डिस्कोर्स डबलीको दुई दिने 'विचार उत्सव' वैशाख २२ देखि

डिस्कोर्स डबलीको दुई दिने 'विचार उत्सव' वैशाख २२ देखि

काठमाडौं : वैचारिक बहस गर्दै आएको डिस्कोर्स डबलीले १० वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा दुई दिने विचार उत्सवको आयोजना हुने भएको छ। 

नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा हुने विचार उत्सवमा वैशाख २२ र २३ गते बहसका विभिन्न सत्र सञ्चालन हुने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले जानकारी दिए। 

दुई दिन सञ्चालन हुने विचार उत्सवमा २० वटा सत्रमा नेपाल र भारतका करिब ८० जना वक्ता सहभागी हुनेछन्। समसामयिक राजनीति, विश्वविद्यालयका समस्या, युवा जनशक्तिको विदेश पलायन, सिनेमा, पर्यावरण,  साहित्य, संगीत, कला, शहरी सौन्दर्य लगायतका दुई दर्जन विषयमा बहस हुनेछ। कार्यक्रममा राजनीतिज्ञ, लेखक, विश्लेषक, प्राध्यापक, कलाकार, कवि, चलचित्र निर्देशक लगायतले आ-आफ्नो विषयमा बहस गर्नेछन्। 

कार्यक्रममा लेखक तथा विश्लेषक सिके लालले 'बौद्धिकताको कसीमा नेपाली समाज' शीर्षकमा मूल प्रवचन दिने छन्। यस्तै, भारतको बद्लिँदो राजनीतिबारे दिल्ली विश्वविद्यालयका सह-प्राध्यापक तथा विश्लेषक डा.सरोज गिरीले बहस गर्नेछन्। 

उत्सवमा वैचारिक बहसबाहेक नाटक प्रदर्शनी हुने छ। यस्तै, चित्रकला प्रदर्शनी, कार्टुन प्रदर्शनी र सांगितिक उत्सव पनि आयोजना गरिने ढुंगेलले बताए। 

डिस्कोर्स डबली २०७१ सालमा रत्न राज्य क्याम्पस, ल क्याम्पस लगायतका कलेजमा अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा सुरूवात भएको थियो। 

१२ बैशाख, २०८१, २१:२५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।