क्षत्रपाटी चिकित्सालयको सिटी-मेमोग्रामको टेन्डरमा सेटिङ पुष्टि, महानगरले दियो रि-टेण्डरको निर्देशन

क्षत्रपाटी चिकित्सालयको सिटी-मेमोग्रामको टेन्डरमा सेटिङ पुष्टि, महानगरले दियो रि-टेण्डरको निर्देशन

काठमाडौँ : क्षत्रपाटी निःशुल्क चिकित्सालयले खरिद गर्न लागेको १२८ स्लाइसको सिटी स्क्यान मेसिन र मेमोग्रामको खरिद प्रक्रियाको छानबिन समितिले त्रुटि देखाएपछि काठमाडौँ महानगरपालिकाले पुन टेन्डर गर्न निर्देशन दिएको छ।

काठमाडौँ महानगरपालिकाको आठ करोड आर्थिक सहयोगमा चिकित्सालयले सिटी स्क्यान र डिजिटल मेमोग्राम मेसिन किन्ने प्रक्रिया अगाडि बढाएको थियो। खरिद प्रक्रियामा निश्चित कम्पनीको उपकरणलाई मिल्नेगरि स्पेशिफिकेशन बनाएर मिलेमतो गरिएकोबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेपछि महानगरपालिकाले छानबिनका लागि समिति गठन गरेको थियो।

‘काठमाडौँ महानगरको सहयोगमा क्षत्रपाटी चिकित्सालयले किन्न लागेको सिटी–मेमोग्राममा गडबड, सेटिङमा जोडिए बालेनकै सहयोगी’ शीर्षकमा समाचार सम्प्रेषण गरेपछि यस विषयमा महानगरपालिकाले छानबिन थालेको थियो।

काठमाडौँ महानगरपालिकाले क्षत्रपाटी निःशुल्क चिकित्सालयमा खरिद प्रक्रियामा रहेको सिटी र मेमोग्रामको विषयमा अध्ययनका लागि महानगरपालिकाको खरिद प्रमुखको संयोजकत्वमा छानबिन समिति गठन गरेर छानबिन प्रक्रिया अगाडी बढाएको थियो।

छानबिनमा टेन्डर प्रक्रियामा इच्छुक सबै कम्पनी सहभागी हुन सक्ने अवस्था नरहेको भन्दै समितिले प्रक्रिया रद्द गरेर पून प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिएपछि महानगरले सोही निर्देशन दिएको हो।

काठमाडौँ महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले क्षत्रपाटी निःशुल्क चिकित्सालयमा खरिद प्रक्रियामा रहेको सिटी र मेमोग्रामको टेन्डर रद्द गरी पुन टेन्डर गर्न निर्देशन दिएको जानकारी दिए।

अधिकारीका अनुसार सिटी स्क्यान र मेमोग्राफीको (प्राविधिक) स्पेशिफिकेश र लगत अनुमान समेत खुलाइएको जस्ता विषयमा छानबिन समितिले गल्ती फेला पारेको छ।

‘सूचनामा लागत अनुमान खुलाउन पाइँदैन, त्यहाँ खुलाएको पाइयो,’सहायक प्रवक्ता अधिकारीले उकेरासँगको कुराकानीमा भने,‘स्पेशिफिकेशन पनि केही मिल्दो सीमित प्रतियोगिता बनाउने गरेर पाइयो।’

अधिकारीका अनुसार आगामी दिनमा फेरी गल्ती नदोहोरिने गरी सिटी र मेमोग्राफीको टेन्डर रद्द गरेर पुनः नयाँ टेन्डर आह्वान गर्न क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई निर्देशन दिएको बताए।

सम्बन्धित समाचार

‘त्यसो गरिसकेपछि क्वालिटी हुँदैन भन्ने हिसाबले...(छानबिन) समितिले दिएको थियो प्रतिवेदन,’उनले भने,‘आगामी दिनमा त्रुटि नदोहोर्याउने गरेर खरिद प्रक्रिया अगाडी बढाउनु भनेर लेखिएको छ।’

पुन टेन्डर गर्नुपर्यो की त्यसैलाई निरन्तरता दिने हो? जिज्ञासामा सहायक प्रवक्ता अधिकारीले थप प्रस्ट पार्दै भने,‘पाइएन,पाइएन। नयाँ बनाउनुपर्यो। स्पेशिफिकेशन नै फेर्नुपर्यो। अनि सबै मान्छेलाई समान अवसर दिनुपर्यो। सीमित प्रतिस्पर्धा गर्न पाइएन।’

