सन् २०२३ मा विश्वभर ११५३ जनालाई मृत्युदण्ड, सबैभन्दा धेरै इरानमा !

सन् २०२३ मा विश्वभर ११५३ जनालाई मृत्युदण्ड, सबैभन्दा धेरै इरानमा !
प्रतिकात्मक तस्बिर

काठमाडौं : विश्वभर सन् २०१५ पछि सबैभन्दा धेरै मृत्युदण्ड सन् २०२३ मा दिइएको एक तथ्यांकले देखाएको छ। एम्नेस्टी इन्टरनेशनलले  सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वभर मृत्युदण्डको सजाय दिइएकोमध्ये सन् २०२३ मा सन् २०१५ यताकै सबैभन्दा ठूलो संख्या छ। 

सन् २०१५ मा १ हजार ६३४ जनालाई मृत्युदण्ड दिइएको थियो भने सन् २०२३ मा एक हजार एक सय ५३ जनालाई मृत्युदण्डको सजाय दिइएको एम्नेष्टीले जनाएको छ। 

प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभर मृत्युदण्डको सजाय ३० प्रतिशतले वृद्धि भएको हो। सो वर्ष मृत्युदण्ड दिइएका मध्ये सबैभन्दा बढी इरानमा ८५३ जना छन्। जसमा २४ महिला र ५ बालबालिका समेत रहेका छन्। 

त्यस्तै, चीनमा पनि हजारौँ मानिसलाई मृत्युदण्डको सजाय दिइएको छ। तर, चीनले भने आधिकारिक तथ्यांक नदिँदा प्रतिवेदनमा समावेश गर्न नसेकेको एम्नेष्टीले जनाएको छ। 

एम्नेष्टी इन्टरनेशनलका महासचिव आग्नेस कालामारले इरानमा मानव जीवनको घोर उपेक्षा रहेको टिप्पणी गरेकी छन्।

‘मान्छेको जीवनको मूल्य हुनुपर्छ। तर, इरानमा त्यस्तो छैन, त्यहाँ स–सानो विषयमा पनि मृत्युदण्ड दिइएको पाइएको छ,’ उनले भनिन्। 

प्रतिवेदनअनुसार त्यहाँ विशेषगरी गरिब बलुच समुदायका मानिसहरूलाई भेदभावपूर्ण तरिकाले मृत्युदण्ड दिइएको छ। 

इरानपछि धेरै मृत्युदण्ड दिनेमा साउदी अरेबिया, सोमालिया र अमेरिका छन्। अमेरिकामा दुई वर्षमा ४२ जनालाई मृत्युदण्ड दिइएको छ। 

तर, अमेरिकामा भने मृत्युदण्डको सजाय कम हुन थालेको छ। अमेरिकामा सन् २०२२ मा १८ जनाले मृत्युदण्ड पाएका थिए भने सन् २०२३ मा २४ जनालाई मात्रै मृत्यदुण्ड दिइयो। 

जेठ १७, २०८१ बिहीबार १६:५९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।