सुरू भएको तीन वर्षमै बन्द हुने अवस्थामा ३७ करोडमा बनेको नेपालकै पहिलो नमुना ढुवानी ग्राम

सुरू भएको तीन वर्षमै बन्द हुने अवस्थामा ३७ करोडमा बनेको नेपालकै पहिलो नमुना ढुवानी ग्राम

बुटवल : करिब तीन वर्षअघि सञ्चालनमा आएको नेपालकै पहिलो नमुना ढुवानी ग्राम स्थानीयको विरोधका कारण बन्द हुने अवस्थामा पुगेको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत नयाँ गाउँदेखि करिब ३ दशमलव ६ किलोमिटर दक्षिणतर्फ रहेको ढुवानी ग्राममा पुग्ने सडक किनारका बासिन्दाहरूले ढुवानीका गाडी गुड्न रोक लगाएका हुन्।

धुलो, धुवाँ र ध्वनी प्रदूषणले गर्दा आफूहरूको स्वास्थ्यमा नकारात्मक असर पारिरहेकाले बाध्य भएर सवारी रोक्न लागिएको संगमपथ सुधार समितिका संयोजक डम्मरदेव अर्यालले बताए।

ढुवानी ग्राम जाने बाटो धेरै भए पनि सबैले एउटै बाटो प्रयोग गर्दा सवारीको चाप एउटै बाटोमा परेको उनले बताए।

‘ढुवानी ग्राम जाने बाटो धेरै छन्,’ उनले भने, ‘सबैले यहि बाटो प्रयोग गर्दा धुँवा, धुलो र ध्वनी प्रदूषणले हामीलाई असर पारेको छ। राति सुत्न सकिँदैन। यहि बाटो मात्र प्रयोग गर्नु भएन। सबै गल्लीबाट सवारी साधन जाने हो भने हामी सवारी रोक्ने पक्षमा छैनौं।’

बुटवलको व्यस्त शहरी क्षेत्रमा हेवी लोडका सवारीसाधनलाई छिर्न नपर्ने तथा ट्राफिक अवस्था व्यवस्थित गर्न तीन वर्षअघि अलग्गै ढुवानी ग्राम बनाइको थियो।

रुपन्देही परिवहन प्रालिका अध्यक्ष कमल घिमिरेले बुटवलका चोक तथा गल्लीहरूमा सञ्चालित ढुवानी व्यवसायी ढुवानी ग्राममा आएको भन्दै यस्तै विरोध र असहयोग भए आफ्नै पुरानो ठाउँमा जाने चेतावनी दिए।

तीन दिनसम्म पनि कुनै निकास ननिस्किए मंगलबारदेखि सबै ढुवानी ग्रामभित्र हुने ढुवानीका काम ठप्प पार्ने उनको भनाइ छ।

ढुवानी व्यवसायी समिति रुपन्देहीका अध्यक्ष जीत बहादुर भाटले पनि ढुवानी व्यवसायीको कुनै गल्तीविना बाटो प्रयोग गर्न नदिने कुरा अनुचित भएको बताए।

उनले नगरपालिका र स्थानीयबीचमा ढुवानी व्यवसायी परेको बताए। ढुवानी ग्राम बन्द हुँदा सबैमा असर पर्ने हुँदा यस मुद्दालाई चाँडो निकास निकाल्नुपर्ने उनको भनाइ छ।

मुलुकको आर्थिक केन्द्रका रुपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमुना ढुवानी ग्राम निर्माण गरिएको थियो।

सार्वजनिक-निजी साझेदारीको करिब ३७ करोड लागतमा ढुवानी ग्राम निर्माण भएको हो।

सार्वजनिक-निजी क्षेत्र साझेदारीको योजनाअनुसार रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा बुटवल उपमहानगरले ढुवानीग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारेको थियो।

व्यस्त सहरी क्षेत्रमा हेवीलोडका सवारीसाधनलाई छिर्न नपर्ने र ट्राफिक अवस्था व्यवस्थित गर्न अलग्गै ढुवानी ग्राम बनाएको हो।

२४ बैशाख, २०८१, १४:०९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।