यही अवस्थामा विकासले गति लिँदैन, कसै न कसैले आँट गर्नुपर्छ : अर्थमन्त्री पुन

यही अवस्थामा विकासले गति लिँदैन, कसै न कसैले आँट गर्नुपर्छ : अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सुधार्न नेतृत्वले जोखिम मोल्नुपर्ने बेला आएको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँगको परामर्शका क्रममा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘कसैले न कसैले आँट नगरी यही अवस्थामा देशको विकासले गति लिन सक्दैन। सबै लोक रिझ्याइँको पछि लागेर हुँदैन। मुलुक बनाउने हो भने यो अवस्था हटाउनुपर्छ।’

राजनीतिक र प्रशासनिक नेतृवले कामका लागि आँट गर्नुपर्ने र त्यसमा समाजका अरु पक्षले साथ दिनुपर्ने उनको भनाइ छ।

‘सबैले एकपटक आँट गर्नुपर्ने भएको छ। राजनीतिक कोर्षभित्रै रहेर काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्ने भएको छ। सबैले सबैलाई शंका गर्ने र कसैले केही पनि गर्नुनपर्ने जस्तो भइरहेको छ’, उनले थपे।

पूर्वप्रशासक र विज्ञको सुझाव लिएपछि अर्थमन्त्री पुनले आर्थिक शिथिलताबाट मुलुकलाई कसरी माथि उठाउने भन्नेबारे सरकार, राजनीतिक दल, निजी क्षेत्र, प्रशासन संयन्त्र र अर्थ क्षेत्रका विज्ञहरू क्रियाशिल र चिन्तित भएको रहेको बताए।

‘आर्थिक शिथिलताबाट मुलुकलाई कसरी माथि उठाउने भन्ने विषयमा सिंगो देश नै एक ढिक्का छ र चिन्तित पनि छ। यो धेरै सकारात्मक कुरा हो’,  मन्त्री पुनले भने।

उनले गत वर्षको तुलनामा अर्थतन्त्रका धेरै सूचकमा सुधार देखिए पनि केही क्षेत्रमा अझै सुधारको खाँचो रहेको बताए।

उनले सरकारको वित्तीय नीति र राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा तालमेल मिलाएर काम गर्नुपर्ने उल्लेख गरे। अर्थतन्त्रमा संकट हुँदा गरिएका कडाइहरूमा विस्तारै खुकुलो जानुपर्ने भन्दै मन्त्री पुनले त्यसबारे राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी पनि दिए।

२० बैशाख, २०८१, ११:२३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।