सहायक प्रवक्ता अधिकारीले थपे,‘यी त्रुटिहरू नदोहोर्याउने गरेर भोली प्रक्रिया अगाडी बढाउनु, किन्नु। सार्वजनिक खरिद ऐन, नियम अनुसार प्रक्रिया पुर्याएर भनेर हामीले लेखिदिएका छौँ।’

सिटी र मेमोग्राफी दुवैको पुन टेन्डर गर्न महानगरले निर्देशन दिएको सहायक प्रवक्ता अधिकारीले प्रस्ट पारे। ‘प्याकेजमा जानु भएको छ, दुई वटैको हो,’सहायक प्रवक्ता अधिकारीले भने।

उकेराको समाचारपछि उजुरीछानबिनपछि सेटिङ प्रमाणित

चिकित्सालयले करिब नौ करोड ९४ लाख ४० हजारमा खरिद गर्ने गरी सिटी स्क्यान र मेमोग्रामको टेन्डर आह्वान गरेको थियो। सिटी स्क्यान मेसिन र मेमोग्रामको विषयमा निश्चित कम्पनीलाई मात्रै मिल्नेगरी स्पेशिफिकेशन नै लक्ड गरेर चाहेकै सप्लायर्सलाई टेन्डर दिनेगरी खरिद प्रक्रिया अगाडी बढेको विषयमा उकेराले तथ्यसहित समाचार सम्प्रेषण गरेको थियो।

क्षत्रपाटी निःशुल्क चिकित्सालयले एउटा सिटी स्क्यान मेसिन र एउटा डिजिटल मेमोग्राम मेसिन खरिदमा अनियमितता देखिएको भन्दै काठमाडौँ महानगरपालिकामा उजुरी समेत परेको थियो।

चिकित्सालयले १२८ स्लाइसको सिटी स्क्यान मेसिन र मेमोग्राम करिब नौ करोड ९४ लाख ४० हजारमा खरिद गर्ने गरी टेन्डर गरे पनि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा फागुन १६ गते उजुरी परेको देखिएको थियो।

उजुरी परेपछि फागुन १७ गते महानगरले प्रशासनलाई तोक लगाउँदै क्षत्रपाटी अस्पतालमा सिटी र मेमोग्राम मेसिनको खरिदका विषयमा अध्ययनका लागि महानगरको खरिद विभागका प्रमुखको संयोजकत्वमा अध्ययन समिति गठन गर्न समेत निर्देशन दिएको थियो।

समिति गठनपछि खरिद प्रक्रियाबारे उकेराले जिज्ञासा राख्दा चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले क्षत्रपाटी निःशुल्क चिकित्सालयमा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको सिटी स्क्यान मेसिन र मेमोग्रामको खरिद प्रक्रिया रोकिएको पुष्टि गरेका थिए।

सिटी स्क्यान र मेमोग्रामको खरिद प्रक्रिया रोकिएको हो? भन्ने जिज्ञासामा अध्यक्ष डा. श्रेष्ठले भनेका थिए,‘रोकिएको हो हजुर।’

महानगरले खरिद प्रक्रिया स्थगित गर्नु भन्ने निर्देशन दिएपछि स्थगित गरिएको अध्यक्ष श्रेष्ठले बताएका थिए। ‘तपाईँले(समाचार) निकालेको भोलिपल्ट मात्रै अहिलेलाई स्थगित गर्नु भनेर (महानगरले) गर्यो। हामीले स्थगित गरिदियौ,’अध्यक्ष श्रेष्ठले भनेका थिए,‘छानबिन गर्नुपर्ने भनेर (महानगरले)लेखेको छ।...ल हुन्छ, छानिबिन गर्नु भनेर छोडिदिएका छौँ।’

उनले महानगरपालिकाले टेन्डर रोक्न निर्देशन दिनु अगाडि उकेरामा प्रकाशित समाचारबारे खण्डन पठाउँदै कुनै मिलेमतो नगरेको दाबी समेत गरेका थिए। प्रेस काउन्सिलमार्फत उकेराले प्राप्त गरेको खण्डन पत्रमा टेन्डर प्रक्रियामा कुनै मिलेमतो नभएको दाबी गर्दै उकेराले भ्रम फैलाएको दाबी गरिएको थियो। तर टेन्डर प्रक्रिया रद्द भएर पुन टेन्डरका लागि महानगरपालिकाले निर्देशन दिएको पुष्टि भएसँगै उकेराले लेखेको समाचार तथ्यमा आधारित रहेको पुन पुष्टि भएको छ।

यसरी भएको थियो सेटिङ

क्षत्रपाटी निःशुल्क क्लिनिकले २०७९ फागुन ११ गते सूचना प्रकाशित गर्दै फागुन १८ गते (मार्च १, २०२४) मा सिटी स्क्यान मेसिन र मेमोग्राम मेसिनको आर्थिक प्रस्ताव खुल्ने सूचना जारी गरेको थियो। तर, महानगरले टेन्डर रोक्ने निर्देशन दिएपछि आर्थिक प्रस्ताव नखुली रोकिएको हो।

