बाली होइन, बिउ उत्पादनले आत्मनिर्भर

बाली होइन, बिउ उत्पादनले आत्मनिर्भर

सुर्खेत : सुर्खेतको गुर्भाकोटका स्थानीय कृषक बिउ उत्पादनबाट आत्मनिर्भर बन्न थालेका छन्। खाद्यान्न बाली भन्दा बिउ उत्पादनमा लगानी र समय दिँदा उनीहरू आम्दानी बढेको हो।

गुणस्तरीय बिउ उत्पादन गरेसँगै उनीहरूको बिउको माग झापासम्म भएको स्थानीय बिउ उत्पादक खड्गबहादुर खत्री बताउँछन्। १० वर्षअघिसम्म तरकारी तथा खाद्य बालीको बिउ लिनका लागि वीरेन्द्रनगर पुग्नुपर्ने अवस्था भए पछि अब त्यसको अन्त्य भएको छ।

गुर्भाकोट-७ का खत्रीले १० कट्ठा जग्गामा हिउँदे र बर्खे गरी दुई सिजन भिन्डी र सुक्खा चार धानको बिउ उत्पादन गर्छन्। उनको आम्दानीको मुख्य स्रोत नै बिउ उत्पादन हो। उनले यहि कामबाट वार्षिक तीन लाखसम्म आम्दानी गर्छन्।

‘पहिले बिउकै लागि वीरेन्द्रनगरसम्म पुग्नुपर्ने अवस्था थियो। सहजै पाइँदैनथ्यो। पछि आफैँ उत्पादन गरेपछि बिउमा आत्मनिर्भर भइयो,’ उनले भने, ‘अहिले त बिउ पुर्याउनै मुस्किल छ। मूल्य पनि राम्रै पाएका छौँ।’

गुर्भाकोटकै अर्का कृषक लिलबहादुर थापाले आठ हेक्टर जग्गामा मकै, धान, गहुँ, बदाम लगायतका बिउ उत्पादन गरेका छन्। उनले बिउबाटै वार्षिक साढे तीन लाखसम्म आम्दानी गरिरहेको बताए।

‘बिउमा केही मिहिनेत भए पनि बजार राम्रो छ,’ थापाले भने, ‘अहिले त खाने उत्पादन भन्दा पनि हाम्रो प्राथमिकता राम्रो बिउ उत्पादनमै छ। यहाँको बिउलाई ब्रान्ड बनाउन लागेका छौँ।’

खत्री र थापा जस्तै गुर्भाकोट नगरपालिकाका १४ वटै वडाका, भेरीगंगा नगरपालिकाका २ वटा वडा र सिम्ता गाउँपालिकाको एक वडाका एक हजार ६ सय ४५ जना कृषकहरू बिउ उत्पादनमा जोडिएका छन्। जसबाट उनीहरूले राम्रो आम्दानी गरिरहेका छन्।

बिउ उत्पादनमा ९ सयभन्दा बढी महिला कृषक सहभागी छन्। जसमा आठ सय ८० महिला कृषकहरूले प्रतिवर्ष ४५ हजारदेखि ७० हजारसम्म बिउ उत्पादनबाट अम्दानी गर्दै आएका छन्। त्यस्तै एक सय ५६ जना महिला कृषकले बिउ उत्पादनबाट वार्षिक एक लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन्।

सुर्खेतको पूर्वी क्षेत्र साविकका मैनतडा, मेहेलकुना, साहरे, दहचौर र घुमखहरे गाविसहरूमा २०५२ सालमा वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र(सिप्रेड)ले विभिन्न कृषक समूह गठन गरी तरकारी तथा तरकारी बिउ उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएको थियो।

सिप्रेडले सञ्चालन गरेको कृषि कार्यक्रमको प्रेरणा तथा कार्यक्रमले ल्याएको परिवर्तनलाई स्थानीयस्तरमा संस्थागत गर्ने हेतुले संस्थाकै प्राविधिक सहयोगमा २०५८ साल १५ मंसिरमा डिभिजन सहकारी कार्यालय बाँकेमा दर्ता भएर पवित्र जनकल्याण कृषक सहकारी संस्था स्थापना भएको थियो।

