काठमाडौँको फोहोर व्यवस्थापनको जिम्मा लगानी बोर्डलाई

काठमाडौँको फोहोर व्यवस्थापनको जिम्मा लगानी बोर्डलाई

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी काम लगानी बोर्डले अगाडि बढाएको बताएका छन्।

काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीसँगको छलफलमा उनले उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिएका हुन्।

उनले उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय सङ्घीय सरकारले गरोस् भन्ने सिफारिस गरे अनुसार सरकारले लगानी बोर्डलाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको र बोर्डको बैठकमा समेत यस सम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको जानकारी दिएका थिए। उनले अब यो काम तीव्रतामा अगाडि बढ्ने बताएका थिए।

छलफलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व थियो।

जेठ २५, २०८१ शुक्रबार १४:५३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।