुके जस्तै
तस्कर दाइ आफ्नो कारोबारमा जुट्दा
यहाँ ऐन कानून लुक्छन्।
प्रहरी, प्रशासन कुना पस्छन्।
राज्य शीतनिन्द्रामा पुग्छ।

राजनीतिकर्मी सप्रेका छन्-
ठेकेदार बनेर पनि उनै आउँछन्
उपभोक्ता समिति बनेर पनि उनै आउँछन्
लाइसेन्स वितरण पनि उनै गर्छन्
लाइसेन्स पनि उनै लिन्छन् 
नियुक्ति पनि उनै दिन्छन्
नियुक्ति लिने पनि उनै हुन्छन्
टोले गुन्डाहरूले हाटमा पसलेसँग हप्ता असुलेर आपसमा बाँडेजस्तै
विश्वविद्यालय, संवैधानिक आयोग र न्यायाधीशको नियुक्तिमा समेत
पदको बाँडफाँट उनै गर्छन्।

बिचौलिया सप्रेका छन्-
किसान फसल उत्पादन गर्छ
बिचौलिया जुँगामा ताउ लगाउँछ
गिट्टी बालुवाको कारोबार बढ्छ
बिचौलिया दङ्ग पर्छ
ठेक्कापट्टा, टेन्डर र लाइसेन्सको कुरा आउँछ
बिचौलिया बीचमा उभिन्छ।
सरुवा र बढुवाको प्रसङ्ग उठ्छ
बिचौलिया खुशी हुन्छ।
कोही सङ्गीन अपराधमा जेल पर्छ
बिचौलिया ताउर माहुर गर्छ।
कुनै पनि अड्डामा जाऔँ
बिचौलिया ढोकामै छ,
सेवाग्राहीलाई पहिले उसैले दुहुन्छ।
अनि कता पारदर्शिता!
अनि कता जवाफदेहिता! 
अनि कता भ्रष्टाचार निवारण!
अनि कता विधिको शासन!
अनि कता दण्डहीनताको अन्त्य!

तिम्रै मात्र हालत कहिल्यै सुध्रिएको देखिएन
तिमी सिकिस्त नै रह्यौ सधैँ
डियर सुशासन, म तिम्रो शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

जेठ २९, २०८१ मंगलबार १३:३२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।