प्रधानमन्त्री प्रचण्ड युगान्डा जाँदा सकियो १ करोड २६ लाख !

प्रधानमन्त्री प्रचण्ड युगान्डा जाँदा सकियो १ करोड २६ लाख !

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगान्डाको भ्रमणमा जाँदा १ करोड २६ लाख रूपैयाँ खर्च भएको छ। 

प्रधानमन्त्री प्रचण्डको युगान्डा भ्रमणका क्रममा १ करोड २६ लाख ६० हजार रुपैयाँ खर्च भएको विवरण अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो।

प्रधानमन्त्री असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन गत माघ ४ गते युगान्डा गएका थिए। उनी माघ ७ गते स्वदेश फर्किएका थिए। 

प्रधानमन्त्री नेतृत्वको उक्त प्रतिनिधिमण्डलमा प्रचण्डकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहेका थिए। 

सोही भ्रमणताका युएन महासभाको क्रममा प्रधानमन्त्री प्रचण्डले दिएको निम्तोपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आएका थिए। त्यसपछि गुटेरेसले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र अल्पविकसित मुलुकहरूको संगठन र यसको स्तरोन्नतिका लागि अन्य मुलुकको भूमिकाका विषयमा नेपालको संघीय संसदलाई सम्बोधनसमेत गरेका थिए।

अर्थले सार्वजनिक गरेको विवरणमा उक्त रकम प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा युगान्डाको राजधानी कम्पालामा आयोजित नामको १९ औं शिखर सम्मेलनमा सहभागी भएको नेपाली प्रतिनिधिमण्डलको भ्रमण खर्च बापत भुक्तानी गर्ने प्रयोजनार्थ परराष्ट्र मन्त्रालयको नाममा निकासा गरिएको बताइएको छ।

२७ बैशाख, २०८१, १५:३३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।