सिद्धान्त, पार्टी र कार्यकर्ता

सिद्धान्त, पार्टी र कार्यकर्ता

सिद्धान्त लेखियो,
सिद्धान्त घोकियो,
सिद्धान्तका कुरा गरियो
सिद्धान्तकै आधारमा पार्टी बनाइयो 
सिद्धान्तकै किताब बाँडेर संगठन गरियो
सिद्धान्तकै कुरा गरेर चुनावमा गइयो
सिद्धान्तकै आधारमा भोट मागियो

बैठकमा सिद्धान्त र पार्टी
नारा जुलुसमा सिद्धान्त र पार्टी
सभा सम्मेलनमा सिद्धान्त र पार्टी
कोणसभामा सिद्धान्त र पार्टी
चुनावी सभामा सिद्धान्त र पार्टी
आमसभामा सिद्धान्त र पार्टी
पिकनिक, बरियाँत र मलामीमा सिद्धान्त र पार्टी
लाइसेन्स वितरण र नियुक्तिमा सिद्धान्त र पार्टी
ठेक्का र उपभोक्ता समितिमा सिद्धान्त र पार्टी

सिद्धान्तको किताब मसँग अझै छ- पार्टीका साथीहरू
तपाईंहरूले दिनुभएको पार्टी सदस्यताको रसिद पनि मसँग अझै सुरक्षित छ
राजनीतिक कुरा गर्नु पर्दा
म अरू कुरा केही जान्दिनँ
म यही पार्टी र यसकै सिद्धान्त मात्र जान्दछु

समाचारमा पार्टी विभाजन भएको खबर आएदेखि
जोसुकैले ‘तेरो पार्टी कुन हो’ भनेर सोध्ला भन्ठानेर
मलाई छिमेकी भेट्न पनि डर झैँ लागेको छ
चिने जस्तो मान्छे देख्दा पनि बाटो तर्किन मन लागेको छ
तपाईंहरूले पार्टी फोर्दा
सिद्धान्तको किताब के गर्नु भएको छ?

प्रस्ट भनिदिनुस्-
किताबको कुन पेजसम्म एउटा पार्टी र कति पेजदेखि उता अर्को पार्टी?
मैले लिएको सदस्यता अब कुन पार्टीको भयो?
मैले जानेको राजनीतिक कुरा अब कुन पार्टीको हुन्छ?

लेखा राखी दिनुहोला- पार्टीका साथीहरू
मैले जानेका राजनीतिक कुरा 
अब कता चल्छ?
म अब कुन पार्टीको भएँ?
म अब कतातिर रहेँ?

महालक्ष्मी-३, बोझेपोखरी, ललितपुर

वैशाख ३०, २०८१ आइतबार १४:३३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।