नौ वर्षअघि स्थानीय स्तरमै बिउ उत्पादन गर्ने गरेको सहकारीले हाल ‘पवित्र बिउ’ नामक उद्योग नै स्थापना गरी देशभरका ४४ जिल्लामा विभिन्न १० प्रजातिका हिउँदे, १२ प्रजातिका वर्षे तरकारी र ६ प्रजातिका खाद्यान्न बालीको बिउ उत्पादन गरी निर्यात गरिरहेको छ।

हालसम्म संस्थामा जोडिएका कृषकले उत्पादन गरेका बिउ ४४ जिल्लामा पुग्ने गरेको संस्थाका अध्यक्ष नौलसिंह खत्रीले बताए। उनका अनुसार संस्थाले विशेषगरी धान, गहुँ, मकैलगायतका खाद्यबालीको मूल बिउ उत्पादनमा जोड दिने गरेको छ। स्थानीय स्तरबाट सुरु भएको संस्थाको बिउ उत्पादनको यात्रा अहिले देशव्यापी बनेको उनको दावी छ।

संस्थाले गत आर्थिक वर्षमा वार्षिक तीन करोडभन्दा बढी आम्दानी गरेको छ। सहकारीबाट उत्पादित बिउ सबैभन्दा बढी झापा जिल्लामा निर्यात भइरहेको अध्यक्ष खत्रीले बताए।

‘किसानदेखि किसानसम्म भन्ने नीति लिएर हामीले ४२ वटा कृषक समूह बनाएका छौँ। जसबाट बिउ उत्पादन र बजारीकरण गर्दै आएका छौँ,’ अध्यक्ष खत्रीले भने, ‘हामीले कृषक समूहमार्फत ९ सय महिला कृषकलाई एक सिजनमा ४५ हजारदेखि ७० हजारसम्म आम्दानी गर्ने बनाएका छौँ।’

उनका अनुसार एक सय तीन जना कृषकहरू वार्षिक ७५ हजारदेखि एक लाख ४० हजारसम्मको बिउ उत्पादनबाट आम्दानी गरी स्वरोजगारमा जोडिएका छन्। उक्त संस्थाले कृषकलाई घाँस काट्ने मेसिन, हाते ट्याक्टर, स्प्रे मेसिन तथा प्लास्टिक टनेल, जैविक विषादी लगायतका प्राविधिक कुरामा सहयोग प्रदान गर्ने गरेको छ।

संस्थाले चालु आर्थिक वर्ष २०८०/०८१ को वैशाखसम्म तीन करोड ५४ लाख ७४ हजार ६ सय ८० रुपैयाँ बराबरको तरकारी तथा खाद्यबालीको बिउ बाहिर पठाएको छ। त्यस्तै गत आर्थिक वर्ष २०७९/०८० मा विभिन्न जातका तरकारी तथा खाद्यबालीका बिउ बेचेर तीन करोड ६८ लाख ५१ हजार एक सय ५० रुपैयाँ बराबरको कारोबार गरेको थियो।

कर्णालीको एक मात्र बिउ उद्योग सञ्चालन गरेको सहकारीले महिलालाई क्षमता अभिवृद्धिसहित रोजगारीसमेत दिँदै आएको छ। पूर्ण रूपमा महिलाहरूबाट सञ्चालित संस्थामा हाल करिब १५ जनाले प्रत्यक्ष र १७ सयभन्दा बढी किसानले अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्।

कृषिलाई आधुनिकतातर्फ प्रशोधीकरण गर्दै अर्गानिक उत्पादनमा जोड दिन बिउ उत्पादन ब्लक क्षेत्र घोषणा गरी कर्णाली प्रदेशको कृषि मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयले विभिन्न कार्यक्रम मार्फत सहयोग गरिरहेको कृषि विकास निर्देशनालय, सुखेतका निर्देशक चित्रबहादुर रोकायाले बताए।

‘निर्देशनालयले विभिन्न समयमा कृषि उपकरण खरिद, भवन निर्माण, बिउ प्रशोधन गर्ने मेसिन खरिद, बिउ ढुवानीका लागि गाडी खरिद लगायतमा ८५ लाखभन्दा बढी रकम संस्थालाई अनुदानबापत सहयोग गरेका छौं,’ निर्देशक रोकायाले भने, ‘किसानलाई कृषि कर्ममा जोड्न सहकारीमार्फत कार्यक्रम ल्याएका छौँ।’

१२ जेठ, २०८१, ०८:२१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।