सिद्धबाबा सुरुङ मार्गमा आइतबारदेखि विस्फोट गराइँदै, सवारी आवागमन प्रभावित हुने

सिद्धबाबा सुरुङ मार्गमा आइतबारदेखि विस्फोट गराइँदै, सवारी आवागमन प्रभावित हुने

बुटवल : मृत्यु मार्गका रूपमा परिचित सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमा आइतबारदेखि विस्फोट गराइने भएको छ। विस्फोटका क्रममा केही समय सवारी आवागमन रोकिने आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिइन्।

सुरुङ मार्गको भौतिक प्रगति अहिलेसम्म ११ दशमलव ४१ प्रतिशत मात्र छ। त्यसका लागि शुक्रबार विस्फोटको पूर्वाभ्यास गरिएको थियो। पूर्वाभ्यासमा कायम गर्नुपर्ने दूरी, विस्फोका समयमा बज्ने साइरन, सम्भावित जोखिम लगायतका बारेमा जानकारी गराइएको थियो।

सुरुङका लागि आवश्यक विस्फोटक पदार्थ नेपाली सेनाले नै भण्डारण गरेर राखेको छ भने उनीहरूकै उपस्थितिमा काम हुनेछ। दैनिक तीन पटकसम्म विस्फोट गराउने लक्ष्य राखिएको र अवस्था हेरेर संख्या बढाउन सकिने उनले बताइन्।

पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङसँग २०७८ फागुनमा सम्झौता गरेपछि अहिले सुरुङ मार्ग निर्माणको काम धमाधम भइरहेको छ। अहिलेसम्म सुरुङ मार्गको भौतिक प्रगति ११ दशमलव ४१ प्रतिशत र वित्तीय प्रगति १७ दशमलव ५ प्रतिशत भएको छ।

७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीलाई कुल रकम मध्ये ९१ करोड ५५ लाख ८९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। अहिलेसम्म मुख्य टनेलको ८५ दशमलव ७ मिटर खन्ने काम सम्पन्न भइसकेको छ।

दक्षिण पोर्टलबाट ४८ दशमलव ३ मिटर सुरुङ खनिएको छ भने उत्तर पोर्टलतर्फ स्लोप काटेर ढलान भई ३७ दशमलव ४ मिटर खनिएको छ। दक्षिण र उत्तरतर्फका दुवै पोर्टल, निकासका लागि राखिएका तीनवटा सुरुङ, स्लोप कटिङ, स्लोप प्रोटेक्सनलगायत काम एकसाथ भइरहेको छ।

१५ दशमलव ६ मिटरको पहिलो बाइपास टनेल, ७ मिटरको दोस्रो बाइपास टनेल र ४ मिटरको तेस्रो बाइपास टनेल खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ। सुरुङ कुल १ हजार १२६ मिटर लामो बन्नेछ।

आगामी आर्थिक वर्षमा करिब ३ अर्ब, २०८२/८३ का लागि २ अर्ब र २०८३/८४ मा १ अर्ब १८ करोड ७१ लाख आवश्यक पर्ने आयोजनाले जनाएको छ।

आयोजना अन्तरगत जोखिमयुक्त सडक मध्ये ७८० मिटर क्षेत्रमा डबल लेन, बाइपास सडक, सडकको माथिल्लो भागमा रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायत प्रविधि मार्फत साढे २ किलोमिटर सडक सुरक्षित बनाइने छ।

जेठ १२, २०८१ शनिबार ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।