कर्णाली सरकारले आजै पूर्णता पाउने मुख्यमन्त्री कँडेलको दाबी

कर्णाली सरकारले आजै पूर्णता पाउने मुख्यमन्त्री कँडेलको दाबी

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने दाबी गरेका छन्।

मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्दै आएका उनले सत्ता साझेदार दलहरूसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन लागेको बताएका हुन्।

उनले यही वैशाख १२ गते विना विभागीय मन्त्रीका रूपमा माओवादी केन्द्रका कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका थिए।

एमालेकाे भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरिने मुख्यमन्त्री कँडेलले बताए।

माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त हुने जनाइएको छ।

नियुक्त हुने मन्त्रीहरूको नाम मुख्यमन्त्री कँडेललाई दिइसकिएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले जानकारी दिए। दुवै दलबाट को-को मन्त्री हुने भन्नेबारे भने खुलाइएको छैन।

मन्त्रीहरू नियुक्त गरेर पद तथा गोपनीयताको शपथ आजै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ। मुख्यमन्त्री कँडेलले गत चैत २७ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए।

१८ बैशाख, २०८१, १३:२९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।