क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा उच्च अदालतमा पेशी आज

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा उच्च अदालतमा पेशी आज

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ।

अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएको लामिछाने पक्षको बुझाइ छ।

त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो।

न्यायाधीशले मुद्दा आफूबाट पन्छाउने चेष्टा नगरे यसै साता फैसला आउने लामिछाने पक्षको भनाइ छ।

जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते नै लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो।

अदालतले परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९/०८० को उमेर, प्रतिवादी लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दै सजाय तोकेको थियो।

१० बैशाख, २०८१, ०८:२५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।