चिकित्सालयका अध्यक्ष डा. श्रेष्ठले आर्थिक प्रस्ताव नखोलिएको पुष्टि गरेका थिए। चिकित्सालयले प्राविधिक प्रस्तावको चरणमा छनोट गरेर आर्थिक प्रस्तावको सूचना जारी गरेको थियो। आर्थिक प्रस्तावको चरणमा पनि छनोट गरिसकेपछि बोलपत्र स्वीकृत हुन्छ र सम्झौता हुन्छ। अनि निश्चित प्रशासनिक प्रक्रिया पुर्याइ आपूर्तिकर्ताले नेपालमा मेसिन ल्याइदिएर जडान गर्छ। त्यसैले बजेटको सिलिङभित्र प्रस्ताव भएको भए क्यानन–तोसिवाकै नेपाली सप्लायर्सलाई टेन्डर पर्ने करिब निश्चित नै थियो।

खरिद विवादकैबीच प्राविधिक स्पेशिफिकेशन नै क्यानन–तोसिवासँग मात्रै मिल्नेगरी लक्ड गरेर खरिद प्रक्रिया अगाडि बढाएको चिकित्सालयले प्राविधिक र आर्थिक दुवै चरणमा क्यानन–तोसिवाकै मेसिन खरिद गर्ने गरी प्रक्रिया बढाएको छानबिन समितिले 'टेन्डरमा सीमित प्रतियोगिता बनाउने गरेर प्राविधिक स्पेशिफिकेशन बनाएको' निष्कर्ष निकालेकाले उकेराले लेखेको पुष्टि भएको छ।

चिकित्सालयले १२८ स्लाइसको सिटी स्क्यान मेसिन र मेमोग्राम करिब नौ करोड ९४ लाख ४० हजारमा खरिद गर्ने गरी टेन्डर आह्वान गरेको थियो। यसमा महानगरपालिकाले आठ करोड रकम दिने निर्णय गरेको थियो। बाँकी अपुग रकम चिकित्सालयले नै व्यवस्थापन गर्ने सहमति थियो।

टेन्डर निष्पक्ष रहेको चिकित्सालयका अधिकारीको हठ

टेन्डर प्रक्रियाबारे उकेरामा समाचार प्रकाशित भएपछि महानगरपालिकाले गठन गरेको छानबिन समितिले सबैले प्रतिस्पर्धा गर्न सक्ने नदेखिएको भनेर सो प्रक्रिया रद्द गरेर पुन टेन्डर प्रक्रिया सुरु गर्न निर्देशन दिइसक्यो। तर चिकित्सालयका पदाधिकारी भने अहिले पनि उकेरामा प्रकाशित समाचार गलत रहेको हठमा कायम छन्।

चिकित्सालयका अध्यक्ष डा मनोजमान श्रेष्ठले प्रेस काउन्सिलहुँदै उकेरामा पठाएको खण्डन पत्रमा टेन्डर प्रक्रिया निष्पक्ष, स्वतन्त्र र सार्वजनिक खरिद सम्बन्धी ऐन अनुसार अघि बढाएकोमा नरोकिएपछि फाइनान्सियल बिड खुल्नु १५ घण्टाअघि समाचार प्रकाशित हुनु अस्पतालले खरिद गर्न लागेको सिटी स्क्यानविथ कार्डियाक, डिजिटल मेमोग्राम मेशिनको खरिद प्रक्रिया नै रोक्ने उद्देश्य निहित दाबी गरिएको छ।

छत्रपाटी निःशुल्क चिकित्सालय विशुद्ध सामुदायिक अस्पताल रहेको र समाजसेवाको भावनाले स्थानीयसेवीहरुले स्थापना गरेको अस्पताल रहेको भन्दै यो सरकारी या नाफामूलक निजी अस्पताल जस्तो नभएको तर्क गरिएको छ।

पत्रमा सामान खरिदको प्रस्ताव खोल्नु अघि नै यति रकम अनियमितता भयो भनेर समाचार प्रकाशित गर्नु आफैमा दुराशयपूर्ण समाचार रहेको र स्पेशिफिकेशन लक्ड गरिएको र खुल्दै नखुलेको फाइनान्सिल बिडमाथि अनियमितता भएको भन्ने तथ्य पुष्टि गर्न चुनौती दिइएको छ। सो चुनौती महानगरबाट गठित छानबिन समितिको प्रतिवेदन र महानगरले दिएको निर्देशनबाटै पुष्टि भएको छ।

२३ बैशाख, २०८१, २३:१६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।