बाँझो जमिनले स्थानीय समेत नबस्ने पाल्पाको नुवाकोटगढी बन्यो उत्कृष्ट पर्यटकीय गन्तव्य, थपिँदै छन् स्तरीय होटेल

बाँझो जमिनले स्थानीय समेत नबस्ने पाल्पाको नुवाकोटगढी बन्यो उत्कृष्ट पर्यटकीय गन्तव्य, थपिँदै छन् स्तरीय होटेल

बुटवल : बुटवलबाट नजिकको दुरीमा रहे पनि पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर २ मा रहेको नुवाकोट केही वर्ष अघिसम्म चकमन्न थियो। खाली बुट्यान र बाँझोबारी मात्र थियो।

नम्बरी जग्गा भए पनि धेरैले त्यहाँ उब्जनी खेतीपाती गर्दैनथे। स्थानीयका फाट्टफुट्ट केही घरहरू थिए। बुटवलको बेलबासबाट उत्तरतर्फ लागेपछि पुगिने नुवाकोटमा सडकको राम्रो व्यवस्था थिएन। धुलाम्मे र साँघुरो सडक भएकाले १२ महिना सवारी गुड्न सक्दैनथे। साना सवारी मुस्किलले माथि पुग्थे।

नुवाकोटमा २०५५ सम्म खेतीपाती हुने गरे पनि बिस्तारै जमिन बाँझिन थाल्यो। खेतीपाती गर्न छाडेर धेरै बसाई सरे।  त्यही बाँझो र बुट्यानले ढाकिएको नुवाकोट पछिल्लो वर्षमा एक नयाँ गन्तव्य र पर्यटकीय हबको स्थल बनेको छ। बुटवलको चर्को गर्मीबाट केही समयमै पुगेर आनन्द लिने विश्रामस्थल नुवाकोट बनेको छ।

बुटवलको मणीमुकुन्द सेन उद्यान र बुटवल मावि गेटबाट पुरानो सिँढीको पैदलमार्ग करिब साढे दुई घण्टामा नुवाकोट पुग्न सकिन्छ। त्यसबाहेक बेलबास शान्तिचोकबाट ८ किलोमिटर पक्की उकालो बाटोबाट पनि नुवाकोट पुग्न सकिन्छ। पाल्पाको दोभानबाट करिब ५ किलोमिटर ग्राभेल सडकबाट नुवाकोट पुग्न सकिन्छ।

अङ्ग्रेजलाई हराएका नेपाली सेनाको आश्रय स्थलदेखि प्राचीन पुर्खाहरूले नुन बोक्दा रेकर्ड राख्ने भन्सार डाँडाको इतिहास बोकेको नुवाकोटमा नुवाकोटगढी छ। तर नुवाकोटले बढी चर्चित यो स्थान इतिहास अध्ययन गर्ने स्थलमात्र होइन तराई हेर्ने डाँडाको रूपमा पनि परिचित छ।

नेपाल–अङ्ग्रेज युद्धमा नेपाली सेनाले अङ्ग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको सहायक गढी र गौतम बुद्धका पिता शुद्धोदनका गुरु ऋषिकालदेवलको आश्रम स्थलकालागि नुवाकोट प्रसिद्ध छ।

नुवाकोटमा भगवती मन्दिर, भैरवकामना मन्दिर, खड्ग मन्दिर, राजामणी मुकुन्द सेनको गृष्मकालीन दरबारको भग्नावशेष, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोदनका गुरु ऋषिकालदेवल(आशुतोष)को आश्रम स्थल यहीँ छ।

यहाँ वसन्तपुर, शिद्धबाबा क्षेत्रको शिर, नागबेली डाँडाकाँडा, तिनाउ र सम्पूर्ण बुटवल शहरको मनमोहक दृश्य हेर्न सकिनेगरी भ्यूपोइन्टको निर्माण गरिएको छ।

गन्तव्य बनेसँगै बदलिँदो चहलपहल

आन्तरिक पर्यटकहरूको सङ्ख्या बढेसँगै अहिले नुवाकोटमा स्तरीय होटलहरु धमाधम सञ्चालनमा आउन थालेका छन्।  बुटवलको देउरालीदेखि नुवाकोटसम्म चल्ने सिद्धार्थ केबलकार केही महिनामै सुरु हुँदैछ।

अहिले नुवाकोटमा २० भन्दा बढी साना-ठुला होटेल सञ्चालनमा छन्। त्यसमा १ अर्बभन्दा बढी लगानी भइसकेको देखिन्छ।

विकास समितिका अध्यक्ष माधव नेपाल नुवाकोटले अझै फड्को मार्ने गरी योजनाहरू कार्यान्वयनको चरणमा रहेको बताउँछन्। नुवाकोटमै सिद्धार्थ केबलकारको टिमले पाँचतारे होटेल निर्माणको तयारी गरेको छ।

नुवाकोटमा अहिले खानेपानीको समस्या छ। यसको समधानकालागि लिफ्टिङ खानेपानी निर्माण सम्पन्न भइसकेको छ। तर बढ्दो जनघनत्वलाई यसले थेग्न मुस्किल भएकाले ओभरहेड टङ्कीको योजना अगाडि बढेको नेपालले बताए।

‘नुवाकोटमा धेरै सम्भावना छ। पछिल्लो ३-४ बर्षयता नुवाकोट जसरी विकसित भइरहेको छ यसले आन्तरिक र बाह्य पर्यटनका लागि सम्भावना देखाएको छ’ उनले भने।

उनले नुवाकोट ऐतिहासिक र पर्यटकियस्थल रहेको भन्दै यसको प्रचार-प्रसारमा सरोकारवालाको ध्यान जान जरुरी रहेको बताए।

‘बुटवलको जीतगढीसंग जोडिएको नुवाकोट गढिलाई मात्र प्रचार गर्न सके यस क्षेत्रमा ठुलो सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटन भित्राउन सकिन्छ। तर यसलाई प्रचार प्रसार गर्नुपर्यो’ उनले भने।

९ बैशाख, २०८१, १६:५१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।