उच्च अदालत सुर्खेतद्वारा ५१८ मुद्दा फछ्र्यौट​​​​​​​

उच्च अदालत सुर्खेतद्वारा ५१८ मुद्दा फछ्र्यौट​​​​​​​

सुर्खेत : उच्च अदालत सुर्खेतले आर्थिक बर्ष २०८०-०८१ मा दर्ता भएकामध्ये ७८ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ। यो बर्षको वैशाख ३० गतेसम्म दर्ता भएका कुल मुद्दामध्ये ५१८ वटा मुद्दा फछ्र्यौट गरिएको उच्च अदालत सुर्खेतका रजिस्ट्रार विश्वजंग सिजापतिले जानकारी दिए।

उनका अनुसार वैशाख ३० गतेसम्म अदालतमा ८४९ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये १६० वटा मुद्दा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका हुन्। यस आर्थिक बर्षमा उच्च अदालत सुर्खेतमा ७४४ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो। यस्तै, ६५७ वटा मुद्दा फछ्र्यौट गर्ने अनुमान गरिएको छ।

यस बर्ष फछ्र्यौट भएका मुद्दामध्ये जिम्मेवारी सरेर आएका १३७ र नयाँ दर्ता भएका ३८१ वटा रहेका छन्। अदालतले कैफियत प्रतिवेदनतर्फ ७६ मध्ये ६९ वटा निवेदन फछ्र्यौट गरेको छ।

यो बर्ष परेका ८५ वटा रिट निवेदनमध्ये ५२ वटा फछ्र्यौट भएका छन्। यस्तै, ८५ वटा निवेदन परेकोमा सबै फछ्र्यौट भएको रजिस्ट्रार विश्वजंग सिजापतिले बताए।

उच्च अदालतको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०८०-०८१ को वैशाख ३० गतेसम्म १६४ वटा जबर्जस्ती करणी सम्बन्धी, ११३ वटा कर्तव्य ज्यान, सवारी ज्यान, ज्यान मार्ने उद्योग सम्बन्धी, ५१ वटा लागूऔषध सम्बन्धी, ४७ वटा बहुविवाह तथा बालविवाह सम्बन्धी र १६ वटा सम्बन्धविच्छेद सम्बन्धी मुद्दाहरू दर्ता भएका छन्। 

वैशाख ३१, २०८१ सोमबार १९:१६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।