आईपीएल : चेन्नईमाथि लखनउको आठ विकेटको शानदार जित

आईपीएल : चेन्नईमाथि लखनउको आठ विकेटको शानदार जित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि आठ विकेटको शानदार जित निकालेको छ।

चेन्नईले दिएको १७७ रनको लक्ष्य पछ्याएको लखनउले घरेलु मैदानमा १९ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो।

उसका लागि कप्तान केएल राहुलले ५३ बलमा ९ चौका र तीन छक्काको मद्दतमा ८२ रनको अर्धशतकीय पारी खेल्दा क्विन्टन डिककले ४३ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ५४ रन बनाए।

त्यसबाहेक निकोलस पुरन २३ र मार्कस स्टोयनिस ८ रनमा अविजित रहे।

चेन्नईका मुस्ताफिजुर रहमान र मथिसा पथिरानाले समान एक-एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको चेन्नईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७६ रन जोड्यो।

उसका लागि रविन्द्र जडेजाले अविजित रहँदै ५७ रनको अर्धशतकीय पारी खेले। ४० बलको सामना गरेका उनले पाँच चौका र एक छक्का हिर्काए।

त्यसबाहेक अजिन्क्या रहाने ३६, मोइन अली ३० रन बनाएर आउट हुँदा महेन्द्रसिंह धोनीले अविजित २८ रन बनाए। रचिन रविन्द्र पहिलो बलमै आउट हुँदा शिवम् दुवे ३ र समीर रिज्बी १ रन बनाएर आउट भए।

लखनउका क्रुणाल पाण्ड्याले दुई विकेट लिँदा मोहसिन खान, यश ठाकुर, रवि विश्नोइ र मार्कस स्टोयनिसले समान एक-एक विकेट हात पारे।

जितसँगै चेन्नई सात खेलमा आठ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ भने पराजित चेन्नई समान खेलबाट समान अंकसहित तेस्रो स्थानमा छ।

८ बैशाख, २०८१, ०७:२२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।