'म मुख्यमन्त्रीको पिए हुँ' भन्दै टिकट ठगी गरेको आरोपमा एकजना पक्राउ
!['म मुख्यमन्त्रीको पिए हुँ' भन्दै टिकट ठगी गरेको आरोपमा एकजना पक्राउ](https://ukeraa.prixacdn.net/media/albums/thagi_aarop_ma_pakrau_sNNkLE5yqp.jpg )
काठमाडौं : पोखरामा जहाजको टिकट ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३१ बस्ने २८ वर्षीय सुवास कार्की रहेका छन्।
पक्राउ परेका उनले ‘म मुख्यमन्त्रीको पिए हुँ। तुरुन्तै पोखरा-काठमाडौं र काठमाडौं-नेपालगञ्जको टिकट बुक गरिदिनुहोस्। पैसा म क्युआर कोडमार्फत पठाइदिन्छु’ भनेर ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले बताए।
वैशाख २० गते लेकसाइडको एके टुर्स एण्ड ट्राभल्स प्रालिमा फोन गरेर टिकट काट्न लगाइ पैसा नदिएपछि प्रहरीमा उजुरी परेको थियो। प्रहरीका अनुसार उनी विरुद्ध अन्य दुइवटा ठगीको मुद्दा परेको छ।
प्रहरीको अनुसन्धानबाट उनले टिकट ठगी गरेर अरूलाई नै विक्री गर्ने गरेको खुलेको छ।
आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप भइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी शर्माले बताए।
वैशाख २७, २०८१ बिहीबार २१:५४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।