उप-निर्वाचन प्रचारको अन्तिम दिन कांग्रेस मतदाता भड्काउँदै स्वर्णिम वाग्ले

उप-निर्वाचन प्रचारको अन्तिम दिन कांग्रेस मतदाता भड्काउँदै स्वर्णिम वाग्ले

काठमाडौँ : उप-निर्वाचनको प्रचार गर्ने अन्तिम दिन नेपाली कांग्रेसका पूर्व नेता तथा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले आफ्नो पार्टीको उम्मेदवारको प्रचारभन्दा पनि कांग्रेसमाथि हमलामा केन्द्रित भए।

प्रचारको अन्तिम दिन इलाम-२ को मंगलबारेमा आयोजित चुनावी सभामा उनले इलाममा टिकटको आकाङ्क्षी भेषराज आचार्यलाई टिकट नदिएको भन्दै कांग्रेसको आलोचना गरे। डम्बर खड्कासँगै आचार्य पनि उप निर्वाचनमा सांसदको उम्मेदवार हुन आकाङ्क्षी थिए। अन्तिम समयमा खड्काले टिकट पाएपछि भने आचार्य खड्का जिताउने अभियानमा सहभागी छन्।

उता बुधवार इलाम–२ मा काङ्ग्रेसबाट उम्मेदवारका आकाङ्क्षी रहेका आचार्य टिकट पाउन योग्य रहेको भन्दै वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका कारण उनले टिकट नपाएको बताए।

वाग्ले २०७९ कै निर्वाचनमा काङ्ग्रेसबाट संसद्को निर्वाचनमा होमिन तयार थिए। उनले चितवन १ बाट टिकट लिने प्रयास गरे पनि सफल भएनन्। तनहुँसहितका तीन स्थानमा वैशाखमा भएको उपनिर्वाचनमा काङ्ग्रेसबाट टिकट लिने प्रयास सफल नभएपछि उनी रास्वपामा प्रवेश गरेर तनहुँबाट उम्मेदवार बनेका थिए।

बुधवारको सभामा उनले कांग्रेसी मतदाता आकर्षित गर्न कांग्रेस संस्थापक नेता वीपी कोइराला आफ्नो रोल मोडल भएको र कांग्रेस स्थापनाकालीन नेताहरूको उद्देश्य अनुसार सक्रिय नभएको दाबी गरेका थिए।

सभामा उनले ‘कांग्रेसका साथीहरू समेत हुनुहुन्छ’ भन्दै उनीहरूसँग आफ्नो थोर बहुत परिचय रहेको भन्दै वीपी, सुवर्णशमसेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नेपाली कांग्रेस इलाममा नरहेको दाबी गरेका थिए।

१२ बैशाख, २०८१, १६:५२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।