शीर्ष नेताहरूले बोल्ने कार्यसूची कांग्रेसले नमान्दा संसद बैठक प्रभावित, सभामुख परामर्शमा व्यस्त

शीर्ष नेताहरूले बोल्ने कार्यसूची कांग्रेसले नमान्दा संसद बैठक प्रभावित, सभामुख परामर्शमा व्यस्त

काठमाडौं : संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारीको रकम अवैध चलन गरेको विषयमा संसदीय छानबिन समितिको मागबाट पछि नहटेपछि बजेट अधिवेशनको सुरुआत नै हुनसकेको छैन। 

आजदेखि संसदको नियमित बजेट अधिवेशन सुरु हुने कार्यक्रम तय भएको थियो। तर प्रमुख प्रतिपक्षको माग पूरा हुन नसक्दा बैठक नै बस्न सकेको छैन।

सभामुख देवराज घिमिरेले दलका नेता र प्रमुख सचेतकहरूसँग बैठक सुरु हुनेगरी वातावरण बनाउन प्रयास गरिरहेका छन्। संसदको बैठक व्यवस्थापन गर्न बस्नुपर्ने कार्यव्यवस्था समितिको बैठक समेत बस्न नसकेपछि अधिवेशनको थालनी नै अवरुद्ध हुन पुगेको छ।

आज बिहान बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रीलाई बोल्न दिएपछि अन्य नेताहरूलाई बोल्न नदिइ संसद अवरोध गर्ने निर्णय गरेको थियो।  

अधिवेशनको पहिलो बैठकमा दलका नेताहरूलाई मात्र बोल्न दिने र अन्य कुनै व्यवस्थापनसम्बन्धी कार्यसूची नराख्नेबारे दलका प्रमुख सचेतकसँगको छलफलमा सहमति बने पनि कांग्रेस अडानबाट पछि हटेको  छैन। 

गृहमन्त्रीको जवाफ सुन्ने र लगत्तै संसदीय छानबिन समिति माग गरेर अवरोध गर्ने नीति कांग्रेसको छ। संसदीय दलको बैठकबाट बाहिरिँदै गर्दा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरण गृहमन्त्री रवि लामिछाने संलग्न रहेको पुष्टि हुने आधारहरू प्राप्त गरेको दाबी गरेका थिए। 

आजको प्रतिनिधि सभा बैठकमा प्रमाण पेस गर्ने कांग्रेसको योजना छ। 

२८ बैशाख, २०८१, १५:४९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।