काठमाडौं महानगरले भत्काएको बाटोमा सडक डिभिजन कार्यालयले गर्यो कालोपत्रे

काठमाडौं महानगरले भत्काएको बाटोमा सडक डिभिजन कार्यालयले गर्यो कालोपत्रे

काठमाडौं : न्युरोड क्षेत्रमा फुटपाथ सडक फराकिलो बनाउन भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि दुई निकायबीच विवाद बढेको छ। कार्यालयले सडक कालोपत्रे गर्न लागेपछि महानगरको प्रहरीले अवरोध गरेका हुन्। 

सोमबार महानगरले फुटपाथ विस्तारका लागि भत्काएको सडकमा सडक डिभिजन कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेपछि महानगरपालिकाले हस्तक्षेप गरेको हो। महानगरका प्रहरीले सडक कालोपत्रे कार्यमा बाधा पुर्याउन कालोपत्रे रोक्ने कार्यमा नगर प्रहरीले हस्तक्षेप गर्न खोजेका थिए। 

सोही क्रममा सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर अर्जुन नेपालीले अनुमतिबिना महानगरपालिकाले सडक भत्काएकाले आफूहरूले कालोपत्रे गर्न थालेको बताए। 

उनले भने, ‘यो सडक हामीले हेर्ने हो। यसको मर्मत पनि हामीले गर्दै आएका छौ। कुनै निकायले कुनै गतिविधि गर्दा हामीसँग समन्वय गरेर गर्नुपर्छ। हामीसँग अनुमति लिनुपर्छ। यो हाम्रो कार्यक्षेत्र हो यहाँ हाम्रो अनुमतिबिना कुनै पनि कामहरू गर्न पाइँदैन। सडक बिग्रिएको हुनाले यसलाई पुन स्थापना गर्न आएको हो।’ 

विवाद मिलाउन नगर प्रहरी र सडक विभागका अधिकारीहरूबीच न्युरोडमा छलफल पनि भएको थियो। 

काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेर सडक भत्काउने काम थालेको थियो। सोही विषयमा महानगर र सडक विभागबीच पत्र काट्ने तथा स्पष्टीकरण सम्मको तनावको स्थिति पैदा भएको थियो। 

जेठ २१, २०८१ सोमबार १६:०२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।